पदकमा राजनीति (सम्पाकीय)

पछिल्लो समय सरकारले विभिन्न विशेष अवसरमा दिइने पदक विवादमा आउने गरेको छ । र, त्यो विवाद गणतन्त्रमा अलि बढी विवाद हुने गरेको देखिन्छ । बरु पञ्चायतकालमा यसमा विवाद हुँदैन्थ्यो, यसको मान मार्याद र शान बैग्लै हुन्थ्यो । तर अहिले आएर यसको वितरण प्रणाली यस्तो भएको छ, यसको महत्व नै समाप्त भएको जस्तो लाग्छ । जुन दल वा जुन व्यक्तिको नेतृत्वमा सरकार हुन्छ, त्यसका आसेपासे, पार्टीका कार्यकर्ता, पारिवारका सदस्यहरुले यो पदक पाउन थालेपनि यसको महत्व घटेको छ र विवादमा पनि आएको छ ।
काँग्रेस नेतृत्वको सरकारले संविधान दिवसको अवसरमा वितरण गरेको पदक पनि विवादमा आएको छ । यो पटक अहिलेसम्मकै सबभन्दा धेरै ९३१ पदक वितरण गरिएको छ । त्यसमा अधिकाँश सत्ताधारी पार्टीका नेता तथा कार्यकर्ता परेका छन् । त्यसले गर्दा समाजिक सञ्जालदेखि सञ्चारमाध्यममा यसको बारेमा आलोचनाहरु भइरहेका छन् । अब त यो पदक लिन पनि लाज लाग्न थालेको छ पनि भन्न थालेका छन् । र, यो यसरी विवादमा आउँदा राम्रा मान्छेहरु जो पदक लिन लायक छन् ती व्यक्तिहरुले पनि फिर्ता गर्न थालेका छन् । त्यसको एउटै कारण हो सरकारले पदकको मार्यादा राख्न सकेन । पदकलाई पनि पार्टीमुखी, चुनावमुखी, गुटमुखी, व्यक्तिमुखी, परिवारमुखी बनाउन थालेको छ ।

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका श्रीमती सीता दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका दिवंगत बुबा मंगलकुमार उपाध्याय, नेकपा (एकीकृत समाजवादी) का नेता प्रदीप नेपाल, काँग्रेसका नेताहरु कृष्णप्रसाद भट्टराई, मंगलादेवी सिंह, चक्रप्रसाद बास्तोला, योगेन्द्रमान शेरचन, दिवान सिंह राई, तेजबहादुर अमात्य, सरोज कोइराला, इस्तियाक अहमद खान र रामनारायण मिश्र लगायतले पदक पाउनु भएको छ । उहाँहरुलाई अहिले नै यो पदक किन ? देश तथा समाजका लागि उहाँहरुको योगदान पनि आफ्नो ठाउँमा होला । आवश्यकता अनुसार दिनुपर्छ, सम्मान गर्नुपर्छ तर प्रचण्ड, माधवकुमार नेपाल सत्तामा नै गएपछि मात्र किन यस्तो पदक दिएर सम्मान गर्नुपर्यो । काँग्रेसको सरकार भएपनि सारा काँग्रेस नेता यही बेला किन पदक पाउनु पर्यो । यदि उहाँहरुले साँच्चै देश र समाजका लागि योगदान दिएको भए अन्य दलको नेतृत्वमा भएको सरकारले पनि दिन सक्थ्यो वा दिन सक्छ । तर अहिले नै किन प्रश्न उठ्नु स्वभाविक हो ।

पदक पारदर्शी, विना भेद्भावरहित नरहेको कुरा यसरी पनि पुष्ट हुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले वितरण गरेको पदक त्यसअघिका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सरकारले लिस्ट तयार गरेको थियो । असोज ३ गने मनाउने संविधान दिवसमा वितरण गर्नका लागि गृह मन्त्रालयले असार २० गते नै सूची तयार पारिसकेको थियो ।

असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो । त्यसपछि उहाँ नेतृत्व सरकारको गृहमन्त्री बालकृष्ण खाँडले त्यो सूचीमा ब्यापक हेरफेर गर्नुभयो । एमालेका अध्यक्ष समेत रहनु भएका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्ना पार्टी निकट व्यक्ति तथा आफन्तका नाम राख्नुभएको थियो ।

पार्टीका गुटभित्रका कार्यकर्ताको नाम राख्नुभएको थियो, पार्टीमा रहेका पत्रकार, कलाकार, समाजसेवीको नाम राख्नु भएको थियो । त्यसलाई काटेर प्रधानमन्त्री देउवाले आफ्ना नेता, आफन्त, आसेपासे, पार्टीका शुभचिन्तक, कार्यकर्ताको नाम राख्नुभयो, फरक यति हो । जुन दलको सरकार आएपनि आफ्नै आफन्त तथा कार्यकर्ता, नेतालाई सम्झने हो, त्यही भएर यो पदक बदनाम भएको हो । पदकको नाममा राजनीतिक भइरहेको छ ।

नेपाली काँग्रेसमा महाधिवेशन हुन लागेको छ । त्यो महाधिवेशनले पनि पदकलाई असर पारेको छ । गृहमन्त्री बालकृष्ण खाँड महाधिवेशनमा महामन्त्रीका उम्मेदवार हुनुहुन्छ । उहाँले आफ्ना नेता तथा कार्यकर्तालाई खुशी पार्न र आफ्नोतिर आकर्षित गर्नका लागि पनि काँग्रेसका नेताहरुलाई सो पदक दिएको भनि आलोचना भइरहेको छ । प्रधानमन्त्री बनाउनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सहयोग गरेको कारण प्रचण्डका श्रीमती र माधवकुमार नेपालका बुवाले सो पदक पाउनु भएको टिप्पणीहरु भइरहेको छ । पदक सम्मानभन्दा पनि यो एउटा राजनीतिक गर्ने टुल बनेको छ ।

तपाईको प्रतिक्रिया