महिलाका लागि १६ दिन (सम्पादकीय)

महिला हिंसा विरुद्धको १६ दिन अभियान सम्पन्न भएको छ । १६ दिने यो अभियानले देशमा लैङ्गिक हिंसा कति कम भयो त्यसको हिसाब किताब हुँदै गर्छ । यस्ता अभियानहरु औपचारिकताका लागि मात्र हुने गरेका छन् । यो अन्तराष्ट्रिय अभियान हो । यो अभियानका क्रममा पनि विश्वमा थुप्रै हिंसाहरु भए । अभियानको क्रममा हिंसा कम हुनुपर्ने हो तर त्यस्तो देखिएन । अरुबेला जसरी हिंसा हुन्थ्यो त्यसरी नै भयो । कतिपय अवस्थामा त अभियान चलिरहेको छ भन्दै महिलामाथि हिंसा भएको देखिन्छ । महिला अर्थात लैङ्गिक हिंसा रोक्नका लागि अभियान होइन, नीति र कानुन बनाउनुपर्छ । र त्यो कानुन अक्षरस कडाइका साथ पालन गर्नु पर्छ र गर्न लगाउनुपर्छ ।

महिला हिंसा रोक्नका लागि त्यसको अभियान आफ्नै घरबाट सुरु गर्नुपर्छ । कतिपय व्यक्तिले आफ्नै घरमा महिलामाथि हिंसा गरेका हुन्छन् तर बाहिर त्यसको विरुद्ध ठूला ठूला भाषण गरेका हुन्छन् । कतिपय महिलाले पनि आफ्ना आमा, दिदी वहिनी, सासुमाथि हिंसा गरेका हुन्छन् तर महिला हिंसा विरुद्धको अभियानको ब्यानर बोकेर नारा लगाइ रहेका हुन्छन् । त्यसैले यो अभियान त्यतिबेला सार्थक हुन्छ जतिबेला सबैले आआफ्नो घरमा सबभन्दा पहिला हिंसा अन्त्य गर्न अग्रसर हुन्छन् । महिलाको क्षेत्रमा काम गर्ने ओरेकका अनुसार यसवर्ष सबैभन्दा बढी ६३ प्रतिशत महिलामाथि आफ्नै घरभित्र हिंसा भएको छ र हिंसा गर्नेहरूमध्ये सबैभन्दा बढी आफ्नै श्रीमान् र घरपरिवारका सदस्यहरू छन् । घरेलु हिंसामध्ये ७७ प्रतिशत महिला श्रीमानबाट र २३ प्रतिशत महिला घरपरिवारका सदस्यबाट हिंसामा परेका छन् ।

नेपाल प्रहरीमा  पनि आर्थिक वर्ष २०७७÷७८ मा आएका उजुरीमध्ये सबैभन्दा धेरै घरेलु हिंसाकै रहेका छन् । यसवर्ष १४ हजार २३२ वटा उजुरी प्रहरीमा आएका छन् । यो तथ्याङ्कले हिंसा सहन हुन्न भन्ने चेतना महिलामा बढेको देखिन्छ । तर घरभित्र भएका धेरैजसो हिंसाका घटना अझैपनि प्रहरीकहाँ पुग्न सकेका छैनन् । हिंसाको चरम अवस्थामा पुगेपछि मात्र पीडित प्रहरी कहाँ पुग्ने गरेको पाइन्छ । यसले महिला तथा किशोरीहरु घरभित्रै असुरक्षित रहेको कुरा पुष्टि गर्दछ । यी सबै कुराले के पुष्टि हुन्छ भने महिला हिंसाको अन्त्यको सुरुवात आआफ्नै घरबाट सुरु गर्नुपर्छ ।

नत्र वर्षमा एकपटक यस्तो १६ वर्षे अभियान चलाएर महिला हिंसा घट्ने होइन झन बढ्छ । यो अभियानको सन्दर्भ डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन साहसी दिदी बहिनीहरू पेट्रिया, मिनर्भा र मारियाको तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६० नोभेम्बर २५ मा गरेको हत्यासँग जोडिएको छ । यी तीन दिदी बहिनीहरूको हत्यालाई महिला विरुद्धको हिंसाको रूपमा लिई महिलावादीहरू द्वारा उनीहरूको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने परम्पराको सुरुवात गरिएको हो । पछि, सन् १९९९ मा संयुक्त राष्ट्रसंघद्वारा यसलाई आत्मसात गरी  नोभेम्बर २५ को दिनलाई संसारभर नै महिला विरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गरियो ।

ओरेकका अनुसार लिखित इतिहासलाई हेर्दा नेपालमा महिला विरुद्ध हुने हिंसाका सम्बन्धमा आवाज उठाउने प्रथम महिला योगमाया न्यौपाने हुन् । वि सं १९२५ मा नेपालको पूर्वी पहाडको भोजपुरमा जन्मिएकी उहाँले तत्कालिन नेपाली समाजमा महिलामाथि हुने गरेका अन्याय अत्याचार र कुसंस्कारको विरुद्ध सामाजिक परिवर्तन र महिला अधिकार स्थापनाका लागि सशक्त रुपमा आवाज उठाउनु भएको थियो ।

उहाँले समाजमा रहेका पित्तृसत्तात्मक सोच, सामाजिक मुल्यमान्यता, शोषण, जातीय विभेद र चरम लैंगिक विभेद विरुद्ध अभियान सञ्चालन गर्दागर्दै वि सं १९९८ मा आफ्ना अनुयायीसहित परिवर्तनका लागि खबरदारी गर्दै जलसमाधि लिनु भएको थियो । १६ दिने अभियानको शुरुवात नेपालमा २०५४ सालदेखि भएको पाईन्छ र यस अवधिमा विविध महिला विरुद्ध हुने हिंसाका सवालमा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरी मनाउँदै आएको छ । तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीय पालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो । त्यस यता महिला हिंसामा कुनै कमी आएको छैन ।

तपाईको प्रतिक्रिया