लोसपाको पार्टी कार्यालयमा शनिवारदेखि धर्ना

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पार्टी कार्यालयमा सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पक्षका नेता तथा कार्यकर्ताहरुले आन्दोलन गर्ने भएको छ । जनकपुरबाट आएर शनिवार बबरमहलस्थित पार्टी कार्यालयमा धर्ना बस्नेदेखि लिएर पार्टी कार्यालयमा तालाबन्दीसम्मको कार्यक्रम गर्ने लोसपाका नेतृ विभा ठाकुरले बताउनुभयो ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले पछिल्लो समय गरेको नियुक्ति तथा मनोनितप्रति असन्तुष्टि जनाउँदै नेता महतो पक्षका नेताहरु आन्दोलित भएका छन् ।

अध्यक्ष ठाकुरले मंसिर २५ गते प्रदेश २ को लोसपा अध्यक्षमा जितेन्द्र सोनललाई मनोनय गरेपछि जनकपुरमा लोसपाका ३० जना नेता तथा कार्यकर्ताले विज्ञप्ति जारी गरेर त्यसको विरोध गरेका थिए । त्यो विरोध वरिष्ठ नेता महतोले गराएको आरोप छ । अब उनीहरु नै काठमाडौँ आएर बबरमहलस्थित पार्टी कार्यालयमा धर्ना बस्ने भएको छ ।

नेतृ ठाकुरले भन्नुभयो, हामीहरुको यो आन्दोलन कुनै एक नेताको विरुद्धमा होइन, पार्टीको सिस्टम विरुद्धमा रहेको छ । पार्टीका तीन चारजना मिलेर मनोमानी ढंगले मनोनय तथा नियुक्तिहरु गरिरहनु भएको छ त्यसको विरुद्धमा हामी आन्दोलन गर्दै आएका छौ ।’

तपाईको प्रतिक्रिया