अमेरिका र चीनलाई एकसाथ रिझाउँदा यस्तो फसाद

मधेशवादी दल विदेशीहरु खोल्दिएको टिप्पणी गरेर विवादमा पर्नुभएका नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलेनियम च्यालेन्ज कर्पोरेश (एमसीसी) को विषयमा दोहोरो भूमिका खेलेको भन्दै त्यसमा पनि उहाँको आलोचना भइरहेको छ । पार्टी कार्यालयमा कपिलवस्तुका केही मधेशी नेतालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले मधेशवादी दल विदेशीको सहयोगमा खोलिएको टिप्पणी गरेपछि जसपा र लोसपाका नेताहरुले त्यसको खण्डन गर्दै प्रचण्ड आफै विदेशीको इशारामा चलेको आरोप लगाउनु भएको छ ।
प्रचण्डले एकातिर चीनलाई रिझाउनका लागि एमसीसीको विरोध गर्नुहुन्छ भने अर्कोतिर अमेरिकालाई रिझाउनका लागि भित्रभित्र त्यसको समर्थन गर्नुभएको छ । यो कुरा तब थाह भयो जब अमेरिकाले नै प्रचण्डद्वारा लेखिएको पत्र सार्वजनिक गर्दियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग गठबन्धन बनाउँदा काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास गराउन प्रस्ताव राख्नु भएको थियो । गठबन्धन बनाउनमा सक्रिय रहनु भएका जनता समाजवादी पार्टी नेपालका एक नेताले भन्नुभयो, गठबन्धन बनाएर सरकार बनाउनका लागि शेरबहादुर देउवाको एउटै प्रस्ताव थियो एमसीसी पास गर्नुपर्ने, यदि एमसीसी पास गर्नमा सघाइएन भने गठबन्धनमा नबस्नेसम्मको कुरा राख्नु भएको थियो । पछि प्रचण्डले एमससी पास गराउनमा सहयोग गर्ने प्रतिवद्धता जनाएपछि मात्र गठबन्धन बनेको थियो ।’ तर प्रचण्डको कुरामा प्रधानमन्त्री समेत रहनु भएका काँग्रेसका सभापति देउवालाई विश्वास लागेन । उहाँले अमेरिकालाई विश्वास दिलाउनुपर्छ भनि प्रचण्डलाई भन्नुभयो । त्यसपछि अध्यक्ष प्रचण्ड र सभापति देउवाले संयुक्त हस्ताक्षरबाट अमेरिकालाई पत्र पठाएर एमसीसी पास गराउन सरकारबाट पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
अनि त्यसपछि मात्र गठबन्धनको सरकार बन्यो । यो कुरा गठबन्धनका अन्य घटक दललाई थाह पनि थिएन । यो पत्र बाहिर आएपछि मात्र जसपा, जनमोर्चा र नेकपा एकीकृत समाजवादी पार्टीले थाह पाएका थिए । यस्तो गोप्य सहमति चीनलाई झन थाह हुने कुरै थिएन । चीनलाई लागेको थियो, यो गठबन्धनको सरकार आफ्नो समर्थनमा बनेको छ । प्रचण्ड र माधवकुमार नेपालले पनि चीनलाई त्यही अनुसारको आश्वस्त पार्नुभएको थियो ।
एमसीसी पास गराउन यो सरकारले पहल गर्दैन भने कुरामा चीन पनि ढुक्क थियो । उता, अमेरिकाको चाहनामा बनेको सरकारले एमसीसी पास गराउँछ भनि कुरामा ढुक्क थियो । त्यसको आधारमा सरकारलाई दवाव पनि दिइरहेको थियो । जब प्रचण्ड र माधवकुमार नेपालको कारण त्यो पास हुनमा अनाकानी भइरहेको थियो अनि अमेरिकाले प्रचण्ड र देउवाले हस्ताक्षर गरेको त्यो पत्र लिक गर्दियो । अहिले प्रचण्ड दुवै देशको विश्वास गुमाएको अवस्था छ । हालै अमेरिकाका विदेश राज्यमन्त्रीले प्रचण्डलाई फोन गरेर एमससी पास गराउन दवाव दिनुभएको छ भने उता चीनबाट पटक पटक प्रचण्डलाई सम्पर्क गरेर पास हुन नदिन दवाव दिइरहेको छ ।
माओवादी केन्द्रका केन्द्री सदस्य लिलामणी पोखरेल भन्नुहुन्छ, गठबन्धन बनाउँदा एमसीसी पास गराउने विषयमा कुनै सम्झौता भएको थिएन, यदि कुनै नेताहरुको बीचमा गोप्य सहमति भएको थियो भने त्यो कुरा उहाँहरुले जानुन् तर गठबन्धन निर्माणपछि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदा त्यसमा एमसीसीको कुरा थिएन, जनताले त्यसलाई आधिकारिक मानेको छ ।’ सोही पार्टीका अर्का केन्द्रीय सदस्य हरिबोल गजुरेलले गठबन्धनको तर्फबाट पत्र पठाउँदा जे लेख्नुपथ्र्यो त्यही पत्र लेखिएको हो, त्यसमा कुनै कुरा आपत्तिजनक नरहेको दावी गर्नुभयो । एमसीसी पास गराउन पहल गर्छु भन्नु भनेको त्यो पास नै गराई दिन्छु भनेको होइन, उहाँले भन्नुभयो, प्रचण्डले छुट्टै पत्र पठाएर त्यस्तो कुरा उल्लेख गर्नुभएको भए त्यसमा टिप्पणी गर्न मिल्थ्यो तर संयुक्त पत्रको बारेमा टिप्पणी गर्नु जायज होइन ।’

तपाईको प्रतिक्रिया