वृषेशचन्द्रले पार्टी छाडेपछि के भन्यो लोसपाले ?

काठमाडौँ फागुन १० गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य वृषेशचन्द्र लाल, डा.विजय सिंहलगायतका नेताहरु आज सो पार्टी परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टीमा प्रवेश गर्नुभएको छ ।

 

यद्यपी तमलोपा उहाँहरुले आफैले गठन गर्न लगाउनु भएको थियो । लोसपामा आन्तरिक कुरा नमिलेपछि नेता लाल र सिंहले आफ्न्तलाई अध्यक्ष राखेर निर्वाचन आयोगमा सो पार्टी दर्ता गर्न लगाउनु भएको थियो । उपयुक्त मौका देखेर उहाँहरु सो पार्टीमा जानु भएको हो । उहाँ दुवैजनामध्ये एकजना अध्यक्ष भएर पार्टी सञ्चालन गर्ने बताइएको छ ।

स्रोतका अनुसार डा.विजयकुमार सिंह सो पार्टीको अध्यक्ष रहनु हुनेछ । यद्यपी अहिलेसम्म त्यसको आधिकारीक कुनै निर्णय भएको छैन । लोसपामा अझै अध्यक्ष प्रणाली हावी रहेको, चार पाँचजना नेताले मात्र कुनै निर्णय गरेको, पार्टीमा सामूहिक निर्णय नभएको, समयमा बैठक नबसेको, केपी ओली अध्यक्ष रहेको एमाले पार्टीसँग साँठगाँठ गरेको जस्ता आरोप उहाँहरुले लगाएर सो पार्टीबाट अलग हुनुभएको छ ।
उहाँहरु पार्टी छाडेपछि बबरमहलस्थित लोसपाको पार्टीको कार्यालयमा बैठक बसेको थियो । सो बैठकमा नेताहरुले पार्टी छाडेको विषयमा समिक्षा भएको थियो तर औपचारिक रुपमा सोध्दा सो पार्टीका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्ला त्यस विषयमा कुनै छलफल नभएको दावी गर्नुभयो ।

सर्वेन्द्रनाथ शुक्लाले नेताहरुले पार्टी छाडेको बारेमा लोसपालाई कुनै आधिकारीक जानकारी नआएको बताउनुभयो । उहाँहरुले पार्टी छाडेर अन्य पार्टीमा जानु भएको कुरा लोसपालाई आधिकारीक जानकारी नआएको कारण त्यसमा कुनै छलफल नभएको उहाँले दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘बैठकमा पार्टीको विधान, कार्यविभाजन, कार्यकारिणी समिति विस्तार, कार्यकारिणी समितिको बैठक लगायतको विषयमा छलफल भएको हो । यो बैठक केही दिन अझै चल्नेछ ।’ कार्यकारिणी समितिको बैठकका लागि एजेण्डा तय गर्नेलगायत अन्य समसामयिक विषयमा छलफल गर्नका लागि छ सदस्यीय एउटा समिति बनाइएको छ । सोही समितिको बैठक बसेको उहाँले बताउनुभयो ।

कार्यकारिणी सदस्य जितेन्द्र सोनलले लोकतन्त्रमा पार्टीमा आउने जाने क्रम जारी नै रहन्छ, एकजना जान्छन् भने अर्को एकजना पार्टीमा आउँछन् लोकतन्त्रमा यो समान्य प्रकृया रहेको प्रतिकृया दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीमा आउनले रोक्न सकिन्छ तर जानेलाई रोक्न सकिदैन त्यही भएर कोही यदि पार्टी छाडेर जानु भएको छ त्यसमा पार्टीको कुनै गुनासो छैन ।’

 

तपाईको प्रतिक्रिया