मधेश प्रदेशको सत्ता गठबन्धनमा सक्कसः बैठकबाट बाहिरिएर काँग्रेसको छुट्टै छलफल

जनकपुर वैशाख ५ गते । मधेश प्रदेश गठबन्धनमा विवाद उत्पन्न भएको छ । मधेश प्रदेशको स्थानीय तहको चुनावमा सीटमा तालमेल गर्न बसेको प्रदेश स्तरीय गठबन्धनको बैठकमा कुरा नमिल्दा काँग्रेस बैठकबाट बाहिरिएको छ । अहिले काँग्रेसको छुट्टै बैठक चलिरहेको छ ।

मधेश प्रदेशमा चुनावी तालमेल मिलाउन सत्तारुढ गठबन्धन दलको बैठक विहानीदेखि जारी थियो । स्थानीय तहको निर्वाचनका लागि तालमेल गर्ने विषयमा जनकपुरस्थित जसपा नेपालको कार्यालयमा बैठक बोलाएको थियो तर काँग्रेसले अधिकाँश ठाउँमा प्रमुखको दावी गरेपछि कुरा विग्रेको हो ।

पछिल्लो पटक बसेको सत्ता गठबन्धनको बैठकले वैशाख ४ गतेसम्म प्रतिवेदन पेस गर्न प्रदेशलाई निर्देशन दिएको थियो । केन्द्रको त्यही निर्देशनअनुसार प्रदेश अध्यक्षहरूको बैठक बसेको थियो । आइतबार भएको बैठकमा गठबन्धनका दलहरूले हरेक पालिकाको जिल्ला स्तरीय रिपोर्टिङ भएको आआफ्नो तर्फबाट पार्टीगतरुपमा प्रस्तुत गरेको जसपा मधेस प्रदेश समितिका मुख्यसचिव दिनेशकुमार यादवले बताउनुभयो ।

बैठकमा नेपाली काँग्रेस मधेस प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद यादव, काँग्रेसका नेता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादव, नेकपा माओवादी केन्द्र मधेस प्रदेश समितिका इन्चार्ज गणेश साह, जसपा नेपाल मधेस प्रदेश समिति अध्यक्ष रामबाबु कुमार यादव, नेकपा एकीकृत समाजवादी मधेस प्रदेश समितिका इन्चार्ज धर्मनाथ साहलगायतका नेताहरूको सहभागिता हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया