अन्य पार्टी र जसपा नेपालबीच भिन्नता

नेपालमा पारम्परिक रुपले मूलतः तीन थरी विचारधारा बोक्ने पार्टीहरु छन् । ती विचारधारा हुन्– साम्यवादी विचारधारा, पूँजीवादी विचारधारा तथा धार्मिक एवं राजतन्त्रात्मक विचारधारा । नेपालमा अस्तित्वमा रहेका सबैजसो पार्टीहरु यिनै तीन विचारधाराभित्र अटाएका छन् ।

तर, नेपालको राजनीतिक अभ्यासले पुष्टि गरेको तथ्य के हो भने यी तीनवटै विचारधाराले मुलुकको प्रगति हुन सकेन । ती सबै विचारधारा कुनै न कुनै रुपमा असफल सिद्ध भइसकेका छन् । विश्वव्यापी रुपमै पनि विगतका केही शताब्दीहरुमा यिनको प्रयोगात्मक शासन पनि चलेकै हो र विश्वव्यापी रुपमा ठूलाठूला संकट र उथलपुथलका परिघटना पनि देखेभोगेकै विषय हुन् । त्यसैले जनता समाजवादी पार्टी, नेपालले समाजवादी गणतन्त्रलाई नै राजनीतिक गन्तव्य बनाएर मुलुकको अवस्था र परिस्थिति सुहाउँदो विचारधारालाई अँगालेको छ ।

यसर्थ, हाम्रो पार्टीले यस निर्वाचनमा पहिचानसहितको सङ्घीयता, समावेशी विकास, सामाजिक न्याय, समतामूलक समृद्धि एवं सदाचार र सुशासनको विषयलाई मुख्य एजेण्डाको रूपमा अगाडि सारेको छ भने सङ्घीय समाजवादी लोकतान्त्रिक गणतन्त्र, नेपाल निर्माण गर्ने राजनीतिक ध्येय रहेको छ । यसका लागि पुराना यथास्थितिवादी दलहरु तयार छैनन् । त्यसैले जसपा, नेपालको काँधमा नै अबको आर्थिक–सामाजिक रुपान्तरणको अभियानको नेतृत्व गर्ने ऐतिहासिक जिम्मेवारी आएको छ ।

त्यसैले, जसपा नेपाल र अन्य दलहरुबीच मुलुकको राज्य पुनर्संरचना, शासकीय स्वरुप, व्यवस्थापकीय ढाँचा, न्यायपालिकामाथिको दृष्टिकोण, प्रदेशको सीमांकन र नामांकन, संघ र प्रदेशबीच क्षेत्राधिकारको बाँडफाँट, अकेन्द्रिकरणको नीति, विशेष संरचनाहरुको निर्माणलगायतका विषयहरुमा फरक दृष्टिकोण रहेको छ । अन्य दलहरुले सङ्घीयतालाई प्रशासनिक एकाईकै रुपमा ग्रहण गरेका छन् भने हामीले पुनर्संरक्षित राज्यको समावेशी लोकतन्त्र, समतामूलक समाज र सामाजिक न्याय स्थापना गर्ने माध्यमको रुपमा लिएका छौँ ।

-जसपाले सार्वजनिक गरेको प्रतिवद्धतापत्रबाट

तपाईको प्रतिक्रिया