यसरी भयो चीनसँग मिलाउने काम

यतिखेर नेपाली राजनीतिमा डा.अमरेशकुमार सिंहको निकै चर्चा छ । पछिल्लो समय बनेको नयाँ राजनीतिक समिकरणको डिजाइनर आफू रहेको कुरा सबैतिर भन्दै आइरहनु भएको छ ।

चुनावमा कांग्रेसका सभापति शेबरहादुर देउवाले टिकट दिनुभएन, त्यसको बदला आफूले लिएको धेरै ठाउँमा उहाँले भन्दै आइरहनु भएको छ । ‘अहिले जेजति भएका छन् नि यी सबै मैले नै गराएको छु’ सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रमा चुनाव जितेका नेता सिंहले भन्दै आउनु भएको छ, ‘मलाई पार्टीबाट नै हराउने षड्यन्त्र भयो, त्यो षड्यन्त्रलाई चिर्न सफल भए मलाई पार्टीबाट कहाँ कहाँबाट असहयोग भयो त्यसको हिसाब किताब मसँग छ ।’

यदि कांग्रेस पार्टीले अमरेश सिंहलाई सहयोग गरेन भने कसको सहयोगमा उहाँले चुनाव जित्नुभयो त भनि प्रश्न पनि उठेको छ । र, यो प्रश्न माओवादी केन्द्रतिर तेर्सिएको छ । माओवादी केन्द्रका नेता शिवपुजन राय यादवले आफ्नो छोरीलाई स्वतन्त्र उम्मेदवार बनाएपछि अमरेश सिंह यादवका लागि अवस्था झन सहज भएको बताइन्छ ।

यो योजना अरु कसैको होईन, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नै रहेको स्रोतहरुले दावी गरेका छन् । सर्लाही क्षेत्रमा सबभन्दा बढी भोट यादव समुदायका छन् । काँग्रेसबाट तत्कालित सत्ता गठबन्धनको उम्मेदवार नागेन्द्र राय यादव हुनुहुन्थ्यो भने शिवपुजन राय यादवले स्वतन्त्र उम्मेदवारमा आफ्नै छोरी मधुमाला यादवलाई उठाउनु भएको थियो ।

यी दुईजनामा मत बाँडिएपछि स्वभाविक रुपमा अमरेशनारायण सिंह जित्ने नै भयो । तर शिवपुजन रायले पनि एमालेलाई हराउनका लागि आफूले आफ्नो छोरीलाई उम्मेदवार बनाएको बताउनुहुन्छ । जसपा–एमाले गठबन्धनबाट जसपाका राकेश कुमार मिश्र उम्मेदवार बन्नुभएको थियो ।

अमरेश सिंह चुनाव जित्नुहुन्न भनि शिवपुजनले सार्वजनिक रुपमा भन्दै आउनु भएको थियो । तर दुईतिर यादवको भोट विभाजन भएपछि चुनाव जित्छु भन्नेमा अमरेश सिंह ढुक्क हुनुहुन्थ्यो । र यो कुरा शिवपुजन रायलाई पनि थाह थियो । यता, अमरेश सिंहले सोही अनुसारको ब्रिफिङ प्रचण्डलाई पनि गर्नुभएको थियो ।

प्रचण्डको दुईटै हातमा लड्डु होइन, तीनटै हातमा लड्डु थियो । काँग्रेसका उम्मेदवार नागेन्द्र यादव चुनाव जितेको भए गठबन्धनको उम्मेदवार जितेको भनि माओवादीका अध्यक्ष प्रचण्डले पनि जस पाउनुहुन्थ्यो ।

यदि शिवपुजन राय यादवको छोरी मधुमालाले चुनाव जित्नुभयो भने अन्ततः माओवादी पार्टीमै आउनेमा उहाँ निश्चिन्त हुनुहुन्थ्यो । झन अमरेश सिंह जित्नुभयो त आफूलाई छाडेर कहि नजानेमा अध्यक्ष प्रचण्ड ढुक्क हुनुहुन्थ्यो । त्यसैले शिवपुजन रायले आफ्नो छोरी मधुमालालाई उम्मेदवार बनाएपछि त्यसलाई त्यति सिरियस लिनुभएन । गठबन्धनमा दवाव बढ्न थालेपछि कारवाहीका लागि एउटा सूचना जारी गर्नुभयो । त्यसले खासै असर गरेन ।

अहिले पनि शिवपुजन माओवादीमै हुनुहुन्छ र उहाँको श्रीमतीलाई समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनाइएको छ । अमरेशलाई जिताउनका लागि यी सब नाटक रचिएको कुरा यी सब घटनाले पुष्टि हुन्छ । काँग्रेसको चित्त बुझाउनका लागि प्रचण्डले कारवाहीको नाटक रचेको कुरा पनि पुष्टि भएको छ । चुनाव जितेर काठमाडौँ आउने बित्तिकै अमरेश सिंहले पनि सबभन्दा पहिले माआवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको थियो । र, त्यही दिनदेखि गठबन्धन भत्काउने खेलमा लाग्नुभएको थियो ।

भारतले काँग्रेस नेतृत्वको गठबन्धन जोगाउन चाहेको थियो भने चीनले सो गठबन्धन भत्काएर अर्को वाम गठबन्धन बनाउनेमा लागि परेको थियो । त्यसका लागि डा.अमरेशकुमार सिंहले पनि काम गर्नुभएको थियो र मुख्य खेलाडी एमाले भयो । अर्थात भारतका सबभन्दा प्रिय पात्र अमरेशकुमार सिंहले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चीनसँग मिलाउने काम किन गरे । सबैले प्रश्न गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया