दशै भरि धुमधामका साथ विजयादशमी मनाइदैँ

काठमाडौं, कार्तिक ५ गते । आज बडादसैंको महानवमी र विजयादशमी पर्व एकै दिन मनाईंदैछ । यो वर्ष तिथिका कारण महानवमी र विजयादशमी एकै दिन परेको हो । यो बर्षको बडादसैंको टीका लगाउने साइत आज बिहान १० वजेर ५५ मिनेटमा रहेको छ ।
आजको दिन तराईको जिल्लाहरुमा निलकण्ठलाई दर्शन गरेर जात्रा मानउँने  चलन रहेको छ ।छ
 विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका जमरा ग्रहण गरिन्छ ।
घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन काठमाडौँ उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका शक्तिपीठहरूमा बलि चढाउने भक्तजनहरूको आज बिहानदेखि घुइँचो लाग्ने गर्छ।
पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबिज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ। कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेँडा र राँगाको पञ्चबलि पनि चढाइन्छ।असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइने विजयादशमीमा आफ्ना मान्यजनबाट टीका तथा आर्शिवाद लिने गरिन्छ ।
दसैँका अवसरमा नविन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ । दसैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ ।यस पर्वमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानपूजा पनि गरिन्छ।
यसैगरी अन्य शक्तिपीठहरूमा उपत्यका बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, बाराको गढीमाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डँडेल्धुराको उग्रतारा लगायतका शक्तिपीठमा शक्तिस्वरूपा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ ।
आज दसैंघर र कोतलगायत मुलुकको कुनाकाप्चामा रहेका विभिन्न  देवीका मन्दिरहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र सप्तशती पाठ गरिन्छ।शाकाहारीहरूले कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल तथा पायस चढाउने प्रचलन छ।अधिकांश ठाउँमा महाष्टमीको दिन दसैंघरमा बलि दिने र महानवमीको दिन मार हान्ने प्रचलन रहेको छ। महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने प्रचलन छ।
हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि आजका दिन मात्र खोलिन्छ। हनुमानढोकाको दसैं घरलगायत कतिपय समुदायले महाष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आ–आफ्ना परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाए।
महानवमीमा श्रीरामले रावणको बध गर्नका लागि शक्ति प्राप्त गर्न नौं दिनसम्म दुर्गा भवानीको आराधना गरेको प्रसंग पनि छ ।
देवीभागवत अनुसार दश वर्षभन्दा बढी उमेर भएकी कन्या रजस्वला हुने हुँदा पुज्नु हुँदैन। चढाएको फल आदि खान र चन्दन आदि बास्नाको स्वाद लिन नजान्ने, एक वर्षकी कन्या पनि पुज्नुहुँदैन । रोग नलागेकी, राम्रो अङ्ग भएकी, घाउचोट र खत नभएकी एउटै कुलमा उत्पन्न भएकी कन्याहरूलाई राम्ररी पुज्नुपर्दछ ।

तपाईको प्रतिक्रिया