Khadya Bibhag

सद्भावना पार्टीको पुरानै प्रवृति


-महेश चौरसिया
असोज २४ गते प्रधानमन्त्री निर्वाचन अघि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले सर्वसम्मत निर्णय गर्यो, –‘मधेशी, थारु, मुस्लिम, दलित, आदिवासी जनजाति विरुद्ध रहेको उग्रवामपन्थी तथा लोकतन्त्र विरोधी फासिष्ट चरित्र बोकेको अपवित्र गठबन्धनलाई परास्त गर्न त्यसका विरुद्व मतदान गर्ने र सत्ताको खेलबाट बाहिर रही चलिरहेको आन्दोलनलाई निरन्तर जारी नै राख्ने निर्णय गरियो ।’

सोही निर्णय अनुसार मोर्चामा आबद्ध चारवटै दल केपी ओली विरुद्ध निर्वाचन प्रक्रियामा सहभागी भएका थिए । तर, मोर्चाकै सहयात्री दल सद्भावना पार्टीले मोर्चाकै निर्णय विरुद्ध वक्तव्यबाजी गरी मोर्चाका नेताहरुलाई बद्नाम गर्ने र मधेशी जनतामा भ्रम सिर्जन गर्ने जस्ता गैरजिम्मेवार गतिविधिमा उत्रेको देख्दा रत्तिभर आश्चर्य लागेको छैन ।

किनकि, राजीनामाको नौटंकीदेखि कै सहयात्री दलहरु विरुद्ध विभिन्न षड्यन्त्र गर्ने, बद्नाम गर्ने, आफू दूधले धोएको भ्रम सिर्जना गर्न खोज्ने सद्भावना पार्टीको यो पुरानै प्रवृत्ति हो । सद्भावना पार्टीका महासचिव मनिष सुमनले राजधानीका पत्रकारहरुलाई फोन गरेर समाचार लेखाएछन्, –‘जबर्जस्ती र दबाबमा पारेर राजीनामा दिएका हाम्रा सभासदलाई प्रधानमन्त्रीको निर्वाचनको मतदान प्रक्रियामा सहभागी गराइयो, यो आन्दोलन र मधेसप्रति नै धोका हो ।’

महासचिव सुमनलाई म सोध्न चाहन्छु, तपाईको पार्टीका ५ जना सभाषद्लाई जबर्जस्ती बाँधेर भोट हाल्न लगाइएको हो र ? मोर्चाको निर्णयमा तपाईका पार्टी सह–अध्यक्ष लक्ष्मण लाल कर्णले हस्ताक्षर गरेका छन् ।

(प्रमाणका लागि मोर्चाको विज्ञप्ति हेर्न सकिन्छ।) हस्ताक्षर पनि जबर्जस्ती नै गराइएको हो कि ? सद्भावना पार्टीका सभाषद् केटाकेटी होइनन् मनिषजी, जसलाई ललाई फकाई गलत काम गराउन सकियोस् । तपाईको पार्टीले संविधानसभा र व्यवस्थापिकाबाट राजीनामा दिइसकेको थियो भने निर्वाचन प्रक्रियामा किन सहभागी हुनुभयो ? मनिशजी, थोरै पनि लाज र जिम्मेवारीबोध छ भने आफ्नो निर्णयमा अडिग रहनुस्, किनकि, अरुलाई दोष लगाएर आफ्नो पाप पखालिँदैन ।

सद्भावना पार्टीले आफ्नो दोहोरो चरित्रलाई ढाकछोप गर्न खोज्नु व्यर्थ छ । सस्तो लोकप्रियताका लागि मिडियाबाजी गर्दैमा जनता भ्रमित हुँदैनन् । तपाईहरु आफैले दोहोरो चरित्र देखाउने अनि मोर्चाका नेताहरुलाई बद्नाम गर्दै मधेशी जनतालाई गुमराह गर्ने कार्य बन्द गर्नुस् मनिषजी । सद्भावना पार्टीलाई आग्रह छ, सक्नु हुन्छ स्वच्छ र आग्रहरहित राजनीति गर्नुुस्, नभए सस्तो लोकप्रियताका लागि आत्मघाती, घटिया र फोहोरी राजनीति बन्द गर्नुस् ।
(उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाको फेसबुकबाट)

तपाईको प्रतिक्रिया