Khadya Bibhag

लक्ष्मणलाल कर्णले किन ढाँटे मलाई ?

-सुरेशकुमार यादव

अहिले यो कुरा लेख्नु कति उचित अनुचित होला भने मलाई थाह छैन तर दैनिक रिर्पोटिगं गर्ने पत्रकार भएका नताले आजको दिन लेख्नै पर्ने अवस्था आयो । यदि म आज यो लेखिन भने मलाई आउने दिनमा मलाई आत्मग्लानी भइरहन्छ । त्यसैले मैले आज यो लेख्दैछु । र, यो मेरो खण्डन पनि हो ।

 सद्भावना पार्टीले आफ्ना सभासद् सविधानसभाबाट राजिनामा दिएको घोषणा भदौं १ गरेपछि सो दलका चारजना सभासद्हरुले भदौ ६ गते सभामुख सुवाष नेम्वागं समक्ष राजिनामा बुझाएका थिए । त्यो दिन चारजनाले राजिनामा बुझाएपनि सो पार्टीले आफ्ना पार्टीका सबैजनाले राजिनामा दिएको जानकारी सञ्चारमध्यमलाई गराएको थियो ।

त्यो दिन सो पार्टीका संसद एवं सहअध्यक्ष लक्ष्मण लाल कर्णले मलाई पनि पाँचजनाको राजिनामा बुझाएको भनेर ढाँट्नु भएको थियो । पाँचजना सभासद्ले राजिनामा दिएको कुरा कर्णले भनेकै आधारमा गोरखापत्रमा मैले समाचार लेखेका थिए मैले मात्र होइन सबै सञ्चारमाध्यममा त्यस्तै समाचार आएको थियो । पछि त्यो कुरा खुल्यो कि माधवी रानी र नरसिंह चौधरीले राजिनामा नै दिनु भएको छैन ।

ती सभासद्हरुले सविधानसभाबाट मात्रै हो कि व्यवस्थापिका संसदबाट पनि राजिनामा दिएको हो भनि जानकारी लिनका लागि संसद एवं पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णलाई फोन गरेर सोधेका थिए ।
उहाँले मलाई यसरी झपार्नु भयो कि मेरो पत्रकारिता जीवनमा यस्तो आत्मग्लानी र मनमा चोट कहिल्यै पनि लागेको थिएन । दुई दिनसम्म मेरो दिमागमा त्यही कुरा खेलि रह्यो । उहाँले सिधै भन्नुभएको थियो कि तपाई कस्तो पत्रकार हुनुहुन्छ, यति पनि जानकारी छैन । पहाडी पत्रकारहरु पनि यही कुरा सोधेका छन् । तपाई पनि यही सोध्नुहुन्छ ? सविधानसभाको चुनाव र व्यवस्थापिका संसदको चुनाव फरक फरक भएको हो र ? एकै चोटी भएको छ भने एउटाबाट राजिनामा दिँदा दुईटैबाट राजिनामा दिएको भनि बुझ्नुपर्छ ।

अनि मैले भने, पत्रकारलाई सबै कुरा थाह हुन्छ भने के छ र त्यही जानकारी लिनका लागि त तपाईलाई मैले फोन गरेको हुँ नि । अनि उहाँले सविधानसभाबाट राजिनामा दिएपछि व्यवस्थापिका संसदबाट पनि राजिनामा दिएको भनि लेख्नुस भन्नुभयो र मैले त्यही लेखे । मलाई संसदीय रिर्पोटिगंको जानकारी नभएर हो कि कर्णले झुठो बोल्नु भएको हो त्यो कुराको बुझ्न व्यवस्थापिका संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमलाई असोज १९ गते उहाँकै कार्यकक्षमा भेटेका थिए । मैले उहाँलाई यही जिज्ञासा राख्दा उहाँले पनि सविधानसभाबाट राजिनामा दिँदा व्यवस्थापिका संसदबाट पनि राजिनामा दिए सरह नै हुन्छ, भन्नुभएको थियो । यद्यपी उहाँहरुको राजिनामा स्वीकृत भएको छैन ।

तर, आज प्रधानमन्त्रीका लागि व्यवस्थापिका संसदमा भएको चुनावमा सहअध्यक्ष लक्ष्मण लाल कर्णसहित पाँचैजना संसदहरुको उपस्थिति मैले पाए । मैले त उहाँलाई सिधै सोध्ने हिम्मत त गरिनन् किनभने फेरि उहाँले मधेशी पहाडिको कुरा ल्याएर रिसाई देला कि जस्तो लाग्यो तर अरुबाट मैले बुझ्दा उहाँले अरु अरुलाई भन्नु भएको छ कि हामी सविधानसभाबाट मात्र राजिनामा दिएका हौं व्यवस्थापिका संसदबाट होइन ।

यदि आज उहाँले यो कुरा भन्नुभएको छ भने पहिला भन्दा के बिग्रिन्थ्यो । क्रान्तकारी हुनलाई जे पनि भन्दिने, अनि मौका आयो भने केही पनि बाँकी नराख्ने प्रवृति राखेर राजनीतिलाई लामो समयसम्म टिकाउन सकिदैन । यो बीचमा उहाँहरुले राजिनामा दिएपनि सुविधाहरु लिएको कुराहरु सञ्चारमाध्यममा आएका छन् । ती समाचारहरुमा पनि सहअध्यक्ष कर्णले आफूले कुनै सुविधा नलिएको प्रतिकृयाहरु दिनु भएको छ । यी कुराहरु मैले नबुझेको हो कि उहाँले ढाँट्दै आउनु भएको छ । फेरि पनि भन्दैछु मैले यो कुरा आज यो कारणले लेखेको छु कि सहअध्यक्ष कर्णले मेरो पत्रकारितामाथि नै प्रश्न चिन्ह खडा गर्दिनु भएको थियो । जुन मलाई निकै हर्ट गरेको थियो र त्यसैको जवाफ आज दिएको हुँ । अन्यथा केही पनि होइन ।

तपाईको प्रतिक्रिया