Khadya Bibhag

हामीले राष्ट्रपतिलाई होइन, विद्यादेवी भण्डारीको आचरण र व्यवहारलाई विरोध गरेका हौं

 

–उमेश यादव, पूर्वमन्त्री

नेता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव समूह)

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेपछि देश आन्दोलित भएको छ । नेकपा प्रचण्ड–माधव समूह, नेपाली काँग्रेस, जसपा नेपाललगायता दल तथा नागरिक समाज, बुद्धिजिवी, पत्रकार, व्यपारीलगायतका समूह आन्दोलित छन् । आन्दोलन गर्ने अधिकाँश दलका नेताहरुले संसद पुनःस्थापनामा जोडदिनु भएको छ भने कतिपय नेताले सर्वोच्च अदालतको निर्णयलाई कुरौं पनि भन्नुभएको छ । सर्वोच्च अदालतबाट आउने निर्णयलाई स्वीकार गर्ने पनि भनिरहनु भएको छ । यसै रसातलमा आन्दोलन अगाडि बढी रहेको छ । नेकपा प्रचण्ड–माधव समूहको एकसुत्रीय माग संसद पुर्नस्थापना नै हो । त्यसका लागि संघर्ष गरिरहेको छ । प्रस्तुत छ, संसद विघटनका लागि भइरहेको आन्दोलन, राष्ट्रपतिको भूमिका र प्रधानमन्त्रीको कदम बारे नेकपाका नेता एवं पूर्व सिंचाई मन्त्री उमेश यादवसँग सहारा टाइम्सले गरेको कुराकानी सम्पादीत अंशः   

तत्कालिन एमाले र माओवादीबीच एकीकरण भएको अढाइ वर्ष नबित्दै अनौपचारिक रुपमा विभाजन भइसकेको छ, एकीकरणमा कहाँ त्रुटी भएको थियो जो यस्तो अवस्था सृजना भयो ?

–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजन र अहिलेको परस्थिति सृजना हुनु नेपाली जनताको चाहना होइन । चाहनाको विपरित पार्टीको एउटा पक्षमा हिडिरहेको छ । प्रधामन्त्री केपी शर्मा ओली र उहाँका साथमा रहेका केही नेताहरु नेपाली जनताको चाहना, जनयुद्ध, जनआन्दोलन, मधेश विद्रोहलगायतका आन्दोलनले दिएको म्याण्डेटभन्दा पछाडी फर्किनु भयो । त्यसको विरोधमा नेकपा सशक्त रुपमा अगाडि बढेको छ । बरु प्रतिपक्षी दल नेपाली काँग्रेस चुप लागेको छ तर नेकपा प्रधानमन्त्री ओलीको कदमको खुलेर विरोध गरिरहेको छ ।

नेकपा आफै दुई खेमामा विभाजित भएर सरकार र सडक कब्जा गरेर बसेका छन् भने प्रतिपक्ष के गरुन् त होइन ?

–प्रतिपक्ष दल नेपाली काँग्रेस पनि वैचारिक र एजेण्डाको हिसाबले विचलित भएको छ । कुनै कुरा स्पष्ट छैन, त्यसले गर्दा अन्योलमा रहेको छ । नेपाली काँग्रेसका एउटा खेमा प्रधानमन्त्री केपी शर्मा ओलीको विचारको वरिपरी घुमिरहेको छ भने अर्को खेमा पनि प्रष्ट रुपमा आएको छैन । २०६२÷०६३ को जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन, थारु आन्दोलन लगायतका अन्दोलन के को लागि भएको थियो । त्यसको जवाफ न संविधानसभाले दिन सक्यो, न प्रतिनिधिसभाले दिन सक्यो, नकुनै राजनीतिक दलले दिन सक्यो न कुनै नेताले दिन सके । यत्रो आन्दोलन हुँदा पनि त्यसको उद्देश्य प्राप्ति नहुनु, त्यो संस्थागत नहुनुले गर्दा आज देशमा यस्तो अवस्था आएको हो । यसको जिम्मेवारी सबै राजनीतिक दलले लिनुपर्छ । देशमा भएका बलिदान र योगदानको अवमूल्यन भएको छ । यो कुरा केपी ओलीको कदमबाट पुष्टि भयो । यो पार्टीभित्रको दुई नेताको लडाई होइन । यो वैचारिक लडाई हो, यो दिशानिर्देशको लडाई हो । व्यक्तिको प्रवृतिको लडाई हो । किनभने विगतमा भएका आन्दोलन तथा जनविद्रोहलाई मुर्त रुप नदिँदै हरेक कुरालाई सेटलमेन्ट गर्न खोज्दा यो परिणती आएको हो । जे कुरा पनि हतारमा गरिएको छ । जनविद्रोह, जनयुद्ध हुँदा हतारमा सम्झौता गरे, हतारमा संविधान निर्माण गरे, हतारमा पार्टी एकीकरण गरे । यी जति भएका छन् सबै हतारमा भएका छन् र आफ्नो स्वार्थका लागि गरेका छन् । त्यसैले आज देशको अवस्था यस्तो भएको हो । कसैलाई प्रधानमन्त्री बन्नु थियो, कसैलाई राष्ट्रपति बन्नु थियो त्यसका लागि देशको हितलाई पनि ख्याल गरेर । सबै काम अधुरा छाड्दै अगाडि बढ्नुको परिणाम आज नेपाली जनताले भोगिरहेका छन् ।

अहिले जुनखालको आन्दोलनहरु भइरहका छन् त्यो जनताको चाहना अनुसार भइरहेको छ त ?

–हो । जनताले जेका लागि बलिदानी दिए । सडकमा पसिना बगाए, रगत बगाएर परिवर्तन ल्याए । ती परिवर्तनमाथि नै कुठाराघात गर्ने काम भएको छ । त्यो परिवर्तनलाई उल्टाउने काम भइरहेको छ । अहिलेको वर्तमान सरकारले प्राप्त उपलब्धीलाई गुमाउने परस्थिति सृजना गरेको छ त्यही कारणले अहिले सडकमा जनता ओर्लिएका छन् । जनता संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीताको रक्षाका लागि सडकमा आएका हुन् । नयाँ ढंगको बहुअयामिक गृहयुद्धमा धकेल्ने काम रोकियोस् भनेर जनताले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई खबरदारी गरिरहेका छन् । खबरदारी गर्दै के भनिरहेका छन् भने, देशलाई पछाडी फर्काउने काम बन्द गरियोस् ।’

यो आन्दोलन संसद पुर्नस्थापनाका लागि हो कि चुनावका लागि हो जनता कन्फ्युजमा देखिएका छन्, नेकपा प्रचण्ड समूह चुनावबाट किन डराएका छन् त ?

–दुई पार्टी बीच एकीकरण भएर बनेको नेकपाले तल्लो तहसम्म एकीकरणलाई पूर्णता दिन सकेन । आन्तरिक रुपमा जोड घटाउमै समय विताए र अन्ततः पार्टी आज यो अवस्थामा आइपुगेको छ । काँग्रेस पार्टी पनि आफ्नो समस्यामा अल्झि राखेको छ । समाजवादी र राजपा नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी नेपालको अवस्था पनि उस्तै उस्तै छ । संविधानसभा गठन भएपछि पार्टीहरु गठन, विघटन तथा नयाँ निर्माण प्रकृयामा रहँदा जनतालाई डेलिभरी गर्ने कुरामा त्यही समस्या देखियो । आफै व्यवस्थित हुन नसक्नु, आफै निर्माणकै प्रकृयामा रहनु र त्यसले देशलाई बनाउने सपना देख्नु कता कता नमिलेको जस्तो देखिन्छ । यदि नेकपा पूर्णरुपमा समायोजन भइसकेको हुन्थे । सबैलाई समावेशी समानुपातिक ढंगले जिम्मेवारी दिइसकेको हुन्थे भने सायद यो अवस्था आउने थिएन । पार्टी एकीकरण त भयो तर त्यसलाई समयमा उचित व्यवस्थापन गर्न नसकेको कारण विस्फोट भयो । काँग्रेसमा पनि त्यही अवस्था छ । कुनै पनि विषयमा काँग्रेसले एउटा धारणा बनाउन सकेको छैन । आफैमा ती दलका नेताहरु अल्झिरहेका छन् । त्यही भएर प्रतिपक्षको भूमिका राम्रो गर्न सकेन । र, देशमा यस्तो अवस्था भयो । यो देशमा यस्तो अवस्थामा आउनुमा नेकपा जति दोषी छन् त्यति नै दोषी काँग्रेस पार्टी र जसपा नेपाल पनि छन् । अब यसको समाधानका लागि सबै पार्टी एक ठाउँमा आउनु आवश्यक छ । अहिलेको मुख्य काम संसद पुर्नस्थापना नै हो । पुर्नस्थापनाका लागि सबै दल एकजुट भएर सरकारलाई दवाव दिनुपर्छ । चुनाव सकेण्डरी कुरा हो । लोकतन्त्रमा चुनाव चाहिन्छ नै तर चुनावमा जानुभन्दा पहिले यो प्रतिगमन सच्चिनुपर्छ । जनताले पाँच वर्षका लागि म्याण्डेट दिएको थियो । त्यो म्याण्डेटलाई पुरा गर्नुपर्छ बिचैबाट छाडेर भाग्न पाइदैन । अहिलेको आन्दोलन संसद पुर्नस्थापनाका लागि नै हो र त्यसैको लागि हुनु नै पर्छ । नेकपा चुनावबाट डराएको छैन । चुनावका लागि तम्त्यार भएर बसेका छन् । तर त्यसअघि संसद पुर्नस्थापना हुनुपर्छ । प्रतिगमन सच्चिनुपर्छ ।

बरमझियाको कुन असली पेडा हो जस्तै कुन नेकपा असली भनि देखाउनका लागि अहिले होडवाडी चलेको छ तर निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा आली र प्रचण्ड अध्यक्ष रहेको पार्टी नेकपा हो भनिरहेको छ, यस सन्दर्भमा तपाईको भनाई के छ ?

–निर्वाचन आयोगमा माग गरेको कागजात पार्टी पुर्याएको छ । त्यसको आधारमा उसले बोल्ने हो तर आयोगले अर्कै–अर्कै भाषा बोलिरहेको छ । आयोगको चाला ठिक छैन । आयोगको नियम कानुन के भन्दो रहेछ कसलाई चिन्दो रहेछ ? आयोगले महासचिवलाई होइन, अध्यक्षलाई होइन, अन्य पदाधिकारीलाई होइन केन्द्रीय समितिलाई हो चिन्नुपर्ने हो । नेकपाका अध्यक्ष प्रचण्ड र तत्कालिन अध्यक्ष केपी शर्मा ओलीलाई कसले निर्वाचित गरेको हो ? ४२१ जनाको केन्द्रीय समितिले चिनाएको हो । माओवादी र एमाले दुईटै विघटन भइसकेर नेकपा बनेको हो । नयाँ पार्टीको जन्म भयो त्यसको केन्द्रीय समितिले कमरेड ओली र कमरेड प्रचण्डलाई अध्यक्षमा चयन गरेको हो । अन्य पदाधिकारी पनि केन्द्रीय समितिले चयन गरेको हो । अर्थात जसले चयन गर्यो त्यसले हटाउने र राख्ने तागत राख्दछ । आयोगले नेकपाको केन्द्रीय समितिलाई चिन्ने हो कि केपी ओलीको अहंकारलाई चिन्ने हो । आयोगले स्पष्ट गर्नुपर्छ ।

यसको मतलब नेकपाका लागि निर्वाचन आयोग निष्पक्ष छैन, होइन ?

–निर्वाचन आयोगमाथि शंका उठिरहेको छ । निष्पक्षतामाथि प्रश्न उठिरहेको छ । यसबाट के देखिन्छ भने सवैधानिक निकायहरु संकिर्णताबाट मुक्त छैन, ती निकायहरुले पनि पूर्वाग्रही ढंगबाट काम गरिरहेका छन् भने कुराको पुष्टि भएको छ । ती संवैधानिक निकायहरु नियम कानुनलाई टेकेर काम गर्ने हो कि नेताका अनुहार हेरेर काम गर्ने हो त्यो पनि प्रश्न उठेको छ । इतिहासको यो चुनौतीपूर्ण घडीमा उनीहरुमाथि पनि प्रश्न खडा भएको छ ।

त्यसो भए निर्वाचन आयोगले गर्ने निर्णय नेकपा (प्रचण्ड–माधव समूह) ले मान्छ कि मान्दैन । ?

–नेकपाले यो देशको संविधानलाई मानेको छ, यो देशको कानुनलाई मानेको छ । आयोगले पनि नियम, कानुन र विधिभित्र रहेर गर्ने निर्णयलाई अवश्य मान्छ, त्यसमा कुनै शंका छैन तर नियम कानुन मिचेर कसैको अनुहार हेरेर वा दवावमा परेर यदि निर्णय गर्छ भने त्यसलाई कदापी स्वीकार गरिदैन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको जस्तो हुकुमी शैली चल्दैछ त्यो हुकुमी शैलीले आयोगहरु चल्न सक्दैन । आयोगहरु स्वतन्त्र हुन्छ । उ संविधानको दायराभित्र रहेर काम गर्नुपर्छ । यद्यपी आयोगले नीति, नियम कानुनको दायरामा नै रहेर निर्णय गर्छ भन्ने कुरामा हामीलाई विश्वास छ ।

देशका राष्ट्रपति सेरोमोनियल भएपछि त प्रधानमन्त्रीले गर्ने सिफारिसको आधारमा काम गर्न पाइन्छ नि यसमा राष्ट्रपतिको के दोष हो त ?

–नेकपाले विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाएको हो, यसको मतलब उसले राजनीति नै गर्नुपर्छ भने होइन । उहाँ देशको अभिभावक हुनुहुन्छ । कुनै पनि अभिभावकले आफ्ना सन्तान वा परिवारका सदस्यलाई भेदभाव गर्न पाइदैनन् तर हाम्रो राष्ट्रपति भण्डारी त्यस्तो हुनुहुन्न । उहाँ राष्ट्रपतिको कुर्सीमा बसेर राजनीतिक गरिरहनु भएको छ । कहिले प्रधानमन्त्री ओलीलाई बोलाएर कुरा गर्नुहुन्छ त कहिले बामदेव गौतमलाई बोलाएर कुरा गर्नुहुन्छ । कहिले अन्य कमरेडलाई बोलाएर कुरा गर्नुहुन्छ । राष्ट्रपति कार्यालय कुनै पार्टीको मुख्यलय होइन, त्यो देशको सम्मानित संस्था हो । त्यहाँ देश बोल्नुपर्छ, कुनै पार्टी बोल्नु हुँदैन, कुनै व्यक्ति बोल्नु हुँदैन । तर उहाँले नेकपाभित्र राजनीतिक गरिरहनु भएको छ । पार्टीको गुटलाई प्रोत्साहित गर्ने काम उहाँले गरिरहनु भएको छ । लडाउने काम गरिरहनु भएको छ । देशलाई डुवाउने खेलमा लाग्नुभएको छ । प्रतिगमनतर्फ देशलाई धकेल्नु भएको छ ।

तपाई आफै भन्नुभयो राष्ट्रपति एउटा सम्मानित संस्था हो त्यसको सम्मान गर्नुपर्छ तर तपाईकै दलका नेताहरुले त्यो संस्थालाई गाली गर्ने, अपमान गर्ने काम गरिरहनु भएको छ के त्यो गर्न मिल्छ ?

–राष्ट्रपति भन्ने पद सम्मानित पद हो । सम्मानित संस्था हो म अहिले पनि भन्छु । तर त्यसको दुरुपयोग कुनै व्यक्तिले गरिरहेका छन् । हामीले संस्थाको विरोध गरेको होइन, पदको विरोध गरेको होइन, व्यक्तिको विरोध गरेका हौं । त्यहाँ रहनु भएको विद्यादेवी भण्डारीमाथि हामी प्रश्न उठाउन पाउँछौं ।

तपाईको प्रतिक्रिया