Khadya Bibhag

मधेशी–थारुको माग सम्बोधन नगरे मधेशी सभासद संविधानसभा छोड्ने चेतावनी

काठमाडौं, २४ भदौ । प्रमुख तीन दलका मधेसी–थारू सभासद्ले आन्दोलनकारीको माग वार्ताबाट समाधान नगरे संविधानसभा छोड्न सक्ने चेतावनी दिएका छन् । तराई मधेसमा आन्दोलनरत पक्षसँग तत्काल वार्तामा बस्न आफ्ना पार्टीका शीर्ष नेतालाई सभासद्हरूले दबाब दिएका हुन् । मधेसी–थारू समुदायको आन्दोलनलाई पेलेर अघि बढ्न खोजे आफूहरू पनि संविधानसभाबाट बाहिरिन बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् । आन्दोलन चर्कंदै जाने, तर वार्ताबाट समस्याको समाधान नखोज्ने अवस्था आए अन्तिममा बाहिरिने मनसाय मधेसका सभासद्ले बनाएका छन् ।    कांग्रेस र एमाओवादीका मधेसका सभासद्ले हस्ताक्षरसहित पार्टी नेतृत्वको ध्यानाकर्षण गराइसकेका छन् ।
एमालेका नेता रघुवीर महासेठ नेतृत्वको टोलीले केही दिनअघि पार्टी अध्यक्षलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । कांग्रेसका सभासद् अमरेशकुमार सिंहले सकेसम्म आन्दोलनकारीलाई पनि संविधानसभामा ल्याउने बताए । ‘सरकार र तीन दलले तत्काल आन्दोलन गरिरहेका समुदायको माग सम्बोधन गरोस,’ ‘बुधबार संविधानसभाबाट बाहिरिँदै उनले भने, ‘माग सम्बोधन नगर्ने हो भने मधेसमा जनता गोली खाएर मरिरहेका छन, हामी संविधानसभामा बसिरहन सक्दैनौँ ।’
बुधबार संविधानसभा भवनमा छुट्टै भेला भएका कांग्रेसका थारू–मधेसी १८ सभासद्ले साँझ प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएका हुन् । एकीकृत माओवादीका तराई–मधेसका २५ सभासद्ले बुधबार अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाए । तत्काल संविधानसभाबाट थारू र मधेसी समुदायका अधिकार समेटिएको संविधान जारी गर्न नेतृत्वलाई ध्यानाकर्षण गराएको उनीहरूको भनाइ छ । केही दिनभित्रै माग सम्बोधन नभए अर्को निर्णय गर्न बाध्य हुने सभासद् प्रभु साहले बताए । मधेसमा माग पूरा नगरीकन संविधान जारी गर्न खोजे संविधानसभाबाट बाहिरिने संकेत उनको थियो ।
प्रमुख तीन पार्टीका झन्डै ६० सभासद् आन्दोलनकारीका माग वार्ताबाट समाधान गरेर अघि बढ्नुपर्ने पक्षमा उभिएको छ । यसअघि संघीय समाजवादी फोरमका १५, फोरम लोकतान्त्रिकका १४, तमलोपाका ११, सद्भावनाका ६ सभासद्ले संविधानसभा छाडिसकेका छन् । मधेस समाजवादीका तीन, तराई–मधेस सद्भावनाका तीन, थरुहट तराई पार्टीका दुई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, फोरम गणतान्त्रिक, संघीय सद्भावनाका एक–एक गरी ५७ र स्वतन्त्र सभासद् झन्द्रेश्वर झा पनि संविधानसभाको जारी प्रक्रियाबाट बाहिरिएका छन् । राप्रपा नेपालका २५ सभासद्ले पनि संविधानसभाको जारी सबै प्रक्रियाबाट बाहिरिने निर्णय गरेको छ ।
प्रमुख तीन पार्टीका झन्डै ६० सभासद् आन्दोलनकारीका माग वार्ताबाट समाधान गरेर अघि नगए भने संविधानसभा छोड्ने चेतावनी दएको छन् ।

तपाईको प्रतिक्रिया