बन्दको विकल्प दिन मधेशी मोर्चालाई आग्रह

फाइल फोटो

काठमाडौ, भदौ २३ गते । तराईका जिल्लाहरूमा गरिएको लगातारको बन्दले देशको आर्थिक अवस्था ओरालो लाग्दै गएको भन्दै निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायतका दलहरूलाई बन्दको विकल्प दिन आग्रह गरेको छ ।

महासङ्घले आन्दोलनमा बन्दको विकल्प खोज्न र बन्द खुलाउन माग गर्दै आन्दोलनरत सयुक्त मधेसी मोर्चाका शीर्ष नेतालाई आज भैरहवामा ज्ञापनपत्र बुझाएको छ ।

महासघङ्का अध्यक्ष पशुपति मुरारकासहितको टोलीले मोर्चाको घटक तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झालाई संयुक्तरुपमा र सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अलग्गै भेटी आफ्ना पाँचबुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा आम नेपालीको भावनालाई समेटी जतिसक्दो छिटो नयाँ सविधान घोषणा गर्ने महान् कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ । यस्तै, पेसा व्यवसाय गरी बाँच्न पाउने न्यूनतम मानवअधिकारको प्रत्याभूति हुनुपर्ने माग गरिएको छ ।

महासङ्घले राखेका मागहरुप्रति आफूहरू गम्भीर रहेको र जारी आन्दोलन राज्यसँगको अधिकारको लडाइँ भएकाले यसको समाधान राजनीतिक तवरले नै निकाल्नुपर्नेमा ती नेताहरुले जोड दिएका थिए ।

ज्ञापनपत्र बुझ्दै सद्भावनाका अध्यक्ष महतोले राजनीतिक समाधान बिना बन्द हडताल फिर्ता हुन नसक्ने बताउनुभयो । उहाँले सरकार वार्ताका लागि गम्भीर नदेखिएकाले निजी क्षेत्रले पनि समस्या समाधानका लागि सरकारलाई दबाब दिन आग्रह गर्नुभयो ।

महास्ङ्घका अध्यक्ष मुरारकाले लगातारको बन्दले निजी क्षेत्रले अर्बौको घाटा सहनुपरेको भन्दै सबै पक्ष गम्भीर हुन आग्रह गर्नुभएको थियो । उहाँले लामो समयसम्मको बन्दका कारण भारतलगायत तेस्रो मुलुकबाट आयात गरिएका औद्योगिक कच्चा पदार्थ तथा अन्य सामान सीमानाकामै थन्किएको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया