Khadya Bibhag

आठ प्रदेश भए देशका समस्या समाधान हुन्छ, गच्छदार

इटहरी, भदौ २१ गते । मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले आठ प्रदेशको संघीय संरचना बनाए एकछिनमै कुरो मिल्ने बताएका छन् ।
उनले कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुले १६ बुँदे सहमति विपरित छ प्रदेशको खाका सार्बजनिक गरेका कारण देशमा रक्तपातको आन्दोलन सुरु भएको आरोप लगाएका छन् ।
सोमबार इटहरीमा थारु संर्घष समितिले गरेको आमसभामा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका गच्छदारले कांग्रेस, एमाले र एमाओवादीका कारण देशमा विषम परिस्थिति आएको आरोप लगाए ।
उनले प्रमुख तीन राजनैतिक दलले राजनैतिक स्वार्थ पूरा गर्न ६ प्रदेशको खाका ल्याएर जनतालाई आन्दोलनमा जान बाध्य पारेको पनि बताएका छन् । ‘कांग्रेस, एमाले र एमाओवादी ८ प्रदेशमा जान सहमत भए देशमा देखिएको समस्या समाधान हुन्छ’, उनले भने, ‘त्यसो भएमा असन्तुष्टलाई समेत सहमतिमा ल्याउन सकिन्छ ।’
उनले तीन राजनैतिक दलहरु सहमतिमा आएमा संविधानसभाबाटै संविधान जारी गरी सबै जातजाति र समुदायको हकअधिकार सुनिश्चित गर्न सकिने बताएका छन् । आठ प्रदेशको संघीय संरचना टुंग्याई बाँकी समस्या छलफल र सहमतिका आधारमा टुङ्ग्याउनु पर्ने पनि उनले सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया