काठमाडौं, भदौ १७ गते । श्री विन्ध्यवासिनी आध्यात्मिक संघ, सतुंगलको आयोजनामा भदौ १७ गतेदेखि श्री गणपति महायज्ञ शुभारम्भ भएको छ । सतुंगल स्थित श्री विन्ध्यवासिनी आध्यात्मिक संघको कार्यालय तथा नेपालीबाबाको आश्रम विन्ध्य परिसरमा शुरु गरिएको यस महायज्ञमा जगदाचार्य नेपालीबाबाबाट संकल्प गरिएको १६ करोड श्री गणेश जप, परिक्रमा दैनिक पुजा पाठ सञ्चालन गरिने श्री विन्ध्यवासिनी आध्यात्मिक संघका अध्यक्ष केशवप्रसाद चौलागाईंले बताउनुभयो ।
श्री विन्ध्यवासिनी आध्यात्मिक संघको ११ औं साधारण सभाको अवसरमा आयोजना गरिएको उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री परिषदका अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले धर्म, संस्कृतिको संरक्षणमा सबैले जुटनुपर्ने बेला आएकोले यस्तो अनुष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । विन्ध्यवासिनीको कामना गर्दै आयोजित महायज्ञ समग्र राष्ट्रको हित हुने वताउँदै उहाँले कार्यक्रमा सफलताको कामना गर्नुभयो ।
संरक्षक जगदाचार्य नेपालीबाबाले धर्म रक्षा र विश्व कल्याणार्थ आयोजित गणपति महायज्ञ समग्र विश्व र लोक कल्याणमा समर्पित महायज्ञ भएकाले सबैलाई महायज्ञमा जुट्न आग्रह गर्नुभयो । संघका अध्यक्ष केशव प्रसाद चौलागाईले बैदिक सनातन धर्मको रक्षाका लागि एकत्रित हुनुपर्ने समयमा यस महायज्ञले महत्व राख्ने हुँदा सवैमा एकताबद्ध हुन र धर्म रक्षामा लाग्न आग्रह गर्नुभयो ।



तपाईको प्रतिक्रिया