पशुपतिको मेलामा पाकेटमारी पनि हुन्छन् तर के मेलामा आएका सबै पाकेटमार हुन त
काठमाडौ, भदौ ८ गते । थरुहट÷थारुवान संयूक्त संघर्ष समितिले आफूहरु वार्ता विरोधी नभएको स्पष्ट पार्दै सरकारले लिखित रुपमा आग्रह गरे आफूहरुले त्यस विषयलाई गंभिरतापूर्वक सोच्ने बताएको छ ।
समितिले आज साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक धनिराम चौधरीले वार्ता गर्ने हो भने त्यसका लागि वातावरण निर्माण गर्नु पर्ने भन्दै झुठा मुद्दा खारेजी, क्षतिको पूर्ति, मृतकलाई सहिद घोषण गर्ने प्रतिवद्धता व्यक्त गरे वार्ता हुन सक्ने बताए ।
उनले आफूहरु छिटो वार्ता होस् र सहि समयमा संविधान जारी होस् भन्ने पक्षमा रहेको पनि स्पष्ट पारे । टिकापुरमा भएको घटनालाई निन्दनीय र दुखद भन्दै उनले शान्तिपूर्ण आन्दोलनमा असहज अवस्था सृजना गरेर राज्यले हिंसा गराएको दावी गरे ।
चौधरीले भने–राज्यले दमन गरेर हाम्रो माग ओझेलमा पार्ने षडयन्त्र गरिरहेको छ । सामाजिक सद्भाव विगार्ने काम राज्यले नगरोस् । भोली गलत परिस्थीति आए त्यसको जिम्मोरी राज्यले लिनु पर्छ ।
उनले कफ्र्यू लागेको अवस्थामा केही झुण्डहरुले आगजनी गरेको घटनाले समेत राज्यले हिंसा गराउन खोजेको पुष्टि भएको दावी गर्दै पूर्व नियोजित रुपमा घटना घटाईएको बताए ।
पत्रकार सम्मेलनमा संयोजक चौधरीले पूर्व घोषित १६ गतेसम्मको आम हड्ताललाई निरन्तरता दिदै भदौ १२ गते थारुहट क्षेत्रमा विरोधसभा गर्ने र मसाल जुलुस गर्दै पहिचान विरोधीहरुको पुत्ला दहन गर्ने रहेको कार्यक्रम घोषणा गरेको छ ।
सभासद जनकराज चौधरीले मुनवा र टिकापुरको बिचमा शान्तिपूर्ण दमन भएपछि हिसात्मक घटना भएको भन्दै कफ्र्यू लगाएको बिचमा थारुहरुको घरमा आगजनी हुनुले पनि सरकार हिंसा मच्चाउन उद्यत रहेको दावी गरे ।
उनले भने–स्वयम राज्यले नै आतंक मच्याउन खोज्दैछ । राज्यले नै छानिछानी आगो लगाउने काम गरेको छ । राज्यले सहयोग गरिरहेका झुण्डहरुको जुलुस निस्कनुले राज्यको नियत प्रष्ट भएको छ ।
सभासद सुरेन्द्र चौधरीले मृत्यू कहिल्यै पनि प्रसंसनीय नहुने भएकोले घटनाको निन्दा गर्दै आन्दोलनमा घुसपैठ भएको दावी गरे । उनले भने–पशुपतिमा मेला लाग्दा भक्त, साधु सन्त र पाकेटमारहरु पनि जान्छन् । सबैलाई पाकेटमार भन्न मिल्दैन । आन्दोलनमा घुसपैठ भएको छ । त्यसलाई लिएर आन्दोलनको बदनाम गरिदै छ । परिचय पत्र बाँडेर आन्दोलन हुँदैन ।
उनले संसदीय समिति गठन गरेर घटनाको छानविन गर्न माग गरे । उनले राजनीतिक सिण्डिकेटका कारण मुलुक द्धन्दमा गएको दावीगर्दै आफूले पहिला नै स्वीकार गरिसकेको मागमा अहिले दमन गरिरहेको बताए । चौधरीले दमन समाधानको बाटो नभएको भन्दै दमनले आन्दोलन अझै मेची महाकाली पुग्छ ।
सभासद रुक्मिणी चौधरीले संविधान दिएको अधिकारको आधारमा आफूहरुले अहिंसात्मक आन्दोलन गरिरहेको भन्दै राज्यले नै घुसपैठ गरेर टिकापुरको दुखद घट्ना गराएको दावी गरे ।



तपाईको प्रतिक्रिया