Khadya Bibhag

मोदी र कोइरालाबीच फोनवार्तापछि रे गृहमन्त्रालयमा

काठमाडौँ, भदौ ८ गते । प्रधानमन्त्री सुशील कोइरालालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज टेलिफोन गरेर सोमबार कैलालीको टीकापुरमा भएको हिंसाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएका परिवार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

नेपालको राजनीतिक एवम् सामाजिक अस्थिरताप्रति गम्भीर चिन्ता र चासो व्यक्त गर्दै प्रधानमन्त्री मोदीले हालैको भूकम्पले दिएको दुःख पीडालाई त्यसले अझ बढाउने बताउनुभयो ।

संयमता अपनाउनुपर्ने तथा शान्ति, सुव्यवस्था पुनःस्थापना गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकार, सबै राजनीतिक दल र नेपाली जनतालाई हिंसा त्यागेर सामाजिक सद्भाव कायम गर्न अपिल गर्नुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

शान्तिप्रक्रिया र संविधान लेखनमा नेपालले हासिल गरेको ऐतिहासिक प्रगतिको सराहना गर्दै भारतका प्रधानमन्त्रीले वार्ताको माध्यमबाट सबै प्रमुख मुद्दा मिलाउन आग्रह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । “विश्वासको वातावरण सुदृढ तुल्याउन तथा सुनिश्चितता कायम गर्न जनतासहित समाजका सबै वर्गसँगको विस्तृत परामर्शको प्रक्रियाबाट मूल विषय निरुपणको सन्देश प्रधानमन्त्रीले दोहो¥याउनुभयो” अनेकतामा एकतायुक्त विविधतापूर्ण समाजयुक्त शान्त, स्थिर र समृद्ध नेपाल निर्माणको जनचाहना प्रतिबिम्बित हुने निष्कर्षमा पुग्न आग्रह गर्नुभएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ।
यसैबीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले तराईका जिल्लामा भइरहेको आन्दोलनमा भारतीय सीमा क्षेत्रबाट घुसपैठ नहोस् भन्नेबारेमा नेपालका लागि भारतीय राजदूत रणजीत रायलाई ध्यानाकर्षण गराउनुभएको छ ।

आज गृहमन्त्रालयमा पुग्नुभएका राजदूत रायलाई गृहमन्त्री गौतमले नेपाल र भारतबीच खुला सीमाको फाइदा उठाउँदै तराईमा अवाञ्छित तत्वले खेल्न नपाओस् भन्नेमा दुवै मुलुक सचेत हुनुपर्ने बताउनुभएको थियो ।

गृहका अधिकारीहरुसहित भएको भेटमा पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो ।

कैलाली, सर्लाहीलगायतका जिल्लामा सुरक्षाकर्मी र आन्दोलनकारीबीच लगातार झडप भइरहेको स्थितिबारे सोमबार संसद्मा जानकारी दिँदै गृहमन्त्री गौतमले सीमाक्षेत्रबाट आन्दोलनकारीको घुसपैठ भएको सङ्केत गर्नुभएको थियो ।

आजको भेटमा राजदूत रायले पछिल्लो समयमा तराईमा भएको मुठभेडका घटनाबाट भारत दुःखी रहेको जानकारी दिँदै आफ्नो सीमा क्षेत्रलाई दुरुपयोग हुन नदिने बताउनुभयो ।

प्रधानमन्त्री मोदीले छिमेकीका नाताले नेपालको सुरक्षाका निम्ति भारतले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुका साथै भारतको एक मात्र चाहना शान्त, सुरक्षित, स्थिर, लोकतान्त्रिक एवम् समृद्ध नेपाल हेर्न चाहेको प्रधानमन्त्री कोइरालालाई बताउनुभएको विज्ञप्तिमा जनाइएको छ ।

विविधतायुक्त नेपाली समाजको सामथ्र्य, विशाल स्रोत र असाधारण प्रतिभा एवम् क्षमता भएको नेपाललाई नेपाली जनताका प्राथमिकता र चाहनाअनुसार सबै प्रकारका सहयोग भारतले निरन्तर उपलब्ध गराउने प्रतिबद्धता प्रधानमन्त्री कोइरालासमक्ष प्रधानमन्त्री मोदीले व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया