Khadya Bibhag

शान्तिपूर्ण ढङ्गले आन्दोलन गर्ने प्रतिबद्धता

चितवन, भदौ ८ गते । चितवनका राजनीतिक दल, आदिवासी जनजाति महासङ्घ र थारू कल्याणकारिणी सभाले आफ्नो आन्दोलन शान्तिपूर्ण ढङ्गले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनीहरुले आपसी सद्भाव खल्बलिन नदिने समेत जनाएका छन् । कैलाली घटनाको भोलिपल्ट आज यहाँ प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले डाक्नुभएको सर्वदलीय र सर्वपक्षीय भेलामा उनीहरुले यस्तो बताएका हुन् । बन्द आह्वानकर्ताले स्थानीय प्रशासनसँग समन्वय गरी कार्यक्रमको आयोजना गर्ने र सो क्रममा प्रहरी प्रशासनले पनि संयमता अपनाई शान्तिपूर्ण आन्दोलनलाई हस्तक्षेप नगर्ने विषयमा समझदारी बनेको छ ।

थारू कल्याणकारिणी सभा चितवनका सभापति विश्राम महतो, सल्लाहकार टिकेन्द्र चौधरी र ललित चौधरीले आफ्ना आन्दोलन शान्तिपूर्ण हुने र जिल्लामा सद्भाव भड्कन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आदिवासी जनजाति महासङ्घ चितवनका अध्यक्ष पदम गुरुङले आ–आफ्नो माग पूरा गर्न गरिने आन्दोलन शान्तिपूर्ण हुनुपर्नेमा आफ्नो सङ्गठन रहेको भन्दै उहाँले स्थानीय प्रशासनले पनि संयमता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ, नेकपा ९एमाले० चितवनका अध्यक्ष जेएन थपलिया, एकीकृत नेकपा ९माओवादी०का नेता घनश्याम दाहाल, राप्रपा नेपालका अध्यक्ष बद्री तिमिल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रामहरि कँडेल, नेकपा–माओवादी नेता घननाथ सापकोटा, नेकपा ९माओवादी०का नेता दुर्गा सुवेदी, नेकपा ९माले० चितवनका सचिव पर्शुराम लामिछाने लगायतले बन्द–हडताल शान्तिपूर्ण ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

भेलामा चितवनका प्रमुख जिल्ला अधिकारी सिंहले बन्द–हडताल हिंसात्मक हुन नदिन संयमता अपनाएर समन्वय गरी काम गर्न आग्रह गर्नुभएको थियो । सो अवसरमा सुरक्षा निकायका प्रमुख, मानवअधिकारकर्मी, पत्रकार लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया