Khadya Bibhag

चिनियाँ कम्यूनिष्ट टोली नेपालमा

काठमाडौँ, भदौ ६ गते । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग सहायक मन्त्री दोउ इन्योङ नेपाल भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ ।

भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सहायक मन्त्री दोउ इन्योङले चीन र नेपाल निकटका सम्बन्ध भएका छिमेकी मुलुक भएको बताउँदै दुवै मुुलुकबीच ६० वर्षदेखि द्विपक्षीय सहयोग र सु–सम्बन्ध कायम रहेको बताउनुभयो ।

हालैको भूकम्पबाट पीडित नेपाली जनताप्रति सहानुभूति व्यक्त गर्दै उहाँले नेपालका सबै निकायले अन्तर्राष्ट्रिय समुदायसँगको प्रयत्नमा चुनौतीको सामना गर्ने र पुनःनिर्माण सम्भव हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भूकम्पपछिको पुनःनिर्माणका लागि चीनले मात्र कुल ४।७ विलियन चिनियाँ रुपैयाँ (आरएमबी) सहयोगको घोषणा गरेको जानकारी गराउँदै उक्त सहयोगले पनि नेपाली जनताप्रति चिनियाँ जनताको निकट सम्बन्धलाई प्रस्ट्याएको बताउनुभयो ।

सहायक मन्त्री दोउले चिनियाँ कम्युनिष्ट पार्टीको नेपालका राजनीतिक दलसँग निकट सम्बन्ध बढेको बताउँदै आफ्नो नेपाल भ्रमणका दौरानमा नेपालका प्रमुख दलका नेतासँग भेटघाट हुने जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया