राजविराज, भदौ ६ । मैथिली तथा भोजपुरी सिनेमाकी चर्चित नायिक डोली सरकारले आफ्नो २४ औं जन्मदिन बालकल्याण गृहका अनाथ बालबालिकाहरुसँग हिजो मनाएकी छिन् ।
पच्चीसौं वर्षमा प्रवेश गरेकी डोलीले बिना तडकभडक विगतका वर्षहरु झैं उनले अनाथ बालबालिकाहरुका बीच नाचगान गर्दै बर्थ–डे केक समेत काटेर मनाएकी हुन् । बाल कल्याण गृहमा आयोजित कार्यक्रमका बीच उनले बालबालिका देशको भाग्य र भविष्य लेख्ने भएकोले शान्तिपूर्ण वातावरणमा पठन–पाठन गर्न पाउनु नैसर्गिक अधिकार भएकोले बन्द, हडताल तथा आन्दोलनबाट टाढा राख्नुपर्ने बताइन् ।
विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाउने गरेको बताउँदै उनले भनिन्– देशमा मार्ने र मर्ने क्रम रोकेर वार्ता तथा सहमतिबाटै समाधान खोज्नुपर्दछ किनभने कोही अभिभावक गुमाउँदा बालबालिका अभिभावक विहिन बन्नुपर्ने बाध्यता सिर्जना हुन्छ । आमाबुवा बिहिन बालबालिकाहरुलाई समाजले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले आफूले वर्षमा एक दिन भएपनि बालबालिकाहरुका लागि समय दिएर रमाइलो गर्ने गरेको बताइन् ।
आ–आफ्नै ढङ्गले जन्मदिन मनाउने गर्छन् तर मलाई अनाथ बालबालिकाहरुसँग जन्मदिन मनाउँदा अति खुशी हुन्छु– उनले भनिन्–बन्द हडतालले गर्दा यसपाली बालबालिकाहरुसँग रमाइलो गर्न पाउँछु कि पाउँदिन भन्ने लागिरहेको थियो तर रामै्र रह्यो । बालबालिका तथा अशक्त तथा ज्येष्ठ नागरिकका लागि भविष्यमा केही गर्ने सोच रहेको उनले बताइन् । नायिका डोलीले बालबालिका तथा ज्येष्ठ नागरिक समेत समाजकै अंग भएकोले समाज तथा राष्ट्रले विशेष महत्वका साथ संरक्षण गर्नुपर्नेमा उनले जोड दिइन् ।
वर्षा नरोकिएपछि कार्यक्रममा भिजेरै कार्यक्रम स्थल पुगेकी उनले खुशी हुँदै बालबालिकाहरुसँगै नाचगान गर्दै रमाइलो गरिन् । उनले केक काटेर बालकल्याण गृहमा रहेका बालबालिकाहरुलाई आफ्नै हातले खुवाइन् । आफैले पस्केर डोलीले उनीहरुलाई खुवाइन् ।
कार्यक्रममा राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङ्गले डोलीले बालकल्याण गृहमा जन्मदिन दिन मनाउनु समाजकै लागि प्रेरणादायी भएको बताए । नगरमा हुने विभिन्न समाजिक गतिविधिहरुमा सक्रियता देखाएर सहयोग गर्न उनले आग्रह गर्दै जन्मदिनको शुभकामना समेत दिए ।
कार्यक्रममा सेनानी बिमल थापा, बालकल्याण गृहका प्रमुख नेत्र प्रसाद खतिवडा, राष्ट्रिय मधेश समाजवादी पार्टीका युवा नेता सतिश सिंह, मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, युवा पत्रकार शुभनारायण यादव, बाल अधिकार अभियन्ता दिवाकर साह, गायिका अञ्जु यादव समेतले नायिका सरकारलाई शुभकामना दिएका थिए ।




तपाईको प्रतिक्रिया