Khadya Bibhag

बन्द अवज्ञा गरेको भन्दै आन्दोलनकारीद्धारा गाडीमा आगजानी

फाइल फोटो

सप्तरी, भदौ ५ गते । सीमाङ्कनको विरोधमा उत्रिएका संयुक्त मधेसी मोर्चाले बन्द अवज्ञा गरेको भन्दै सप्तरीका छुट्टाछुट्टै ठाउँमा मोर्चाका कार्यकर्ताले आज बिहान दुई वटा ट्रकमा आगजनी गरेका छन् ।

विराटनगरबाट तरकारी लिएर काठमाडौँतर्फ जाँदै गरेको को१ख ३३८९ नंको मालबाहक ट्रकमा बन्दकर्ताहरुले सप्तरीको भारदह–१ स्थित कोसी ब्यारेज सडकखण्डमा आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट ट्रक पूर्ण रुपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

यस्तै आजै बिहान सप्तरीको पोर्ताहास्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना३ख ७३०० नंको मालबाहक ट्रकमा समेत मोर्चाका कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै आगजनी गरेका हुन् ।

त्यस्तै प्रहरीले सुरक्षा दिएर लैजाँदै गरेको ना३ख ४२६६ नंको बसमा बन्दकर्ताले ढुङ्गामुढा गर्दा बस एक्कासि अनियन्त्रित भई पल्टेको बताइएको छ । प्रहरीले भने ढुङ्गामुढाले नभई बस आफैँ मोडमा पल्टेको जनाएको छ । सो बसमा सवार १४ जना यात्रु घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय स्वास्थ्य क्लिनिकमा र गम्भीर घाइते भएकाहरुलाई विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

मोर्चाले आह्वान गरेको बन्दबाट दिनप्रतिदिन सप्तरीको जनजीवन प्रभावित हुँदै गइरहेको छ । सप्तरीको सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न दिइएका छैन् भने राजमार्गअन्तर्गतको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतका ठाउँमा ढुङ्गा तेस्र्याएर सडक अवरुद्ध पारेका छन् ।

तपाईको प्रतिक्रिया