काठमाडौ, ३ भदौ । संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको आब्हानमा जारी मधेस आन्दोलनमा सबै राजनीतिक पार्टी आबद्ध मुस्लिम संगठनहरुको संयूक्त मोर्चा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले सक्रिय एक्यबद्धता जनाउने भएको छ ।
दुई मोर्चाले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समानुपातिक समावेशिता, राष्ट्रिय मुस्लिम आयोग, मुस्लिमहरुको विशेष अधिकार र धर्मनिरपेक्षता लगायतका मुद्दामा सहमति सहित आन्दोलनमा सक्रिय ऐक्यबद्धता जनाउने सहमति भएको जानकारी दिए । सहमति पत्रमा गठबन्धनका संयोजक शमिम अन्सारी र मोर्चाका तर्फबाट महेन्द्र राय यादवले हस्ताक्षर गरेका छन ।
कार्यक्रममा बोल्दै तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आफूहरुको आन्दोलन विखण्डनकोलागि नभई नेपालको अखण्डताको लागि भएको दावी गर्दैै सत्तापक्षले दमनको बाटोबाट मुलुकलाई गृहयूद्धतर्फ धकेल्ने षडयन्त्र गरिरहेको आरोप लगाए ।
उनले विगतका आन्दोलन सहिद भएकाका परिवारको अवस्था दयनीय देखेर आफूहरुले ५० लाख रुपैया दिने निर्णय गरेको भन्दै यो रकम सम्बन्धीत प्रदेश निर्माण भएपछि उपलब्ध गराउने बताए ।
विगतमा राज्यसत्ताले मुस्लिम र मधेसीलाई विभाजन गरेको तर अहिले दुई मधेसी शक्ती एक भएकोले आन्दोलन सफल हुने दावी गर्दै सफल नभएसम्म आन्दोलन नटुङगिने ठोकुवागरे ।
उनले आन्दोलनको क्रममा पत्रकार ऋषि धमलाको सवारी साधनमाथि भएको आक्रमणप्रति दुख ब्यक्त गर्दै सरकारले त्यसको उचित क्षतिपूर्ति दिनु पर्ने धारणा राखे ।
सदभावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्णले मधेसमा बस्ने सबै समूदाय दाजु भाईभएको भन्दै मुस्लिम र मधेसी मिलेर गर्ने आन्दोलन निष्कर्समा पुग्ने विश्वास ब्यक्त गरे । उनले दावी गर्दै भने–यो आन्दोलन लामो जाँदैन । छिट्टै निष्कर्समा पुग्छ । राज्यले कहिल्यै पनि जनताको आन्दोलनमाथि विजय प्राप्त गर्न सक्दैन ।
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले बिभेद भएको ठाँउमा विद्रोह हुने र त्यस विद्रोहलाई दमन गर्न खोजे मुलुक विखण्डन तिर जाने चेतावनी दिए ।
उनले भोली कुनै पनि प्रदेश एकीकृत नहोस भन्ने योजनामा सीमांकन गरिएको भन्दै मधेसीहरुले कहिल्यै पनि पहाड नमागेको स्पष्ट पारे ।
उनले मधेसीमो अधिकारलाई संविधानमा सुनिश्चित गराई छाड्ने दृढता ब्यक्त गरे ।
संघीय समाजवादी फोरम नेपालका नेता एवम पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीले उनले आफूहरुको आन्दोलन जनतालाई अधिकारविहीन राख्ने मस्यौदा विरुद्धको आन्दोलन भएको भन्दै धर्म निरपेक्षता, पहिचान, समानुपातिक समावेशीता र मधेस प्रदेशको मागमा एक भएर संयूक्त आन्दोलन गर्न तयार भएको स्पष्ट पारे ।
उनले जनताको करबाट किनेको बन्दुक र गोली जनतालाई हान्न नभई राष्ट्रको सुरक्षाको लागि भएको भन्दै यस्तै दमन राखे गृहमन्त्री बामदेब गौतमको हालत राजाको भन्दा पनि बत्तर हुने चेतावनी दिए ।
उनले मस्यौदा अन्तरिम संविधान भन्दा पनि पछाडी फर्किएकोले आन्दोलन गर्न बाध्य भएको भन्दै आन्दोलनमा सहिद हुनेको परिवालाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
मुस्लिम गठबन्धनका संयोजक समिम अन्सारीले विगतमा भएका सहमतिलाई राज्यले बेवास्ता गरेकोले आफूहरु मधेसी मोर्चासँग जान बाध्य भएको भन्दै विगतमा मधेसीले मुस्लिमलाई अधिकार दिन चाहेन भन्थे अब बाधक को रहेछ भन्ने स्पष्ट भएको बताए ।
उनले दमनका विरुद्ध शसक्त रुपमा उभिने भन्दै अधिकार नपाएसम्म आन्दोलनलाई निरन्तरता दिने घोषणा गरे ।
तमलोपाका उपाध्यक्ष गोविन्द चौधरीले सम्झौता विपरित मस्यौदा जारी भएकोले मुलुक आन्दोलित भएको भन्दै सहिद परिवारलाई उच्च सम्मान दिन पनि आफूहरुले रकमको घोषणा गरेको स्पष्ट पारे । उनले सो रकम प्रान्तिय सरकारले दिने समेत स्पष्टपारे ।
मुस्लिम ईत्तेहात संघका अधयक्ष नजरुल हसन फलाहीले अलग अलग आन्दोलन गर्दा अधिकार नपाउने देखेर आफूहरु मिलेर आन्दोलनमा जान बाध्य भएको भन्दै हाम्रो र राम्रो संविधान बनाउन कार्यगत एकता गरेको स्पष्ट पारे ।



तपाईको प्रतिक्रिया