सुनसरी, साउन ३२ गते । गत साउन १८ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएकी सुनसरी डुम्राहा ५ की सुगा चौधरीको हत्या भएको आशंका गरिएको छ ।
उनकी ३ वर्षिया छोरी इशाका अनुसार १७ गते राती सुगाका श्रीमान हरेराम चौधरीसँग उनको झगडा भएको थियो । झगडाका क्रममा हरेरामले सुगालाई यातना दिएका थिए । हरेरामको कुटाइबाट गम्भिर विरामी भएकी २२ वर्षिया सुगालाई हतार हतार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर, उनको उपचारका क्रममा मृत्यु भयो ।
घर परिवारले सुगाको अन्तिम संस्कार पनि गुपचुप बनाएर गरेपछि घटना संकास्पद बनेको थियो । सुगाका माइतिपक्षलाई पनि नबोलाई अन्तिम संस्कार गरेपछि घटना संकास्पद देखिएको थियो । सुगाका बाबु फागु चौधरीले छोरीको हत्या भएको भन्दै छानविनका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिन गएपनि प्रहरीले दर्ता गर्न मानेन । फागुका अनुसार मृतकको शव नभएका कारण उजुरी दर्ता गर्न नमिल्ने भन्दै प्रहरीले फर्काइदिएको थियो ।
फागुले छोरीको हत्यामा उनको घरपरिवारको हात रहेको भन्दै न्यायका लागि मानव अधिकार आयोगलाई पनि आग्रह गरेका छन् ।



तपाईको प्रतिक्रिया