काठमाडौ साउन ३१ गते । झापा मोरङ र सुनसरीलाई सप्तरी र सिरहाजस्ता मधेशका जिल्लाबाट छुट्याएर पूर्वको पहाडी प्रदेशमा गाँसिएकोप्रति सप्तरी उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ ।
साउन ३१ गते आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले झापा, मोरङ, सुनसरी र उदयपुरलाई सप्तरीदेखि पर्सासम्मको दुई नम्बर प्रदेशमै राख्न आग्रह समेत गरेको छ ।
संघले इतिहास, भूगोल, संस्कृति, जात, धर्म र समुदाय र ऐतिहासिक निरन्तरताका हिसाबले समेत पूर्वी तराईका तीन जिल्लालाई पश्चिमी तराईका अन्य जिल्लासँग अलग गर्न नहुने तर्क संघको छ ।
विज्ञप्तिमा हस्ताक्षर गरेका संघका उपाध्यक्ष शंकरकुमार दासले सप्तरी जिल्लालाई पूर्वको एक नम्बर प्रदेशमा मिलाउन खोजिएको प्रयत्नप्रति पनि घोर असन्तुष्टि प्रकट गरेका छन् ।
उपाध्यक्ष दासले कोशी नदी पश्चिममा पर्ने सप्तरी जिल्लालाई पूर्वी १ नम्बर प्रदेशमा मिसाउनु कुनै कोणबाट तर्कसंगत नहुने बताए ।
‘भाषा, संस्कृति, जात, धर्म, सामाजिक र सांस्कृतिक निकटताको हिसाबले मात्र होइन, जलाधार क्षेत्र र नदीको बनाउने भौगोलिक सीमानाको सन्दर्भबाट पनि सप्तरीलाई २ नम्बरको प्रदेशमा राख्नुपर्दछ,’ दासले भने ।
यसअघि सप्तरीका साथै सिरहा उद्योग वाणिज्य संघले सप्तरी र सिरहा जिल्लालाई पूर्वी १ नम्बरकै प्रदेशमै गाभ्नुपर्ने वकालत गरेको समाचार सार्वजनिक भएको थियो । तर सप्तरीको उद्योग वाणिज्य संघले यस विज्ञप्तिमार्फत् नै त्यस समाचारको खण्डन गरेको छ ।
हाल आफ्नो छोराको उपचारका क्रममा भारतको बङ्ग्लोरमा रहेका सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानलाई सल्लाह नै नगरी आफ्नो निहित स्वार्थपूर्तिका लागि सिरहा उद्योग वाणिज्य संघका अध्यक्षले त्यस्तो गलत प्रचार गरेको दासले बताए ।
कोशी नदी पूर्वका कम्तीमा मधेशी बहुल मोरङ र सुनसरीलाई पश्चिममको सप्तरीदेखि पर्सासम्मको दुइृ नम्बर प्रदेशमा मिलाउनुपर्ने एउटा बलियो पक्ष छ भने झापा, मोरङ र सुनसरी नभएपनि कोशी पश्चिमको सप्तरीदेखि पर्सासम्मको पहिचानमा आधारित प्रदेशमा चित्त बुझाउने अर्को पक्ष पनि कमजोर छैन ।
तर एमाले अध्यक्ष केपी शर्मा ओली र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार सप्तरीलाई पूर्वी एक नम्बर प्रदेशमा मिलाउने प्रयत्न जारी राखेका छन् ।
सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित एमाओवादी सभासद् उमेशकुमार यादव सप्तरीलाई कोशी नदी पूर्वको प्रदेशमा मिसाउन खोज्नुको कुनै न्यायोजित र वैज्ञानिक कारण नरहेको बताउँछन् ।
मधेशी जनसंख्याको घनत्व, मधेश आन्दोलनको मर्म र मिथिला एवम् मैथिली भाषाी जनताको ऐतिहासिक निरन्तरताको कोणबाट समेत सप्तरीलाई दुई नम्बर प्रदेशमा नै राख्नुपर्ने सभासद् यादवको भनाइ छ ।
‘भाषिक जनसंख्याको हिसाबले सप्तरीदेखि सर्लाही मैथिली भाषा बहुल क्षेत्र हो भने प्राचिनताको हिसाबले पनि कोशीदेखि गण्डकी प्राचीन मिथिला हो । जसको राजधानी जनकपुर थियो,’ यादवले तर्क गरे ।



तपाईको प्रतिक्रिया