वीरगंज,साउन २८ गते । वीरगञ्ज स्वायत्त मधेस प्रदेशको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेकपा– माओवादीले यही साउन ३१ र ३२ गते आह्वान गरेको बन्द सफल पार्न आग्रह गरेको छ । मोर्चाका पर्सा जिल्ला संयोजक प्रदीप यादवको अध्यक्षतामा बसेको बैठकले बन्द सफल पारी मधेसको माग पूरा गराउन सहयोग पु¥याउन सबै पक्षलाई आग्रह गरेको छ । चार दलीय गठबन्धनले ल्याएको संविधानको मस्यौदा र प्रदेशको सीमांकन मधेस र मधेसीको हितविपरीत भएको भन्दै मोर्चाले मधेसी जनतालाई अधिकारबिहीन बनाउने षड्यन्त्रविरुद्धको आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गरेको छ । संयोजक यादवले आन्दोलन सफल पार्न सहयोग र सहभागिताका लागि उद्योग कलकारखाना, शिक्षण संस्था, यातायात तथा ढुवानी व्यवसायी, उद्योगपति र व्यवसायीलाई आग्रह गरेका छन् । बन्द सफल तुल्याउन साउन ३० गते साँझ वीरगञ्जका विभिन्न १० स्थानबाट मसाल जुलुश निकाल्ने निर्णय पनि मोर्चाले गरेको छ । केन्द्रले आह्वान गरेको मशाल जुलुश र बन्दीलाई पूर्णरुपमा सफल पार्न बैठकले आन्दोलन परिचालन कमिटी पनि गठन गरेको यादवले बताए । चार दलीय सिन्डिकेटले मधेसी जनजाति, आदिवासी, महिला र अल्पसंख्यकलाई अधिकारबाट बञ्चित गर्ने षड्यन्त्रमा लागेकाले अधिकार प्राप्तिका लागि आन्दोलनको विकल्प नभएको पनि बैठकको निष्कर्ष छ । बैठकमा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य वीरेन्द्र यादव, सद्भावना पार्टीका केन्द्रीय सदस्य नेजामुदिन समानी, नेकपा–माओवादीका जिल्ला संयोजक पिएल श्रेष्ठ, पूर्वसभासद् इस्लाम हवारी, तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य रामतुल्लाह खाँ, केन्द्रीय सदस्य पुरुषोत्तम झा, नागेन्द्रप्रसाद यादव, श्रीराम गिरी, चन्दन मिश्रा, राजेश साह, हजारी साह, कामेश पडितलगायतका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।
यात्राडेली



तपाईको प्रतिक्रिया