काठमाडौँ, साउन २५ गते । पार्टीको नीति विपरित ६ प्रदेशको खाका आएको भन्दै एकीकृत ै नेकपा (माओवादी) का सभासद्हरु विरोध गरेको छ । आज सिहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा २५ जना सभासद्ले अध्यक्ष प्रचण्डको यसप्रकारको निर्णयलाई कडा विरोध गरेका थिए ।
त्यसपछि अध्यक्ष प्रचण्डले प्रमुख चार दलबीच भएको सहमति र संविधानको मस्यौदालाई लिएर भइरहेको विरोध तथा आन्दोलनमा उत्रेका सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ ।
एकातिर संविधान बनाउन नचाहने र अर्कातर्फ सबै कुरा संविधानमै पार्नुपर्छ भन्ने दुवै खाले अतिवादका बीचमा उभिएर संविधान निर्माणमा नेतृत्वले खेलेको सकारात्मक भूमिका जनताका बीचमा पु¥याउन संसदीय दलले सभासद्लाई निर्देशन पनि दिएको छ ।
दलले उठाउँदै आएको प्रदेशसम्बन्धी विषयभन्दा विपरीत ढङ्गबाट सहमति गरिएको भनी सभासद्ले पार्टी नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै आलोचना गर्नुभएको थियो । बैठकमा प्रदेशको सीमा निर्धारणमा नै बढी केन्द्रित रहेर २५ जनाभन्दा बढी सभासद्ले विरोध जनाउनाका साथै मस्यौदामा परिमार्जन र सुधार गर्नुपर्ने पक्षका बारेमा रायसुझाव प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निकै जटिल परिस्थितिमा संविधानको मस्यौदासम्बन्धी विषयवस्तुलाई सम्पन्न गर्नुपर्ने परिस्थितिबारे जानकारी दिँदै सभासद्को आक्रोशलाई शान्त तुल्याउने प्रयास गर्नुभएको थियो । बैठकमा पार्टी नेतृत्व र सभासद्बीचमा रहँदै आएको सूचना तथा सञ्चारको ठूलो खाडललाई पुर्ने काम भएको पार्टीको भनाइ छ ।
बैठकपछि संसदीय दलका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले सहमति किन गर्नुप¥यो भनेर नेतृत्वले दिशाबोध गराएपछि विषयवस्तु प्रस्ट हुन गई परिस्थिति सहज भएको जानकारी दिनुभयो । निकै अप्ठेरो परिस्थितिमा यहाँ आइपुगिएको, जटिल र पेचिलो परिस्थितिमा छ प्रदेश बनाएर अघि बढ्न खोजिएको तथा प्रमुख चार पक्षका बीचमा अझै केही विषयवस्तुमा समझदारी हुनै बाँकी रहेका बारे अध्यक्ष दाहालले बैठकलाई जानकारी गराउनुभएको उहाँले बताउनुभयो ।
कुनै कोण, समुदाय र क्षेत्रबाट संविधानमा समावेश गर्नुपर्ने विषय परेका छैनन् भने संविधान निर्माणमा सहयोग पु¥याउने कोणबाट विषयवस्तु प्रस्तुत गर्न सुझाव दिँदै अध्यक्ष दाहालले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशिताजस्ता महत्वपूर्ण विषयमा पार्टीले उपलब्धि हासिल गर्नसकेको बताउनुभएको थियो ।
कैलालीलाई अखण्ड सुदूरपश्चिम भनेर समावेश गर्ने कार्य सङ्गतिपूर्ण नरहेको निष्कर्ष निकाल्दै बैठकले कर्णालीवासी, थारू र मगर समुदायले उठाएका कतिपय विषयलाई मस्यौदा परिमार्जनका समयमा सम्बोधन गर्न प्रयत्न गरिने अठोटसमेत गरेको छ ।
पार्टीका नेता अग्निप्रसाद सापकोटाले भन्नुभयो–“समग्रमा मस्यौदा सम्झौताका रुपमा आए पनि संविधानसभाबाट संविधान निर्माणको सुनिश्चितता भएको छ, यस अर्थमा नेपाली जनताको जित र सफलता हो ।” उहाँले भन्नुभयो–“अखण्डताका नाममा संविधान निर्माणमाथि नै षडयन्त्र भएको छ भन्ने कोणबाट सबै पक्षले भनाइ राख्नुभएको छ, थारू समुदाय र कर्णालीवासीले उठाएका कतिपय मुद्दालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिएर बैठकमा कुरा उठेको छ । रासस



तपाईको प्रतिक्रिया