काठमाडौँ, साउन २५ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले ६ प्रदेशमा हस्ताक्षर गेरेपछि अहिले उनको पार्टीमा भाँडभैलो मचेको छ । पार्टीका चार जाना उपाध्यक्ष रामेश्वर राय यादव, दानबहादुर चौधरी, नसिर सिद्धिकी गोविन्द चौधरी गच्छदारको विरोधमा मोर्चामा बन्दी शुरु गरिसकेका छन् भने उनका सबभन्दा विश्वासपात्र मानिएका रामजनम चौधरीले पनि अहिले बागी भएका छन् ।
थारु आन्दोलनको अगुवाई गर्दै रामजनम चौधरीले आज फोरम लोकतान्त्रिक संसदी दलको कार्यालयमा थारु संघ संगठन तथा केही मधेशी संगठनलाई बोलाएर थारु आन्दोलनको बारेमा छलफल गरेका थिए ।
छलफलबाछ थारूवान् संयुक्त सङ्घर्ष समिति पनि गठन गरेको छ । समितिले नयाँ संविधानमा जनसङ्ख्याका आधारमा सङ्घीय व्यवस्थापिका, प्रदेश सभाको सदस्यको सङ्ख्या र निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्था गर्न माग गरेको छ ।
सङ्घर्ष समितिको आज बसेको बैठकले प्रमुख चार दलबीच सहमति भई आएको संविधानको मस्यौदाले थारूलाई पहिचान र अधिकारबाट विमुख बनाएको निष्कर्ष निकालेको छ ।
झापादेखि कञ्चनपुरसम्म तराईका सबै जिल्ला समेटेर प्रदेश निर्माण गरिनुपर्नेमा जोड दिँदै समितिले हिमाल, पहाड र तराईको भूगोल समेटेर बनाइएको प्रदेशलाई स्वीकार गर्न नसकिने मत अघि सारेको छ ।
बैठकपछि समितिका संयोजक रामजनम चौधरी र थारू कल्याकारिणी सभाका अध्यक्ष धनीराम चौधरीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा प्रस्तावित प्रदेशको सीमा निर्धारणलाई आत्मसात् गर्न नसकिने उल्लेख छ ।



तपाईको प्रतिक्रिया