Khadya Bibhag

रात परेपछि सभासद्हरुले यस्तो भने

काठमाडौँ, साउन २३ गते । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले आज राति अबेरसम्म भएपनि समितिमा प्रतिवेदन पेस हुने बताउनुभएको छ ।

आठ घण्टाभन्दा लामो समयसम्म पनि समितिको बैठक सुरु नभएकामा आपत्ति प्रकट गर्न पुग्नुभएका सभासद्लाई उहाँले भन्नुभयो, “आज राति अबेरसम्म भए पनि प्रतिवेदन प्रस्तुत हुन्छ । शीर्ष नेताहरुले सहमतिमा हालसम्म हस्ताक्षर गर्न बाँकी नै रहेको छ । हस्ताक्षर भएपछि कागजपत्र तयार गर्न एक घण्टा लाग्छ ।”

सभासद्हरुले आज राति अबेर गर्नुका साटो आइतबार बिहान गरे हुन्छ नि भन्ने आग्रहमा सभापति डा भट्टराईले भन्नुभयो, “तपाइँलाई बस्ने इच्छा नै लाग्दैन भने म कसो भनुँ, आज प्रस्तुत हुन्छ, रातिसम्म भने पनि मैले प्रतिवेदन प्रस्तुत गर्छु ।” सभापति डा भट्टराईले अगाडि भन्नुभयो, “यहाँहरुलाई त्यत्रो जरुरी काम छ भने जान सक्नुहुन्छ । तर मैलै आज प्रतिवेदन प्रस्तुत गर्छु नै ।”

सबै सभासद् गएर कोठा खाली भएपनि प्रतिवेदन पेस गर्नुहुन्छ भन्ने सभासद्को प्रश्नमा सभापति डा भट्टराईले भन्नुभयो, “कोठा खाली हुँदैन, माननीय सदस्यहरु बस्नुहुन्छ । तपाइँहरु पनि बसिदिनुस् भन्ने मेरो आग्रह छ ।” संवाद समितिको बैठक सुरु नभएकामा आपत्ति प्रकट गर्न सभासद्हरु लक्ष्मणलाल कर्ण, चन्द्रप्रकाश मैनाली, डिम्पलकुमारी झा, रुम्मिणी चौधरीलगायत हुनुहुन्थ्यो । 

तपाईको प्रतिक्रिया