Khadya Bibhag

दुई तिहाईलाई उपेक्षा गरि आउने सविधान स्वीकार नहुने

काठमाडौं, साउन २२ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपालका दुई तिहाईभन्दा बढी पीडित एवं उपेक्षित वर्गलाई उपेक्षा गरेर आउने संविधान  कुनै पनि हालत टिक्न नसक्ने चेतावनी दिएका छन् ।
तराई मधेश विद्यार्थी फ्रन्टको सातौ वार्षिकोत्सवका अवसरमा हिजो ‘संविधानको प्रारम्भिक मस्यौदाः के चाहन्छन् मधेश र मधेशी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने ‘संविधान साझा दस्तावेज हो, सबैका अपनत्व र स्वामित्व हुनुपर्छ । दुई तिहाईभन्दा बढी पीडित एवं उपेक्षित वर्गलाई उपेक्षा गरेर आउने संविधानको भविष्य छैन ।’
देशलाई पुनः द्वन्द्व र संकटतर्फ धकेल्ने प्रयास भइरहेको बताउँदै उनले नयाँ संविधान सबै प्रकारका द्वन्द्व समाप्त गर्ने किसिमको आउनुपर्ने बताए । ‘नयाँ संविधान सबै प्रकारका द्वन्द्व समाप्ति र शान्ति स्थापना हुने खालको हुनुपर्छ, तर दुर्भाग्य नयाँ द्वन्द्वको विजारोपण गर्ने गरी जबरजस्ती संविधान जारी गर्ने प्रयास भइरहेको बतउँदै अध्यक्ष ठाकुरले मधेशसँग भएको सम्झौता र अन्तरिम संविधानले दिएको अधिकारसमेत कटौती गरी संविधान ल्याउन खोजिएको आरोप लगाए ।
मस्यौदाकै रुपमा आए कुनै पनि अवस्थामा त्यो स्वीकार्य नहुने बताउँदै उनले भने, मधेश एक जाति होइन, यो एक राष्ट्र नै हो, पूर्वदेखि पश्चिमसम्म रहेको एकतालाई विखण्डित गर्ने प्रयास सफल हुँदैन ।’

तपाईको प्रतिक्रिया