Khadya Bibhag

भारततर्फ बालक बेच्न हिडेका दलाल आठ बालकसहित पक्राउ

महोत्तरी, साउन २१ गते । जोखिमपूर्ण कामका लागि अवैध रुपमा भारततर्फ लाँदै गरेका आठ बालक र एक दलाललाई प्रहरीले आज महोत्तरीको मलिवाराबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको हतिसर्वा गाविस– ५ बस्ने समेराजुल अन्सारी, जुवैद नदाफ, सफिक अन्सारी, कलाम अन्सारी, इल्फान अन्सारी, अनवर अन्सारी, धनुषाको रमदैया– ९ बस्ने हसिबुल अन्सारी, जिलानी अख्तर र दलाल हतिसर्वा– ५ कै नदिम अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेका बालकहरुको उमेर नौदेखि १२ वर्षसम्मका रहेका छन् । दलालको उमेर २८ वर्ष रहेको छ ।

भारतको जयपुरमा कपडामा जडी कढाइको जोखिमपूर्ण कामका लागि दलाल नदिमले ती बालकलाई लैजाँदै गर्दा नेपाल–भारत सीमा क्षेत्रमा पर्ने मलिवारामा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

पक्राउ परेका बालकहरुलाई अभिभावकको जिम्मा लगाइएको छ । दलाल नदाफलाई प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया