काठमाडौ, १४ साउन । भारतको पाँच दिने भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री एवम नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले भारतीय विदेश मन्त्री सुष्मा स्वराज र भारतीय विदेश सचिव एस. जयशंकरसँग भेटवार्ता गरेका छन् ।
भेटमा विदेशमन्त्री स्वराजले नेपालमा संविधान निर्माण प्रक्रिया, त्यसलाई लिएर भईरहेको विरोध, धर्म र सीमांकनको विषयमा उठिरहेका विरोधका स्वर लगायतका विषयमा देउवासँग चासो राखेकी थिईन् ।
उनले नेपालमा सबैको अपनत्व हुने गरी संविधान जारी हुने सके स्थायित्व हुने र त्यसले नेपालको विकासको बाटो खेल्ने भन्दै असन्तुष्टहरुलाई पनि सकेसम्म मिलाएर अधिकतम सहमतिमा संविधान बनाउँदा राम्रो हुने सुझाव दिएकी थिईन ।
स्वराजले नेपालमा विनासकारी भुकम्पपछि कसरी पुर्ननिर्माणको काम भईरहेको छ भनि जिज्ञासा राख्दै पुर्ननिर्माण प्राधिकरणको गठनमा भएको ढिलाईको विषयमा चासो राखेकी थिईन ।
जवाफमा देउवाले सीमांकनसहित संविधान जारी गर्ने गरी दलहरुवीच छलफल सुरु भएकोले असन्तुष्टहरुको पनि अधिकतम माग संबोधन गरेर संविधान जारी गर्ने तयारी भईरहेको बताएका थिए । उनले नेपालको शान्ति र संविधानको यात्रामा भारतको सदभाव रहेकोले यसलाई निष्कर्समा पुर्याउन अझै धेरै सदभाव र सहयोगको आवश्यकतामा समेत जोड दिएका थिए । स्वराजले नेपाल भारतको सबैभन्दा नजिकको छिमेकी भएको उल्लेख गर्दै आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता ब्यक्त गरेकी थिईन ।
उनीहरुवीच नेपाल भारत सम्बन्ध र विकास निर्माणमाका विषयमा छलफल भएको थियो । देउवाले आजै भारतीय विदेश सचिव एस जयशंकर सँग पनि भेटवार्ता गरेका थिए । उनी बुद्धवार पाँच दिने औपचारिक भ्रमणमा दिल्ली गएको हो ।




तपाईको प्रतिक्रिया