Khadya Bibhag

महोत्तरीको प्रसासन र स्थानिय वीच सहमति पछि जनजीवन समान्य

महोत्तरी १३ साउन । स्वतन्त्र मधेश गठबन्धनको डा. सी.के राउतको डिभिडि हेरेको भन्दै प्रहरीले ज्यादती गरेको विरोधमा राउत समर्थक, स्थानीय र राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले बुधबार बन्द गराएको महोत्तरीका बजारहरु दिउँसोबाट खुलेका छन् ।
महोत्तरीका प्रहरी उपरिक्षकसँग स्थानीय, राउत समर्थक र राजनीतिक दलका प्रतिनिधिहरुले वार्ता गरेपछि सहमति भएकोले महोत्तरीका बलबा, सरपल्लो र पडौल बजार खुलेको छ ।
वार्तापछि प्रहरीले गिरफ्तार गरेको संजय यादवसहितका युवाहरुलाई रिहा गरिएको छ । वार्तामा प्रशासनले प्रहरीद्वारा तोडफोड गरिएको प्रोजेक्टर र पर्दाको क्षतिपुर्ति दिने, प्रहरीको कुटाईबाट घाइते भएकाहरुको उपचार गराउने सहमति भएको छ ।
प्रहरीको कुटाईबाट गम्भीर घाईते भएका स्थानीय वृद्ध राम सुन्दर यादवको टाउकोमा १८ वटा टाँका लागेको छ । जनकपुर अञ्चल अस्पतालमा उपचाररत यादवको अवस्था अझै गम्भीर रहेको बताइएको छ ।
रिहा भएपछि राउत समर्थकहरुले स्थानीयलाई सम्बोधन गर्दै भाषण गरेका छन् । त्यहाँ जुटेको स्थानीयको भीडले सीके राउतको पक्षमा नाराबाजी गरेका छन् ।
मंगलबार राति महोत्तरीको बलबा–३ मा प्रोजेक्टरमार्फत पर्दामा डा. राउतको डिभिडि हेरिरहेका बेला एक्कासी प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीले प्रोजेक्टर आफ्नो नियन्त्रणमा लिएको थियो ।
प्रहरीको ज्यादतीको विरोधमा स्थानीय मंगलबार राति देखि नै आक्रोशित भएका थिए । प्रहरी र स्थानीयबीच झडप पनि भएको थियो । बुधबार बिहानैदेखि महोत्तरीको बलबा, सरपल्लो र पडौलको अवस्था तनावग्रस्त थियो । प्रहरीले चार राउण्ड अश्रु ग्यास तथा ३ राउण्ड हवाई फायरिङ्ग समेत गरेको थिए भने राउत सर्मथकहरुले बन्दको क्रममा करिब आधा दर्जन भन्दा बढि सवारी साधन तोडफोड गरेको थिए । प्रहरी र स्थानिय राउत सर्मथक वीच दोहोरो झडपमा दर्जनौ घाइते भएको छन् ।

तपाईको प्रतिक्रिया