Khadya Bibhag

सिके राउतकै लाइनमा यिनीहरु (समाचार टिप्पणी)

काठमाडौ साउन ११ गते । जिल्ला जिल्लाबाट सुझाव संकलन गर्ने कार्य सकेपछि डा.बाबुराम भट्टराईले काठमाडौमा बुद्धिजिवीहरुको मुड मापन गर्न थालेका छन् । बेला नकुबेला व्यपारी, बुद्धिजिवी, कानुन व्यवसायी, नागरिक समाज, पत्रकारहरुसँग उनले निरन्तर छलफल गरेका छन् तर छलफल गरेका विषय उनले आफ्नो समितिमा एउटा पनि सुझावको रुपमा छिराउन सकेका छैन ।
ठूला ठूला महँगा होटेलहरुमा बोलाएर राय र सुझाव लिन उनले कुनै कसर बाँकी राखेका छैन । संवाद समितिका सभापति भएपछि सिके राउतदेखि राजेश हमालसम्मलाई बोलाएर राय सुझाव लिएका छन् तर सबै भएका छन् फुस्स । जो जोसँग राय सुझाव लिएका छन् मस्यौदाप्रति सबै असन्तुष्ट छन् । उनको कार्यक्रममा सहभागि हुँदै आएका एक नागरिक समाजका अगुवाले भने, उहाँले विभिन्न व्यक्तित्वहरुसँग राय सुझाव लिएर के गर्नुहुन्छ । उहाँले यसरी सुझाव संकलन गरेर एउटा पनि कुरा आफ्नो मस्यौदामा राख्नु सक्नु भएको छैन भने सुझाव संकलन गरेर कुन शक्ति केन्द्रमा पुर्याउँनु हुन्छ ।’
हो पनि, जुन जुन क्षेत्रका व्यक्तित्वहरुबाट उनले राय सुझाव लिएका छन् सबैको एक एक वटा सुझाव सविधानको मस्यौदामा राखेको भए आज देशका यो अवस्था हुने थिएन । चारैतिर मस्यौदाको विरोध हुने थिएन । उनले आफै पनि स्वीकार गरेका छन् कि ‘चित्त बुझ्दो मस्यौदा छैन’ । ‘नहुनु मामा भन्दा कानो मामा ठिक’ । यदि त्यस्तो हो भने देशका होनहार बुद्धिजिवी तथा व्यावसायीहरुको समय किन बर्बाद गर्छन्, प्रश्न यहाँ पनि उठेको छ । लाखौ रुपियाँ खर्च गरेर होटलहरुमा बोलाएर सुझाव लिने नाटक गरेर कसलाई खुस पार्न खोजेको हो, कसको पैसा खर्च गर्न लागेको त्यसको हिसाब जनताले खोजेका छन् । या त हिसाब दिनुस् या त लिएका सुझावहरु आफ्नो मस्यौदामा समावेश गर्नुस् ।

तर, यहाँका बुद्धिजिवीहरु पनि कस्ता कस्ता छन् । बाबुराम भट्टराईको एसएमएस पाउने बित्तिकै, निमन्त्रण पाउने बित्तिकै लाखौ काम छाडेर उनको सामु उपस्थित हुन्छन् । जसरी सिके राउतले गरेका थिए । बाबुरामको पत्र पाएर सिके राउतको खुशीको सिमा थिएन । काठमाडौ आउने अवस्था थिएन तैपनि उनी कसरी आए, उनैलाई थाह छ । मधेशका बुद्धिजिवी भनाउँदाहरु तुलानारायण साह, दिपेन्द्र झा, विजयकान्त कर्ण, सुरेन्द्र महतो, प्रशान्त झाहरु यतिबेला मधेशमा राम्रो काम गरिरहेका थिए । युवाहरुलाई भेटेर आन्दोलनका मुड बनाई रहेका थिए । आन्दोलनका योजनाहरु बनिरहेको थियो । युवाहरु यिनीहरुलाई पछ्याइरहेका थिए । तर, बाबुराम बोलाउँदा उनीहरु मधेशलाई छाडेर सिहदरवार छिरे र दिएका छन् ठूला ठूला भाषण, गरेका छन् क्रान्तिका कुरा । काम नपाए जस्तो । मस्यौदा तयार हुनु अघि पनि बाबुरामले यिनीहरुलाई गत भदौ ५ गते बोलाएर यस्तै यस्तै सुझाव लिएका होइन । खोइ त ती सुझावहरु मस्यौदामा समावेश भएको । के यी कुरा यी बुद्धिजिवी भनाउँदाहरुको दिमागले तानेनन् ।

यिनीहरुको कारण सिहदरवारमा मधेश पटक पटक बेइज्जत भएका छन् । आज उनीहरुले सिहदरवारमा बाबुराम भट्टराईका सामु जे जे कुरा राखेका छन्, त्यसमा यहाँका खस पहाडिहरुले मधेशीको कम्ती खिल्ली उडाएको छैनन् । यिनीहरुले आज जे सुझाव दिएका छन् त्यो परिमार्जित मस्यौदामा आउँदैन भने कुरा प्रष्ट छ अनि किन बाबुरामलाई अनुहार देखाउनु पर्यो । बाबुरामको सामुनेमा अलि क्रान्तकारी कुरा गर्यो भने मिडियामा आउन सकिन्छ, फोटो छापाउन सकिन्छ । दुईचार दिन चर्चा हुन्छ । जुन मेघ गर्जिन्छ त्यो बर्सिदैन, यी कुरा यी बुद्धिजिवीहरुलाई थाह नभएको होइन । पाँच कक्षादेखि पढ्दै आएको कुरा हो । सिके राउतले जसरी मधेश अलग हुने कुरा बाबुराम भट्टराईको सामु भनेर गएका थिए त्यसरी यी बुद्धिजिवीहरुले पनि भनिरहेका छन् । तर, यिनीहरुबाट यो काम हुँदैन । बोलेर, लेखेर खानेबानी परिरहेका उनीहरुलाई मधेशको माया भएको भए आज मधेशलाई छाडेर यहाँ बाबुरामको चिया र विस्कुट खान आउँदैन्थ्यो होला ।
काँग्रेसका नेता डा.अमरेश कुमार सिह त पोल्टिक्स गर्ने मान्छे । उनले त जे बोल्दा पनि हुने किनभने भोली उनलाई राजनीतिक गर्नुछ ।

उनको कुरा पत्याए पनि नपत्याएपनि केही फरक पर्ने बाला छैन तर मधेशका बुद्धिजिवी भनाउँदाहरुले पनि यो कुरामा ख्याल गर्नु पर्यो कि के बोलिरहेको छु । के भनिरहेको छु । आज तुलानारायणदेखि लिएर विजयकान्त कर्णसम्मले देशबाट मधेश अलग हुने चेतावनी दिएका छन् । के उनीहरुबाट यो कुरा सम्भव छ ? यो प्रश्न उठ्न थालेको छ । उनीहरुले आज स्पष्ट रुपमा त्यहाँ समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, जन्मसिद्ध नागरिकता र गणतान्त्रिक सविधान बनेन भने मधेश यो देशमा हो कि होइन सोच्न बाध्य हुने चेतावनी दिएका छन् । के यो बुद्धिजिवीले बोल्ने कुरा हो । कदापी होइन । यो त धेरै सेक्रेट कुरा हो । यो त भित्र भित्रै गर्नुपर्ने कुरा हो । सिके राउत जस्तो फोकटिया हल्ला गरेर जग हँसाउने काम यो होइन ।

यसको लागि ठूलो इन्तजाम चाहियो, ठूला दिमाग चाहियो । मास्टर प्लान चाहियो । देश अलग हुने कुरा सिहदरवारमा बोलेर प्राप्त हुने कुरा होइन । यो कुरा त स्पष्ट छ कि यि बुद्धिजिवीहरुले चाहे जस्तो सविधान आउने बाला छैन । यदि चाहेको जस्तो सविधान आएन भने के यिनीहरुले भने जस्तो नेपालबाट मधेश अलग हुन्छ त ? इतिहासमा यस्तो शान्तिपूर्ण ढंगले हल्ला गरेर देश अलग भएको छैन । गोप्य ढंगले पुरै तयारीका साथ भिषण संघर्ष नगरे अँह कुनै पनि हालतमा हुन सक्दैन । र, त्यो खालको संघर्ष गर्ने सामथ्र्य यी बुद्धिजिवीहरुमा छैन पनि । मर्ने तिनै निमुखा मेधशीहरु हुन् । यिनीहरुले धेरैमा धेरै गर्यो भने एउटा रिपोर्ट बनाउँछन् कि अलग देशका लागि भएका संघर्षमा यति मधशी युवा मरेका छन् । कसैले किताब छपाउँछन् भने कसैले रिर्पोर्ट बनाएर विभिन्न आइएनजिओमा बुझाउँछन् र डलर हात पार्छन् । जो मधेश आन्दोलनपछि भएको हो । मधेश आन्दोलन अघि पनि यी मधेशी बुद्धिजिवीहरु यस्तै यस्तै गरेका थिए । के यिनीहरुले त्यस आन्दोलनमा एउटा ढुंगा पनि खाएका थिए त । तर उनीहरुको कार्यालय र घरको घर्रामा गएर हेर्नुस् किताब र रिर्पोर्टका थान । छक्क पर्नुहुन्छ कि मधेशका बारेमा यिनीहरुले यति काम गरेका छन् ।

तपाईको प्रतिक्रिया