Khadya Bibhag

जनकपुरमा अश्रु गोली प्रहार, कार्यक्रम स्थगित

जनकपुरधाम, ५ साउन । संविधानको प्रारम्भिक मस्यौदामा राय सङ्कलन गर्ने कार्य धनुषामा स्थगित गरिएको छ । जिल्ला सुरक्षा समिति धनुषा र सभासद्हरुबीच आज बसेको संयुक्त बैठकले असहज परिस्थितिका कारण सुझाव सङ्कलन गर्ने सम्पूर्ण काम स्थगित गर्ने निर्णय गरेको हो ।
आज जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा राजनीतिक दलहरुसँग सुझाव सङ्कलन गर्ने कार्यक्रम निर्धारण गरिएको थियो । सोमबार धनुषाका विभिन्न निर्वाचन क्षेत्रमा सुझाव सङ्कलन स्थलमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि यससम्बन्धी सम्पूर्ण काम स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभएको छ ।
प्रजिअ पराजुलीले स्थलगतरुपमा राय सङ्कलन कार्य स्थगित गरिए पनि वैकल्पिक माध्यमबाट सर्वसाधारण नागरिकले संविधानको मस्यौदामाथि राय दिन सक्ने व्यवस्था यथावत् रहेको बताउनुभयो । संविधानको मस्यौदामाथि राय दिने नागरिकले टेलिफोन, इमेल, फ्याक्स लगायतका माध्यम प्रयोग गरी राय दिन सक्ने छन् ।
बैठकस्थलबाट बाहिरिने क्रममा एमाओवादी सभासद् रामसिंह यादवले धनुषामा सोमबार देखिएको असहज परिस्थितिका कारण सर्वसम्मतिले राय सङ्कलन गर्ने कार्य स्थगन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । संविधानसभाबाट अर्को निर्देशन नभएसम्म राय सङ्कलनको सम्बन्धमा थप केही गर्न नसकिने उहाँले बताउनुभयो ।
बैठक करिब तीन घन्टा चलेको थियो । बैठकमा विभिन्न राजनीतिक दलका जिल्ला अध्यक्ष, सभासद्, तीनवटै सुरक्षा निकायको प्रमुखहरुको उपस्थिति रहेको थियो ।
सोमबार धनुषाका क्षेत्र नं २ र ४ मा सुझाव सङ्कलन कार्य स्थगित गरिएको थियो भने अन्य निर्वाचन क्षेत्रहरुमा कडा सुरक्षा व्यवस्थाबीच सुझाव सङ्कलन गर्ने कार्य सम्पन्न भएको थियो ।
प्रदर्शनकारी र प्रहरीबीच आज पनि झडप भएको छ । स्थानीय शिवचोक, जनक चोक, जानकी चोकलगायतका स्थानमा झडप भएको हो । प्रहरीले झडपका क्रममा करिब आधा दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याससमेत प्रहार गरेको थियो . 

तपाईको प्रतिक्रिया