वीरगन्ज, साउन ३ गते । नेपाली काँग्रेसका नेता तथा सभासद् अमरेशकुमार सिंहले नयाँ संविधानको मस्यौदाले बहुसंख्यक नेपालीको भावना समेट्न नसकेको आरोप लगाउनुभएको छ ।
यो मस्यौदाले मधेसी, दलित, जनजाति, महिला र सिमान्तकृत समुदायको अधिकार र पहिचानलाई उपेक्षा गरेको छ, आज यहाँ आयोजित “मधेस र संविधानको मस्यौदा” विषयक मन्थन कार्यक्रममा उहाँले भन्नुभयो–नयाँ संविधानले यी बहुसंख्यक नेपालीको चाहना र असन्तुष्टिलाई सम्बोधन गर्न नसके मुलुकमा ढिलोचाँडो द्वन्द्व र अशान्तिको लहर आउन सक्छ ।
सभासद् सिंहले प्रमुख राजनीतिदलबीच भएको १६बुँदे सहमतिको जगमा उभिएर आएको यो मस्यौदा मधेसी, सङ्घीयता, समावेशीता र अन्तरिम संविधान विरोधी भएको उल्लेख गर्दै भन्नुभयो — यो मस्यौदाकै आधारमा संविधान बन्यो भने निश्चितरुपमा देश टुक्रिन सक्छ, यसको सम्पूर्ण जिम्मेवारी प्रमुख दलले नै लिनुपर्दछ ।
उहाँले अहिलेको मस्यौदा नेपाली नागरिकलाई भन्दा पनि चार दलका नेतालाई राजा बनाउने नियतले ल्याएको बताउनुभयो ।
नेता सिंहले चार दलका चार नेताले संविधानसभालाई रबर स्टाम्पको रुपमा मात्र प्रयोग गर्न खोजेको बताउँदै यदी चार जना नेताले मात्रै संविधान बनाउने हो भने अर्बौ खर्च गरेर दुई पटक संविधानसभाको निर्वाचन किन गरियो त रु भनी प्रश्न गर्नुभयो ।
सङ्घीयता नदिने नियतले नै अहिलेको मस्यौदा आएको चर्चागर्दै सम्वाद समितिमा पनि सभासद्लाई यो मस्यौदा अध्ययन गर्न पनि नदिएकाले आपूm रायसुझाव सङ्कलन प्रक्रिया बहिष्कार गरेर नेपाली जनतासमक्ष आएको उहाँले स्पष्ट पार्नुभयो ।
सद्भावना पार्टीका सहअध्यक्ष एवम् सभासद् लक्ष्मणलाल कर्णले नयाँ संविधानको प्रारम्भिक मस्यौदाको प्रस्तावनादेखि अनुसूचीसम्म प्रयोग भएका शब्द र भाषालाई नियाल्दा प्रेस, नागरिकता र अदालतलगायतका विषयमा मस्यौदामा निकै त्रुटी देखिएको छ भन्नुभयो ।
सहअध्यक्ष कर्णले अन्तरिम संविधानमा उल्लेख भएबमोजिम सिमांकन र नामाङ्कनसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान नल्याए मुलुकमा फेरी चर्को आन्दोलन सुरु हुने चेतावनी दिनुभयो ।
राजनीतिक विश्लेषक विजयकान्त कर्णले मधेसलाई निषेध गर्ने सिद्धान्तमा आधारित भएर यो मस्यौदा आएको बताउँदै समाबेशीता, समानुपातिकता, सङ्घीयता र नागरिकता विरोधी यो मस्यौदाले मुलुकको एकता र अखण्डतालाई कमजोर बनाउने हुँदा यसको विरुद्धमा जनलहर ल्याउनुपर्ने विचारव्यक्त गर्नुभयो ।
मस्यौदा मधेसीलाई अनागरिक बनाउने
यसैबीच, जनकपुरधाममा सभासद् डा अमरेशकुमार सिंहले संविधानको मस्यौदा मधेसीलाई अनागरिक बनाउने भएकाले परिमार्जनको खाँचो भएको बताउनुभएको छ ।
आज यहाँ आयोजित संविधानको मस्यौदासम्बन्धी छलफल कार्यक्रममा उहाँले मस्यौदा द्वन्द्वको समाधान गर्ने खालको नभई द्वन्द्वको कारक हुन सक्ने बताउँदै मधेसलाई प्रदेश नदिएमा मधेसमा विद्रोह हुनसक्ने धारणा राख्नुभयो ।
सभासद् डा विजयकुमार सिंहले मस्यौदा मधेसीलाई दासत्व स्वीकार गराउन षडयन्त्रपूर्वक छलफलका लागि अघि सारिएको टिप्पणी गर्नुभयो ।
पूर्व राजदूत विजयकान्त कर्णले मस्यौदा मधेस र मधेसीका लागि युद्धको हस्ताक्षर भएको आरोप लगाउनुभयो ।
प्राध्यापक डा सुरेन्द्र लाभले सङ्घीयता, समावेशीता जस्ता पक्षलाई गौण बनाएर अघि सारिएको मस्यौदा मधेसीको लागि हितकारी नभएको बताउनुभयो ।
वरिष्ठ पत्रकार राजेश्वर नेपालीले मधेसीको अधिकारलाई वञ्चित गर्ने खालको संविधान कहिल्यै स्वीकार नहुने बताउनुभयो । अधिवक्ता राजकुमार महासेठले नागरिकता, सङ्घीयताका सन्दर्भमा मस्यौदामा द्वैध किसिमले प्रस्तावना गरिएको बताउनुभयो ।
प्राध्यापक डा भोगेन्द्र झाले प्रेस स्वतन्त्रता, भाषा, सङ्घीयता, नागरिकता र प्रादेशिकताका सवालमा मस्यौदा विभेदकारी भएको धारणा राख्नुभयो ।



तपाईको प्रतिक्रिया