काठमाडौँ, साउन १ गते । भारतले सबै पक्षको सहमतिमा तत्काल संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पु¥याएर आर्थिक समृद्धिको मार्गमा मुलुकलाई अगाडि बढाउन नेपाली राजनीतिक दललाई आग्रह गरेको छ ।
एकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सेभेन रेसकोर्षमा भएको भेटवार्तामा सबै पक्षलाई सहमतिमा ल्याएर संविधान जारी गर्न र आर्थिक विकासको मार्गमा अगाडि बढ्न नेपालका दलहरुलाई भारतीय प्रधानमन्त्रीले आग्रह गर्नुभएको हो ।
सबै पक्षको सहमतिमा संविधान जारी गर्न अध्यक्ष दाहाललाई आग्रह गर्दै प्रधानमन्त्री मोदीले त्यसका लागि हरप्रकारको सहयोग गर्न भारत सरकार तयार रहेको बताउनुभएको थियो । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन एमाओवादी र त्यसको नेतृत्वको हैसियतले अध्यक्ष दाहालले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै प्रधानमन्त्री मोदीले सबै पक्षलाई सहमतिमा ल्याएर संविधान जारी गर्नसमेत सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो । पछिल्लो समय संविधान निर्माण प्रक्रियाले गति लिएकामा भारतीय प्रधानमन्त्रीले अध्यक्ष दाहालसँग खुसी व्यक्त गर्नुभएको थियो ।
नेपालको आर्थिक विकासमा जस्तोसुकै सहयोग गर्न भारत सरकार तयार रहेको स्पष्ट पार्दै उहाँले जलविद्युत्, पर्यटन, कृषि तथा भौतिक पूर्वाधारको विकासमा लगानी गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो ।
एमाओवादी अध्यक्ष दाहालले नेपालमा निकट भविष्यमा नै संविधान जारी हुन लागेकाले भारतको सहयोग र सद्भाव आवश्यक रहेको बताउनुभएको थियो ।
प्रतिउत्तरमा पछिल्लो दिनमा प्रमुख राजनीतिक दलहरुबीच भएको १६ बुँदे सहमतिपछि संविधान निर्माणको ठोस आधार तयार भएको भन्दै अध्यक्ष दाहालले १२ बुँदे सहमतिपछि सुरु भएको सहमति र सहकार्यको यात्रा सफलताको दिशामा अगाडि बढेको बताउनुभएको उहाँका सहयोगी शिव खकुरेलले राससलाई जानकारी दिनुभयो ।
सबै राजनीतिक दललाई समेटेर सहमतिका आधारमा संविधान जारी गर्न नेपालका राजनीतिक दल प्रयत्नशील रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालको संविधान सबै पक्षको साझा दस्तावेज बनाउन क्रियाशील रहेकोसमेत भारतीय प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
संविधानको पहिलो मस्यौदा जनताका बीचमा पुगेको र सुझाव सङ्कलनको काम सुरु भएको उल्लेख गर्दै अध्यक्ष दाहालले अन्तिम मस्यौदा तयार हुने समयसम्म सबै पक्षलाई सहभागी गराइने र सहमतिमा ल्याइने बताउनुभएको अध्यक्ष दाहालका सहयोगी खकुरेलले जानकारी दिनुभयो ।
यसैबीच एमाओवादी अध्यक्ष दाहालले नेपाल र भारतबीच रहेको सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गर्नुभएको थियो । “गत साल व्यवस्थापिका–संसद्मा तपाइँले व्यक्त गर्नुभएको धारणाको नेपाली जनताले उच्च प्रशंसा गरेका छन् । पछिल्लो दिनमा चीन र भारतबीच भएको सहमतिमा लिपुलेकको विषयमा समेत कुरा उठेकाले त्यसलाई समाधान गर्न म आग्रह गर्दछु”, अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै खकुरेलले भन्नुभयो ।
अध्यक्ष दाहालले लिपुलेकको सन्दर्भमा देखिएको विवाद हल गर्न र अन्य स्थानमा देखिएको सीमा समस्यामा समेत ऐतिहासिक तथ्य र प्रमाणका आधारमा तत्काल निर्णय गर्न आग्रह गर्नुभएको थियो ।
नेपाल र नेपाली जनताको भावनालाई सम्मान गर्दै लिपुलेकलगायतमा सीमा समस्या समाधान गर्न भारत सरकारको पहल होस् भन्ने अध्यक्ष दाहालले आग्रह गर्नुभएको खकुरेलले जानकारी दिनुभयो ।
अध्यक्ष दाहालले काठमाडौँ–तराई द्रुत मार्ग, बाराको निजगढ विमानस्थल र ठूला जलविद्युत् आयोजनामा लगानी गर्न भारतीय प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको थियो । नेपालको आर्थिक विकास र बेरोजगारी समस्यालाई हल गर्न पनि ठूूला परियोजनामा भारतले लगानी गर्नु आवश्यक रहेको भन्दै त्यसको आवश्यक वातावरण मिलाउनसमेत नेपाल सरकार र राजनीतिक दल तयार रहेको बताउनुभएको थियो ।



तपाईको प्रतिक्रिया