काठमाडौँ १ श्रावण । अर्थमन्त्री डा रामशरण महतले बजेट राम्रो बनेको र अव यसलाई सफलतापूर्वक कार्यान्वयनमा लैजानुपर्ने विचार व्यक्त गर्नुभएको छ । अर्थमन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा मातहतका विभाग र कार्यालयका प्रमुखहरुलाई निर्देशन दिदै उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।
“तपाईहरुले बजेट निर्माणका क्रममा र स्रोत जुटाउनका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा प्रभावकारी काम गर्नुभयो ।” अर्थमन्त्री डा महतले भन्नुभयो, अव यसको कार्यान्वयन चुनौतीपूर्ण छ । कार्यान्वयनमा पनि तपाईहरुले सक्रिय भूमिका निर्वाह गर्नु आवश्यक छ । नत्र बजेट जतिसुकै राम्रो भएपनि सोचेजस्तो नतिजा प्राप्त हुन सक्दैन ।
बजेटमा जतिसुकै कार्यक्रमहरु राखेपनि सबैका माग पूरा हुन नसक्ने भन्दै उहाँले एकैबर्षको बजेटबाट सबै कुरा पूरा गर्न नसकिने बताउनुभयो । भूकम्पअघिको प्रक्षेपण गर्दै उहाँले भन्नुभयो, लगातार ५ प्रतिशत माथिको आर्थिक वृद्धि हासिल हुने स्थिति थियो । लगानीकर्ताहरु उत्साहित थिए । भूकम्पले गति केही रोकियो । तैपनि निराश हुनुहन्न । हामीले फेरि त्यो गति समात्न सक्नेछौं ।
उहाँको भनाई थियो, अर्थमन्त्रालयको सक्रियताले मात्र पुग्दैन । उनीहरुलाई तताउने काममा पनि आफ्नो तर्फबाट सक्रियता देखाउनुहोस । अन्य विकासे मन्त्रालयहरुलाई स्रोतको समुचित व्यवस्थापन गर्नु आवश्यक छ ।
राजस्व असूलीको लक्ष्य समात्न अझ सक्रियता देखाउन जरुरी छ । उहाँले भन्नुभयो, करदाताहरुको आत्मसम्मान कायम राख्दै असूलीमा जोड दिनु जरुरी छ । पेश्की खर्च विधेयक पारित भैसकेको जानकारी दिदै उहाँले अवरोध नहुनेगरी काम अगाडि बढाइहाल्न पनि निर्देशन दिनुभयो ।
यति ठूलो विनाशकारी भूकम्पपछि पनि दिनरात नभनी अर्थमन्त्रालयका कर्मचारीहरुले सहयोग जुटाउन आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलन र बजेट निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै कर्मचारीहरुलाई धन्यवाद दिनुभयो र यही भावनाले कार्यान्वयनमा लाग्न पनि निर्देशन दिनुभयो ।
सो अवसरमा अर्थसचिव सुमनप्रसाद शर्माले खर्चको अख्तियारी १ गते नै पठाइसकेको जानकारी दिनुभयो । त्यसैगरी राजस्व सचिव नवराज भण्डारीले बजेट निर्माणको जतिकै चुनौती कार्यान्वयनमा पनि रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा मन्त्रालयका विभिन्न महाशाखाका प्रमुख तथा अन्य कर्मचारीहरु, सम्पत्ति शुद्धिकरण विभाग, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग कर कार्यालयहरुका कर्मचारीहरुको सहभागिता रहेको थियो ।



तपाईको प्रतिक्रिया