काठमाडौँ, २९ असार । अर्थमन्त्री डा रामशरण महतले आज आज प्रस्तुत गरेको २०७२⁄७३ बजेटमा राष्ट्रसेवक कर्मचारीको तलब नबढाइउकामा कर्मचारी निरास भएका छन् ।
उनीहरुले सरकारको निर्णय तुरुन्त सच्याएर कम्तीमा १० प्रतिशत तलबवृद्धि गरिनुपर्ने माग गरेका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष पुण्यप्रसाद ढकालले महंँगी बढे पनि सोहीअनुरुप न्यूनतम जीवन निर्वाहका लागि राष्ट्रसेवकको तलबभक्ता नबढेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले सरकारको यो निर्णयले राष्ट्रसेवकको मनोबल गिर्ने र काममा उत्पे्ररित हुने भावना घट्ने बताउनुभयो ।
नेपाल निजामती कर्मचारी युनियनका सहअध्यक्ष शोभाकर रेग्मीले केही समयअघि अर्थ समितिको बैठकमा अर्थमन्त्रीले कर्मचारीको तलब बढाउने सार्वजनिक रुपमा घोषणा गरे पनि आफ्नै निर्णयबाट पछाडि हट्नु दुःखद भएको बताउनुभयो । उहाँले भन्नुभयो–“सरकारको कोषमा पर्याप्त मात्रामा रकम रहे पनि तलब बढाउन कन्जुस्याइँ गर्नुले कर्मचारीको मनोबल गिरेको छ ।”
कर्मचारी सङ्गठनका नेताहरुले भूकम्पलगत्तै १५ दिनसम्मको तलब राष्ट्रसेवकले दिएको तथा उद्धार तथा राहतमा स्वयम्सेवका रुपमा काम गरेको भूमिकाको सरकारले उचित कदर गर्न नसकेको गुनासो गरेका छन् । तलब वृद्धिका लागि सबै कर्मचारी सङ्गठन मिलेर छलफल अगाडि बढाउने जानकारी उनीहरुले दिएका छन् ।



तपाईको प्रतिक्रिया