Khadya Bibhag

राजदूत रञ्जित रे र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ, असार २८ गते । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपालका लागि भारतीय राजदूत रणजित रायसँग आज भएको भेटवार्तामा असन्तुष्टिका आवाजलाई मुलुकको बृहत्तर हित र राष्ट्रिय समृद्धिका आधारमा विश्लेषण गर्दै संविधान निर्माणका लागि अन्तिम समयसम्म पनि अधिकतम सहमतिको प्रयास गरिने बताउनुभयो ।

आफ्नो निवास कोटेश्वरमा आज साँझ भएको भेटमा पूर्वप्रधानमन्त्री नेपालले संविधान निर्माणमार्फत अहिलेको सङ्क्रमणकाललाई छोट्याउन र आर्थिक विकासको बाटामा अघि बढ्न राजनीतिक दलको प्रयास जारी रहेको र छिट्टै यसले पूर्णता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा राजदूत रायले नेपाल छिटो संविधान निर्माण गरी आर्थिक समृद्धिको बाटामा द्रुत गतिका साथ अगाडि बढेको हेर्न भारत आतुर रहेको र एक असल छिमेकीका नाताले यसका लागि आवश्यक सहयोग गर्न समेत तयार रहेको बताउनुभएको थियो । नेपालको संविधानको मस्यौदामा व्यक्त असन्तुष्टिका बारेमा समेत उहाँले जिज्ञासा राख्नुभएको थियो ।

उहाँहरुबीच नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध तथा यसलाई थप बलियो बनाउन दुई देशबीच भएका सहमति एवम् समझदारीको कार्यान्वयनका विषयमा समेत कुराकानी भएको नेता नेपालका स्वकीय सचिव गौतमले जानकारी दिनुभयो । त्यस्तै नेपालको पछिल्लो राजनीतिक अवस्था, राजनीतिक दलबीच भएको पछिल्लो सहमति, संविधानसभाबाट पारित मस्यौदाले संविधान निर्माणमा पार्ने सकारात्मक भूमिका एवम् नेपाल भारत सम्बन्धका विविध विषयमा पनि कुराकानी भएको जनाइएको छ । 

तपाईको प्रतिक्रिया