काठमाडौँ, असार २८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानको अन्तर्वस्तुमा पर्याप्त छलफल नभई नियमावली निलम्बन तथा संविधान मिच्ने गरी तयार गरिएको मस्यौदामाथि जनताको सुझाव सङ्कलन गर्ने कार्यमा पार्टीका सभासद् सहभागी नहुने निर्णय गरेको छ ।
सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा केन्द्रीय पदाधिकारीसहितको आज बसेको बैठकले ‘सर्वोच्च अदालतको अन्तरिम आदेशको अवज्ञा हुने गरी सुरु गरिएको प्रक्रिया र मस्यौदा’प्रति पार्टी सैद्धान्तिकरुपमा असहमत रहेको ठहर गरेको सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा बसेको बैठकले सुझाव सङ्कलनका लागि आगामी साउन ५ र ६ गते जम्मा तीन घण्टा छुट्याउनुप्रति असन्तुष्टि व्यक्त गर्दै वर्षाको समयमा निर्वाचन क्षेत्रको एक स्थानमा मात्र जनमत सङ्कलनको कार्यक्रम राखिएकाले जनताको उत्साहपूर्ण सहभागिता हुन नसक्ने निष्कर्ष निकालेको छ ।
पार्टीले उठाउँदै आएको हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्र र सङ्घीयताको विषयमा संविधानसभामा प्रस्ताव दर्ता हुन नदिइएको तथा त्यसलाई जनमत सङ्ग्रहमा नलगेकाले अहिलेको प्रक्रिया आँैचित्यहीन र महँगो अभ्यास हुने ठहर पनि बैठकले गरेको छ ।



तपाईको प्रतिक्रिया