Khadya Bibhag

संविधान निर्माणको प्रक्रियामा सहभागी हुन आग्रह ः विजय गच्छदार

विराटनगर, २६ असार । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक का अध्यक्ष विजयकुमार गच्छदारले संवैधानिक प्रक्रिया मिलाएर राजनीतिक सहमतिमा सीमाङ्कन पनि टुङ्ग्याउन सकिने बताउनुभएको छ ।
संविधानसभाबाट पारित ‘नेपालको संविधान २०७२ प्रारम्भिक मस्यौदा’मा जनताको रायसुझावपछि परिमार्जन हुन सकिने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्र्दै उहाँले संविधान जारी गर्ने विषय निर्धारित कार्यतालिकाअनुरुप नै हुने उल्लेख गर्दै कुनै कारणवश ढिलो भएमा बढीमा आगामी साउन २५ गतेभित्रै मुलुकले नयाँ संविधान पाउने विश्वास व्यक्त गर्नुभयो ।

“असन्तुष्ट दललाई सहमतिमा ल्याउन प्रधानमन्त्रीलगायत अन्य दलका नेता पनि प्रयासरत रहेकाले मधेसकेन्द्रितलगायत दललाई आन्दोलनको आवश्यकता हुँदैन”, उहाँले भन्नुभयो ।

आठ प्रदेशसहित प्रत्याभूत भइसकेका अवस्थामा सङ्घीयता खत्तम पारेको आरोप नलगाउन मधेसकेन्द्रित दललाई आग्रह गर्दै नेता गच्छदारले संविधान निर्माणको प्रक्रियामा सहभागी हुन उनीहरुलाई आग्रह गर्नुभयो ।

पत्रकारको जिज्ञासामा नेता गच्छदारले भन्नुभयो – “प्रेसलाई पनि मर्यादाभित्रै बस्नुपर्छ, नियम, कानुन र आचारसंहिताको पालना गर्नुपर्छ, यस विषयमा मस्यौदाकारहरुको कुनै तर्क होला तर म पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छु ।”

राष्ट्रपतिबाट मस्यौदामा देखिएका कमजोरी तथा असमझदारीलाई हटाउन सबै पक्षलाई स्वीकार हुने गरी मस्यौदालाई अझ परिमार्जित गर्नका लागि सुझाव दिनुभएकाले यसलाई चार दलले सकारात्मक रुपमा ग्रहण गरेको उहाँले स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया