Khadya Bibhag

नवलकिशोर यसरी भए दानवीर

महोत्तरी, असार १५ गते । महोत्तरीको सोनामाईमा एक नवलकिशोर यादवले स्थानीय विद्यालयलाई लाखौँ रुपैयाँ बराबरको आर्थिक सहयोग गरी दानवीरको सङ्ज्ञा पाएका छन् ।

अहिलेको कलियुग ९भौतिकवादी युग० मा कसैले कसैलाई एक रुपैँया हतपत सहयोग गर्न नचाहने समयमा सोनामाईका यादवले भोइल टिम्किया–२ स्थित जनता माध्यमिक विद्यालयलाई रु ३६ लाख आर्थिक सहयोग गरेपछि स्थानीयले यादवलाई दानवीर भन्ने सङ्ज्ञा दिएका हुन् ।

सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर बन्दै गएको समयमा यादवले विद्यालयलाई त्यति रकम दान गरेपछि त्यहाँका स्थानीयमा खुसियाली छाएको छ । संयुक्तराष्ट्र सङ्घमा कार्यरत यादवले उक्त विद्यालयको नाममा आफ्ना बुबा रामविलास यादवको नाउँ थप्न रु ३५ लाख र शौचालय निर्माणका लागि रु एक लाखसहित रु ३६ लाख दान गर्नुभएको हो ।

भौतिक संरचना अभावका कारण उक्त विद्यालयमा धेरै पहिले देखि पठन पाठनमा समस्या हुँदै आएकाले दाता यादवले उक्त रकम विद्यालयको भौतिक संरचना निर्माणमा खर्चिएर आफ्ना गाउँका विद्यार्थीलाई पठनपाठनमा सजिलो होस् भन्ने उद्देश्यका साथ रकम दान गर्नुभएको जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले बताउनुभएको छ ।

विद्यालयले आयोजना गरेको एक समारोहका बीच यादवले रु ३६ लाखको चेक एकमुष्ट रुपमा उक्त विद्यालयलाई हस्तान्तरण गर्नुभयोे । साथै, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिका लागिसमेत यादवले आफ्नी श्रीमती दुखनीदेवी यादवको नाउँमा अक्षय कोष खडा गर्नुभएको छ ।

उक्त अक्षय कोषबाट प्रत्येक वर्ष सो विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका प्रथम, द्वितीय र तृतीय स्थान ल्याउने विद्यार्थीलाई क्रमशः रु एक हजार ८००, रु एक हजार ५०० र रु एक हजार २०० का दरले छात्रवृत्ति प्रदान गरिने छ । विद्यालयका लागि रु ३६ लाख दान दिने नवलकिशोर यादवको यो कार्यलाई सोनामाई गाउँका स्थानीयले सराहनीय काम गरेको भन्दै धन्यवाद दिँदै खुसियाली व्यक्त गरेका छन् ।

यादवको सराहनीय कार्यलाई देखेर जिल्लाकै धिरापुरस्थित प्रावि र श्रीप्रावि खखानालाई पनि केही स्थानीयले जग्गा र नगद दान गर्न उत्सुकता देखाएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया