Khadya Bibhag

मधेशवादी दलले च्याते मस्यौदा, अन्य दलको पनि विरोध

काठमाडौँ, असार १४ गते । संविधानसभा, संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले आज राति बसेको बैठक संविधानको प्रारम्भिक मस्यौदा प्रतिवेदन, २०७२ पेस गरेका छन् ।
मस्यौदा प्रस्तुत गर्ने वित्तिकै मधेशवादी दलहरुले नाराजुलुससँगै मस्यौदाको प्रतिलिपी च्यातेको छ । मस्यौदा च्यातेपछि नाराजुलुस गर्दै मधेशवादी दलका नेताहरु बाहिरीएका थिए । संघीय समाजवादी पार्टी, तमलोपा, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टीका सभासद्हरुले नाराजुलुस गरेका थिए । कमल थापा अध्यक्ष रहेका राप्रपा नेपालले पनि विरोध जनाएका छन् ।
संविधानसभाको आजको बैठकमा सिटौलाले केही दलको फरक मतसहितको मस्यौदा पेस गरेका हो । दलबीच मस्यौदामा सहमति जुट्न नसक्दा आज अपराह्न ३ बजेका लागि निर्धा्रित बैठक राति ८ बजे सुरु भएको थियोे ।

थापाबाट जनमतसङ्ग्रह माग
बैठक सुरु हुनासाथ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कमल थापाले नेपालको अन्तरिम संविधान २०६३ को धारा १५७ र संविधानसभा नियमावली १५२ अनुसार सिटौलाले संविधानको मस्यौदा प्रस्तुत हुनु अगावै संवैधानिक राजतन्त्र, हिन्दू राज्य र सङ्घीयताका विषयमा जनमत गर्नुपर्छ भन्ने प्रस्ताव आफूले दर्ता गराएको स्मरण गराए । आफ्नो दलले २०७१ साल असोज २ गते सो विषयमा औपचारिक प्रस्ताव दर्ता गराएको जानकारी उनले बताए ।

संविधानसभामा कायम रहेको दुई तिहाइ सदस्यले जनमतसङ्ग्रहमा जानुपर्छ भन्ने प्रस्ताव ल्याएमा मात्र त्यसमा जान सकिने सभाध्यक्ष नेम्वाङले सभालाई जानकारी गराए । उनले ती विषयमा कार्य व्यवस्था परामर्श समितिको बैठकमा प्रस्तुत गरिने प्रतिबद्धता जनाए ।

बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवानले सर्वोच्च अदालतको आदेश विपरीत गएर प्रस्ताव पेस गरिएको भन्दै मधेसी, जनजाति, दलित तथा पिछडिएका वर्गलाई अधिकार नदिने संविधान आफूहरुलाई मान्य नहुने बताएका थिए ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का रुक्मिणी चौधरीले विगतमा गरिएको सहमति विपरीत मस्यौदा आएको भन्दै आपत्ति प्रकट गरे । नेपाली काँग्रेसका प्रदीप गिरी भने बैठकमा नियमापत्ति जनाउँदै बाहिरिएका थिए ।

लामो समयको प्रतीक्षापछि नेपालको संविधानको प्रारम्भिक मस्यौदा तयार भएको बताउँदै समितिका सभापति सिटौलाले नेपाली जनताले नेपाली जनताका लागि सुम्पेको अभिारास्वरुप आफूहरुले निकै लामो समसम्मको मेहनतबाट संविधानको मस्यौदा ल्याउन सफल भएको बताएका थिए ।

सात दशक लामो सङ्घर्षपछि जनताले संविधानको मस्यौदा प्राप्त गरेको बताउँदै उनले प्रस्तुत मस्यौदामा व्यापक छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने विचार व्यक्त गरे । नेता सिटौलाले प्रमुख दलका शीर्ष नेताको सुझाव तथा संविधानसभाका निर्देशनलाई शिरोधार्य गर्दै समितिले मस्यौदा निर्माणमा आफूलाई केन्द्रित गरेको बताए ।

मस्यौदामाथि जनताको रायसुझाव लिन बाँकी रहेको र त्यो क्रमशः संशोधन हुँदै जाने बताउँदै उनले राष्ट्रप्रतिको गहन दायित्व निर्वाह गर्न सभासद्हरू चुक्न नहुनेमा जोड दिए ।

संविधानसभाको अर्को बैठक यही असार १७ गते बिहीबार बिहान ११ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया