Khadya Bibhag

महाभूकम्पमा ६ दिनको पीडा

Add caption

–सुरेशकुमार यादव
जयप्रकाश गुप्ता नेतृत्व गरेको तराई मधेश राष्ट्रिय अभियानको उपत्यका समितिको अधिवेशन ११ बजे १२ गते उद्घाटन हुने कार्यक्रमको निम्तो थियो । त्यहाँ जानु पर्ने । कुनै सञ्चार गृहको लागि सो संगठनको उपत्यकाको अधिवेशन कुनै ठूलो समाचार होइन तर त्यहाँ जेपी गुप्ता प्रमुख अतिथि भएको कारणले समाचार बन्न सकिने संभावनाको आँकलन म जस्ता सञ्चारकर्मीले गर्नैपर्छ । त्यही भएर म निम्तो पाएदेखि नै आफ्नो सेडुलमा सो कार्यक्रमलाई राखेका थिए ।
काठमाडौ जिविस हलमा हुने कार्यक्रममा पुग्नुपर्ने भन्दै म ११ बजेदेखि नै हतारमा थिए । तर मेरो कान्छो छोरो आदित्यको लम्पटमा आधा घण्टा ढिलो भइसकेका थिए । मेरी श्रीमतीले एकछिन बाबु कहाँ बस्नु न म पसलबाट भाँडा माझ्ने साबुन लिएर आउँदैछु ।’ मैले ४५ मिटनभन्दा बढी ढिलो भइसक्यो भन्दै हतार हतार कोठाबाट निस्के । ब्याक निकालेर निस्के । कृषि पत्रकार प्रतिष्ठानको सोही दिन चियापान कार्यक्रम पनि थियो ११ः३० देखि । प्रतिष्ठानको संस्थापक सदस्य भएको नाताले मैले त्यहाँ पुग्नुपर्ने बाध्यता पनि थियो ।
सिहदरवारको पूर्वी गेटमा रहेको प्रतिष्ठानको सभाहलमा जानका लागि त्यहाँ बाइक रोके । प्रतिष्ठानका महासचिव गोविन्द शर्मा बाटैमा भेट भयो । त्यसको दुई मिनेटपछि प्रतिष्ठानका सदस्य पवन श्रेष्ठ पनि त्यही भेट भयो । कार्यक्रम ढिलो भयो भन्दै गोविन्द र पवनलाई गाली गर्न थाले तर मेरो गालीको वेवास्ता गर्दैै उहाँहरुले पख्नुस् न एउटा गेष्ट आउँदैछन् । उहाँ आउने वित्तिकै पाँच मिनेटमा कार्यक्रम शुरु हुन्छ, भन्नुभयो । गेष्टको प्रतिक्षामा रहेको उहाँ दुईजनासँगै म पनि बाटैमा उभिएर उहाँहरुसँग कुरा गर्न थाले । त्यही बेला विस्तारै हल्लायो । मैले जिस्केर भने, पवनजी भूकम्प आयो जस्तो छ । पवनले होइन, भने । पवनले होइन भन्ने वित्तिकै बेसरी हल्लाउन थाल्यो । बाटोमा बाइकमा हिडिरहेकाहरु लड्न थाले भवनहरु जोड जोडले हलिन थाल्यो । हामी तीनजना एक अर्कालाई समातेर सिहदरवारको भित्तासम्म पुग्यौ । हामी उभेको छेउमा ठूला ठूला भवनहरु थियो । ती भवनहरु जीउमा झर्ला झर्ला जस्तो भइरहको थियो । हामी एकअर्कालाई समातेर उभिरहेका थियौं ।
एकैछिनमा त बाटोमा कोलाहल मचि सकेको थियो । मान्छे रुदै । छटपटाउँदै थिए । प्रतिष्ठानका अध्यक्ष राजेश वार्मा हलबाट तल झर्नुभयो । उहाँले आफ्नो घरमा फोन लगाई रहनु भएको थियो । फोन लागि रहेको थिएन । उहाँ मसँग मेरो फोन माग्दै रुन थाल्नु भयो । त्यतिबेलासम्म मैले आफ्नो डेरामा श्रीमतीको मोबाइलमा फोन लगाई सकेका थिए । तर, फोन उठि रहेका थिएन । मैले सोचे । भाग्ने बेलामा कोठामा फोन छाडेर बाहिर भागेको होला । फेरि अर्को झटका आयो । अलि शान्त भइसकेको कोलाहल फेरि शुरु भयो ।
त्यसपछि अब होइन कोठा जानै पर्छ । के भयो बुझ्नु पर्छ । अघि भूकम्प आउँदा बाइक लडेको देखेको हुनाले बाइक लिएर हिड्नै मन लागेन । म हिडेरै कोठा आउन थाले । राजेश जी प्रतिष्ठानका सदस्य किरण आचार्यको बाइकमा कोठातिर जानु भयो । बाटोमा भिड यस्तो थियो कि हिड्न पनि गाह्रो भइरहेको थियो । एउटा पत्रकारको नाताले आज बाहिर के भयो । कहाँ कति क्षति भयो बुझ्नका लागि कुद्नुपर्ने तर बिडम्बना घरमा बालबच्चाका अवस्था बुझ्नका लागि कुद्नु परेको छ । त्यतिबेलासम्ममा कहाँ के भयो केही कुराको भेउ पाइसकेका थिइनन् । मोइबल पनि डिस्टर्व थियो ।
बाटोमा मेरो घरभेटीको छोरासँग भेटभयो । उनले म्याडमलाई चोट लागेको छ । छिट्टो जानुस् भनि छोटो सुचना दिई आफ्नो बाटो लागे । म मा त्यतिबेलासम्ममा कुनै डर क्रास थिएन । त्यसपछि अलिकति डराए । हतार हतार गरी कोठातिर लम्के । त्यहाँ जाँदा त सबैजना बाहिरै छन् । तर मेरी श्रीमती ललिता मेरो कोठाको कम्पाउण्डको गेटमा कान्छो छोरालाई काखमा लिएर बसि रोइरहेका छिन् । ठूलो छोरा शेखर त्यही आमाको छेउमा उभेर टोलाइ रहेका छन् ।
मैले आदित्यलाई काखमा लिई के भयो किन रोएकी भनि उनलाई समातेर उठाउन प्रयास गरे । तर उनलाई उठ्न निकै गाह्रो भइरहेको थियो । उठ्ने बेला झनै रुन थालिन् । त्यहाँ हुँदा अर्को झटका पनि आयो । म बच्चालाई लिएर ललितालाई उठाएर बाटोसम्म लग्नमा असमर्थ थिए । ललिता पनि हिड्न सकिरहेका थिएन । उनलाई बलियो सहाराको आवश्यकता थियो ।
त्यतिबेलै त्यही छिमेकी घरमा बस्ने लक्ष्मी भने एकजना केटी आइन् र भनिन् के भयो दिदीलाई । ल हट्नुस् त म समाति दिन्छु । म अलि त्यहाँबाट हटे । लक्ष्मीले ललितालाई समातेर जसो तसो बाटोसम्म लगिन् ।
बाटोमा लगेर ललितालाई बसाइ दिइन् । म त्यहाँ गए । ललितालाई सोधे कसरी भयो यस्तो अनि उनले रुदै भनिन्, म बाबुलाई घरम सुताएर पसल गएका थिए भाडा माझ्ने साबुन ल्याउन । त्यतिकैमा भुकम्प आयो । बाबुलाई उठाउन कोठा दगुरेर जाँदा बाटोमा तीनचार पल्ट लडेको र घुँडामा चोट लाग्यो ।
कुरा सुनेपछि समान्य चोट लागेको होला । भर्खरको चोट भएको हुनाले अलि दुखेको हुनुपर्छ । मैले त्यही उभिरहँदासम्म तीन पटक हलाई सक्यो । सबै मान्छे घर छाडेर मुख्य सडकमा भागि सकेका थिए । मैले दुईटा बच्चासहित ललितालाई कुरेर त्यही बसेका थिए । अरु एकजना बुढो मान्छेलाई लिएर त्यही बसेका थिए । बुढो मान्छे हिड्न नसकेर त्यही कुर्सीमा बसाएको थियो । त्यही बेला मधेशी पत्रकार संघका कञ्चना झा र सहारा टाइम्सका विजय यादव पनि आइपुगे । कञ्चनाले मेरो म्याडमको हालचाल सोधेर सन्त्वना दिई आफ्नो घरतिर लागिन किनभने उनको घरमा उनका बच्चाहरु एक्लै थिए । मैले विजयलाई सिहदरवारको पूर्वी गेटबाट बाइक ल्याउन चाभी दिए । त्यतिबेला नै अर्को झटका पनि आयो । हामी त झन आतियौ । त्यहाँबाट बुढालाई लग्ने भनि उनको मान्छेहरु आयो तर म एक्लै, ललितालाई समात्ने कि बच्चा समात्ने । म निकै आत्तिए । भित्रै भित्रै रोइरहेका थिए म । अब यो जिन्दगी इश्वरकै हातमा भन्दै निराश भएर त्यही उभि राखे । वरिपरीको घरमा कोही थिएन त्यो ठाउँ पूरै सुनशान भयो ।
त्यतिकैमा त्यही लक्ष्मी आइपुगिन् र भनिन्, दिदी यहाँ बस्नु हुँदैन जाउँ बाटोमा सबैजना त्यही छन् । जाउँ म लगदिन्छु । उनले ललितालाई समातेर जसोतसो मुख्य बाटोसम्म लगे । पुरानो अन्नपूर्णपोष्टको अफिस अगाडि सिहदरवारको छेउमा । त्यहाँ मान्छे टन्नै थियो । त्यहाँ गएपछि ललितालाई चिनेकी एकजना आइमाई जो हाम्रै छिमेकी हुन् । उनले के भयो दिदीलाई भन्दै एउटा कुर्सी ल्याएर दिइन् ।
डक्टरलाई देखाउनु पर्ने सुझाव चारैतिरबाट आयो । त्यतिबेलासम्ममा एउटा खबर आयो कि सुन्धाराको धरहारा ढलि सक्यो रे । सिहदरवारको बारहरु पनि ढलि सक्यो । कुपण्डोलको एउटा घर भत्कियो । नयाँ बस पार्कमा पनि घरहरु भत्कियो, वसन्तुपुर हनुमानढोका पुरै ध्वस्त रे लगायतका कुराहरु सुन्न थालियो । म पत्रकार मान्छे, भत्केका घरहरुको रिपोर्टिग गर्नुपर्ने तर बाध्यता भयो । त्यतिबेलासम्मा विजय पनि बाइक लिएर आयो । मैले विजयलाई अस्पतालहरुको अवस्था बुझेर आउन भने । उनी नेपाल मोडेल अस्पताल र घट्टेकुलामा रहेको एक अस्पताल बारे बुझेर आए । मोडेल अस्तालमा खुट्टा टेक्ने ठाउँ छैन रे । भूकम्पबाट घाइते भएकाहरु अस्पताल भरि छन् । घट्टेकुलोको अस्पतालमा डाक्टर छैन सामान्य प्राथमिक उपचार मात्र गरिरहेका छन् ।
मैले सोचे प्राथमिक उपचार भएपनि एकचोटी देखाई हालौ भनेर विजयसँग ललितालाई बाइकमा चढाएर अस्पताल पठाए । मैले आफ्ना दुइटै छोरालाई बोकेर अस्पताल हिड्दै गए ।
अस्पतालमा चेकअप भयो । एक्स्रे भयो । त्यहाँ भएका डाक्टरका अनुसार हाडमा केही भएको छैन । चोट मात्रै लागेको छ । त्यसका कारण रगत जमेको छ । विस्तारै निको हुन्छ तर हाडको डाक्टरलाई एकपटक देखाउन पनि सल्लाह दिए ।
अस्पतालमा हुँदासम्म दुईपटक झटका आइसकेको थियो । अर्को झटका आएपछि हतार हतार त्यहाँबाट निकालेर त्यही अगाडि खाली जग्गामा थुप्रै मान्छेहरु बसिरहेका थिए त्यही लगे । विजयको सहयोगमा । सायद त्यो दिन विजय नभएको भए हाम्रो हालत के हुन्थ्यो कल्पना गर्दा पनि डर लाग्छ । विजयलाई बाइक चलाउन आइरहेको कारणले पनि मलाई सजिलो भएको थियो । खाली ठाउँमा लगेर बालबच्चासहित बसे । त्यही अगाडि विजयको डेरा पनि सहारा टाइम्स तथा मधेशी पत्रकार संघको पनि कार्यालय थियो । त्यहाँबाट विजयले कुर्सीहरु ल्याएर दियो ।
ललिता कुर्सिमा बसिन् । म चाहिँ त्यही आफ्नो छोरा आदित्यलाई बाकेर उभिरहे । भूकम्प आइरहेका कारणले कतै जान सकिरहेका थिइन् । पत्रकार भएको कारणले भूकम्पबाट भएको क्षतिको विषयमा जानकारी लिन मन छटपटी रहेको थियो तर ललिताको त्यो अवस्था र साना साना बच्चा भएको कारणले कतैपनि गइनन् । सहारा टाइम्सको अफिसमा गएर एकछिन यसो नेट चलाए । हतार हतारमा फेसबुक चलाएर त्यहाँ राखिएका फोटो र स्टाट्सहरु पढे । राम्रोसँग डाटाहरु पढ्न पाइनन् । भूकम्प आउला कि भनि मनमा त्रास थियो । कम्प्यूटर बन्द गरेर तल झरे । फेसबुकको स्टाट्सहरु पढ्दा लाग्यो देशमा ठूलै विपत्ति आइ परेको छ । दिन ढल्दै थियो । भोक प्यास सबै हराई सकेको थियो । ११ बजे खाएको तर अझै भोकको नामो निसान छैन । छोराहरु चाउ चाउ र बिस्कुटमै थियो । बेचाराहरुलाई यो विपत्तिको बारेमा के थाह । उनीहरुको लागि त रमाइलो भएको थियो । खेल्ने ठाउँ खुल्ला भएको कारण छोराहरु रमाई रहेका थिए तर हामी दुई थियौं पीडामा ।
साँझ परेपछि विजयले आफ्नो कोठाबाट केही ओछ्याउने र ओढ्ने ल्यायो । म पनि कोठाबाट केही ल्याएका थिए । त्यहाँ बसेकाहरु मध्ये मेरो श्रीमती मात्र घाइते भएको कारण सबैको नजर यतै थियो । ललितालाई उठाउँदा बसाउँदा साह्रै अप्ठ्यारो थियो । चारै प्राणी एकैठाउँमा गटुमुटिएर १२ गतेको राती त्यही सुते । कसैको टाउको खुट्टाको ठेगान थिएन नसिरानीको ठेगान थियो । भोकै सुते । सुताइ त के हुनु । रात काट्ने काम मात्र भयो । घुँडाको चोटले ललितालाई सुत्न दिएन फेरि पराकम्पन आइरहेको कारण रातभरि हलीखली भई राख्यो । मान्छे हिड्ने बाटोको छेउमै सुतेका थिए । हिड्ने मान्छेले मेरो ओछ्यानलाई कुल्चेर हिडिरहेका थिए । दुखको बेला अरुले सोच्नुपर्ने कुरा हो तर मैले के भन्ने ?
बैशाख १३ गतेको विहानको घाम उदाई सकेको थियो । तर झड्का दिन छाडेका थिएन । कसैले २४ घण्टासम्म यस्तै आउँछन् भनिरहेका थिए भने कसैले ७२ घण्टासम्म यस्तै रहन्छन् । कसैले अन्तराष्ट्रिय जगतमा आएको भूकम्पका कुरा पनि उठाउँथे । तर त्रास सबैमा थियो ।
मैले ललितालाई सोधे चिया खाने हो, उनले ब्यथित मनबाट भने, अँह । म पनि केही खाइनन् । बाटोको बास कहिलेसम्म हुने थाह छैन । कसैले यसको बारे सुनिश्चितता गर्न सकिदैन तर एउटा विज्ञ जस्तो, वैज्ञानिक जस्तै, ज्योतिष जस्तै सबैले आआफ्नो अड्कल दिन छाडेका थिएनन् । मैले पछि गएर बुझे त्रास त्यहाँबाट पो उत्पन्न हुँदो रहेछ । असलियत के हुन्छन् तर अडकल के काटिरहेका हुन्छन् त्यस कारणले मान्छेमा त्रास उत्पन्न भएको हुन्छ । घाम उदाएको, धुलो धुँवाबाट आजित भइसकेका थिए हामी । के गरौ नगरौ जस्तो भएको थियो । यो दुखको घडीमा विजय साथै थियो । अन्तिममा निर्णय गरे जे हुन्छ हुन्छ कोठै जाउँ मरौला त्यही मरौला । विजयलले ललितालाई बाइकमा चढाएर कोठा पुर्याए दिए । म पनि छोराहरुलाई बोकेर कोठा गए । घरपेटीहरु कोही थिएनन् वरिपरीको घरमा पनि कोही बसेका थिएनन् । कोही आएपनि चाँडै निस्केर जान्थ्यो ।
म कोठामा जाने वित्तिकै घरमा राखेका देवतालाई धुप देखाएर खाना बनाउन थाले । उता ललिता र छोरा शेखरलाई ब्रश गर्न लगाए । चिया पकाएर ललितालाई दिए म पनि खाए । १०.३० बजेको थियो । खाना पाकि सकेको थियो । सबैजना डराई डराई खाए । कतिबेला भूकम्प आउँछन् भने ठेगान थिएन । आँटै गरेर बालबच्चासहित कोठामा बसेका थिए । रातीको थकानका कारण ललिता पनि भूइमै सुतिन् । म ओछ्यानमा दुईटै छोरालाई लिएर सुत्ने प्रयासमा लागिरहेका थिए तर छोराहरु सुत्न दिए पो । त्यतिकैमा ठूलो झटका आयो । घरलाई बेसरी हल्लायो । घर डर्लम लडला जस्त भइरहेको थियो । हामी जहाँ थियौ त्यही भगवानको नाम लिएर बसिरहेका थियौ । ललिताले पशुपतिको नाम जोड जोडले लिइ रहेकी थिएन् । पछि सम्झदा त हाँसो पनि उठ्यो तर भनिन्छ दुखमा मात्र मान्छेले इश्वरको नाम लिन्छन् । झट्का ठूलो भएपनि छोटो समयको थियो । कति रेक्टरको थियो भने त्यो बेला ठम्याउन सकिन ।
भूकम्प जाने वित्तिकै विजय दगुरेर आए । हामी निकै डराएका थियौ । विजय आएपछि कोठामा बस्नु हुँदैन भन्दै जाउ जाउँ भन्न लाग्यो । कोठामा आउनु अघि उनले ११ बजेतिर भूकम्प आउँछन्ले ठूलै आउँछन् रे । तर मैले पत्याएको थिइनन् । त्यही कुराको याद दिलायो, विजयले । कोठामा नबस्ने सोचेर त्यहाँबाट निस्कियौ । झण्डै हामी भात खाइ सकेका थियौ । त्यही घट्टेकुलोको पुरानो ठाउँमा गएर बसे । घाम मधुरो थियो । पानी पर्ला पर्ला जस्तो थियो । विजयले फेरि ओछ्यान ल्याएर राख्यो । हामी त्यही बाटैमा बस्यौ । त्यतिबेलासम्म पनि मैले आफ्ना बालबच्चालाई छाडेर कतै जाने अवस्थामा थिइनन् । यति मान्छे मरेका छन् कि अब काठमाडौमा महामारी फैलिनेछ भन्नेसम्मको हल्ला फैलियो । लाश कुहिएर त्यसको गन्ध काठमाडौभरि फैलिनेछ र विभिन्न रोगहरु फैलिने अड्कल काटिरहेको थियो । तर झट्का कायमै थियो । त्यो दिन दिनैभरि त्यही बसे । ललिताको घुँडामा बेला बेलामा मलहम दलि दिन्थे । औषधी खुवाउथे । बच्चा खेलाउथे त्यही काम थियो मेरो । ललिता आफ्नै साहारामा कतैपनि हिडडुल गर्ने अवस्थामा थिएन । ट्वाइलेट पनि मैले नै पुर्याइ दिनुपथ्र्यो । त्यहाँ नबसाइ दिँदासम्म आफै बस्न अवस्थामा पनि थिएन ।
राती सुख्खा चाउ चाउ खाएर रात बिताए । छोराहरु विस्कुट खाए । विजय पनि हामीसँगै चाउ चाउ खायो । बेला बेलामा झटका आउने कार्य पनि जारी थियो । अलिकति हल्लाएपछि मान्छे बुरुक्क उठेर भाग्न खोज्थे आफ्नो ठाउँबाट तर बेचारा हामी कहाँ भाग्ने । भाग्ने अवस्था पनि थिएन हामीसँग । विहानैदेखि पानी पर्न शुरु भएको थियो । त्यहाँबाट उठेर त्यही रहेको चिया पसलको छेउमा गएर हामी बस्यौ विजय समेत । विहानको ३–४ बजेको थियो सायद । ललितालाई एक कप चिया खुवाई दिए । कान्छो छोरा मेरो काखमा सुतिरहेको थियो भने जेठो छोरालाई एउटा कुर्सीमा सुताई दिएका थिए । ललिता त्यही पसको छेउमा ओत लागेर पीडाको मुद्रामा बसेकी थिइन् ।
पानी पर्न बन्द भएपछि झिसमिसे उज्योलो भइसकेको थियो । तैपनि ओछ्यान ओछायाएर पल्टे तर सुत्न सकिएन । विहान भयो । मान्छेको चहल पहल बढ्यो । उठेर बसे । जेठ १४ गते सोमवारको दिन थियो । पानी परेपछि झन भूकम्प आउँछन् भने कुरा पनि आयो । त्यस्तो उड्न्ते कुरा कति आयो कति । तर मौसम त्यति ठिक थिएन । कुनबेला पानी पर्ला भने ग्यारेन्टी थिएन । खाना खानुपर्छ भन्दै हामी कोठामा गयौ । विजयले हामीलाई पुर्याई दियो । तर यति हुँदा पनि विजय हाम्रोमा कहिले खाना खाएनन । जति भन्दा पनि कुनै नकुनै बहाना बनाएर निस्कि हाल्थे । ट्वाइलेट जाने अवस्थामा ललिता थिएनन् । हाम्रो ट्वाइलेट अलि अग्लो थियो त्यहाँसम्म चढ्न गाह्रो हुने भएपछि कोठामै बाल्टिन ल्याएर दिए । दिसा पिसाब त्यसैमा गर्ने बाध्यता थियो ।
उनले लुगा पनि चेन्ज गरे । म खाना पकाए । सबैलाई खान दिए । आफू पनि खाए । सबैमा त्रास छँदै थियो । कतिबेला भूकम्प आउला भने ठेगान थिएन । हामी खाइसकेपछि विजयलाई फोन गरेर बोलाए । विजय आएपछि त्यही बस्दै आएको ठाउँमा गए । अघिल्लो दुई दिन सुतेका ठाउँभन्दा अलि फरक ठाउँमा ओछ्यान लगाए । विजयलाई एकछिन कता बाहिर जानु थियो, बाइक लिएर गयो । ललितालाई चिन्ने केही आइमाईहरु पनि त्यही थिइन् । बच्चालाई स्कूल पुर्याउन र लैजाने अवस्थामा उनले धेरै महिलाहरुसँग चिनजान गरेका थिए । उसलाई सो चिनजान काम लाग्यो कुराकानी गर्नका लागि । राती हामी त्यही सुत्ने विचार गर्यौ । खानामा कुनै च्वाइस थिएन । विस्कुट चाउ चाउ खायौ । राती खानुपर्छ भने कुरामा कोही अल्झेका थिएन । त्यही छेउमा सेनाको ब्यारेक रहेछ उनीहरुले एउटा ठूलो तिरपाल ल्याएर त्यहाँ झुण्डाई दिए । हामी त्यहीभित्र बस्यौ । तर राती पानी पर्न थालेपछि कोही भित्र बसेन । पानी भित्र पस्यो । उभिने ठाउँ पनि रहेन ।  अनि विजय आयो । सहारा टाइम्सको कार्यालयको गल्लीमा हामी सबैजना सुतियौ । आनन्दले दुई दिन राम्रोसँग सुत्न नपाएको कारणले त्यहाँ गल्लीमा राम्रोसँग सुतियौ ।
झट्का आउन केही कम भएको थियो । मान्छेहरु आआफ्नो घर फर्कि रहेको थियो । हामी पनि १० बजेतिर कोठामा आयौ । पानी पर्दै थियो । पानी कहिले बन्द हुन कहिले पर्ने जस्तो भइरहेको थियो । वितेको रातमा घर जानुपर्छ भनि बसबालासँग कुरा गरेका थिए राती फोन गर्नु भनेको थियो । अब काठमाडौ नबस्ने घर जाने भनि पुरै मुड बनाई सकेका थिए । गाडीवालाहरुको सम्पर्क थिए ।
कोठामा घर जाने भनि तयारी गरेर बसेका थिए । घर त जाने तर गोजीमा सुको पैसा थिएन । बैंकहरु सबै बन्द थियो । एटीएमहरु कुनै काम गरिरहेका थिएन । मैले बाइक लिएर बानेश्वर, न्यूरोड, कुपण्डोल सबैतिर चहारे । कतै पाइन । पैसा नभएको कारण म निराश भए । पैसाको कारण घर जान पाइदैन कि जस्तो लागेको थियो । यस्तो बेलामा साथी भाइसँग सापटी माग्नु राम्रो होइन जस्तो लागेर कसैसँग मागेनौ । ओम शर्मा सरसँग अलि कति पैसा लिनुपर्ने थियो । उहाँलाई फोन गरे । संयोगले उहाँ पाँच हजार रुपियाँ दिएर सहयोग गर्नु भयो । ठूलै राहत भयो ।
डर त्रासका कारण यति मान्छेहरु काठमाडौ छाडेर गइरहेका थिए कि त्यसका कुनै गिन्ति थिएन । काठमाडौ छिर्ने बस कलंकीमै फुल हुन्थ्यो । बस पार्कसम्म आउनै पर्दैन्थ्यो । कोठामा गएर खाना पकाए खाए । त्यो दिन रुकेश पनि आयो । फोन गरेर बोलाएका थिए । एउटा बसबालासँग कुरा गरेका थिए । उनले तपाईहरुलाई जसरी पनि काठमाडौबाट लग्छु भनेका थिए बुधवार विहान तयार रहन बसबालाले भनेका थिए ।
एउटा बसबालाले राती ३ बजे फोन गर्न भनेको थियो । मैले फोन गरे । उनले हामी त काठमाडौबाट फर्कि सक्यौ भन्यो । रिस त उठ्या तर गर्ने के । बसको टिकट काट्ने प्रकाशलाई फोन गरे उनले पनि बस भइहाल्छ नि सुरेशजी मलाई आधा घण्टा पछि गर्नुस् भन्नुभयो । मैले आधा घण्टापछि फोन गर्दा त उहाँको पनि मोबाइल अफ थियो । त्यो राती जीवनमा पहिलो पटक ठूलो डर लागेको थियो । हामी सबै त्यही कोठामा थियौ । हामी दुई दाजुभाइ त्यही थियौ । श्रीमती ललिता र दुई छोरा पनि त्यही कोठामा थियो । भूकम्पले यो घर ढल्यो भने हाम्रो वंश नै नाश हुन्छ भन्ने कुरा सोचेर तनाव भइरहेको थियो । राती कोठामा हुँदा नै तीन चारपटक भूकम्प आएको थियो । त्रासको सिमा नै थिएन । भूकम्प आएपनि हामी भाग्ने अवस्थामा थिएनौ ललितालाई लिएर । हामी भगवान भरोसे कोठामा थियौ ।
राती सबै बसबालाले धोका दिएपछि राती विहान नहुँदै बीपी यादवलाई फोन गरे । तर उहाँको पनि फोन उठेन । सुनैनालाई पनि पटक पटक फोन गरे । उसको पनि फोन उठेन । झन तनाब बढ्दै गयो । अब कहाँ जाने फेरि अघिकै ठाउँमा जाने हो त तर त्यहाँ जाने मेरो इच्छा थिएन । बरु जसरी पनि घर नै जाने । हावाई जहाजको टिकटका लागि पनि विष्णु साहलार्य फोन गरे उनले पनि टिकट कुनै पनि हालतमा हुँदैन । मेरो बच्चाहरु पनि सडकमै छन् । टिकट नपाएर घर जान सकिरहेका छैन । पछि ६ बजेतिर बीपी यादवले आफै फोन गर्नुभयो । मैले आफ्नो अवस्थाको बारेमा सुनाए ।
जसरी पनि घर जानुपर्छ भनि कुरा सुनाए । उनले चिन्ता नलिनु म गाडी लिएर आउँदै छु तपाईहरु तयार भएर बस्नु । मेरो आधा त्रास त्यतिबेला नै हरायो । बीपी यादव सात बजे आई पुगे । अलि अलि राती नै तयारी गरेका थिए । जे जस्तो अवस्थामा थिए । ललितालाई र दुई छोरालाई गाडीमा चढाई दिए । रुकेश आउने कुरा बुझेर विजय पनि आफ्नो घर (सर्लाही) गएका थिए । उता गएपनि सम्पर्क गरिरहेको थियो ।
बीपी सरले गाडीमा सबैलाई हालेर गएपछि म पनि बाइक लिएर गएन । बीपी घरमा गएपछि पहिलो कार्य ललितालाई जचाउँनुपर्ने भयो । हामी त्यहीबाट सातोबाटोस्थित स्टार अस्पतालमा गए । एक्स्रे गराए । त्यहाँ उपलब्ध डक्टरले केही भएका छैन भने । चोटपटक लागेको छ केही दिनमै निको हुन्छ भनि केही औषधी र मलहम दियो । क्रया्क ब्याण्डेज पनि लगाई दिए । बीपी सरहको बालबच्चा पनि सबै बाहिर पालमुनी बसेका थिए त्यही घर नजिकै । विहानको खाना पाकिसकेपछि हामी खाना खायौ । मौसम ठिक थिएन । धेरै दिनपछि ललिताको अनुहार हँसिलो देखेका थिए । उनले भनेका थिए, यहाँ आएपछि त मेरो आधा दुख हरायो । पीडा नै कम भयो । आफ्नै जस्तो लाग्यो यहाँ ।
सद्भावना पार्टीका नेतृ सुरिता साह पनि त्यही भेट भयो । उनी आफ्नै गाडीमा छोरा सहित बसेकी छिन् । गाडीमै बसेर केही छिन् कुराकानी गरे । यता सिरहाबाट देवनारायण साहले एउटा गाडीबालासँग मेरो लागि कुरा गरेका थिए । म पनि सम्पर्कमै थिए । विहान ४ बजे गौशालामा गाडि चढ्न आउन भन्यो गाडि बालाले । घर जाने कुरा कन्फर्म भयो । यो कुरा बीपी यादवलाई पनि भने । राती बीपी यादवको गाडीमै सुते बीपी यादवसँगै । गाडीमा मेरो छोरा शेखर र बीपीको छोरा रौनक पनि सुतेको थियो । बीपी यादवले विहान चार बजे नै गौशाला पुर्याई दिनु भो हामीलाई हामी गाडी चढेर सिरहा पुग्यौ विहिबार । र त्यहाँबाट नागेश्वर र श्रीदेवको बाइकमा घर गयौ ।
१२ गते आएको भूकम्पपछि म पाँच दिनसम्म काठमाडौमा थिए । त्यसबेला मलाई मधेशी जनअधिकार फोरम नेपाल गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, नेकपा माओवादीका अध्यक्ष मातृका यादव, कान्तिपुरका पत्रकार दिनेश यादव, मधेशी पत्रकार महासंघका उपाध्यक्ष पंकज दास, तराई मधेश लोकतान्त्रिक पार्टीका जितेन्द्र सोनल र बीपी यादव, सद्भावना पार्टीका योगेन्द्रराय यादवले फोन गरेर मेरो र मेरो परिवारको बारेमा जिज्ञासा राख्नु भएको थियो । उहाँहरुलाई हार्दिक हार्दिक धन्यवाद । आपत्तको बेला सम्झिने नै असल मित्र हो भने कुरा मैले बुझेको छु ।

तपाईको प्रतिक्रिया