Khadya Bibhag

पीडितको घरसम्म सरकार अझै पुगेको छैन

–बिपी यादव
केन्द्रीय सदस्य, तराई मधेश लोकतान्त्रिक पार्टी

देशमा त ठूलो विपत्ती आई लाग्यो तपाई पनि एउटा राजनीतिक कार्यकर्ता हुनुहुन्छ यसलाई कसरी लिनु भएको छ ?
–यो देशमा कल्पना नै नगर्न सकिने जस्तो विपित्त आइसकेको छ । यसलाई सबैले मिलेर सामना गरिएन भने देश असफल हुनेछ । अहिले यो पार्टी त्यो पार्टी नगरेर एकीकृत भएर कार्य गर्नुपर्ने आवश्यकता आएको छ । र, यसको नेतृत्व सरकारले गर्नुपर्ने हुन्छ तर यहाँ कस्तो देखिएको छ भने सरकार पछि पछि नीजि क्षेत्र अघि अघि भएको छ । भूकम्प आएको पनि आज एकसताभन्दा बढी भइसकेको छ । तर, सरकारको उपस्थिति कतै देखिएको छैन । एउटा संगठनको नेता भएको नाताले म भन्छु कि विपतको सामना गर्न सरकारले नै अगुवाई गर्नुपर्छ ।

तपाई सरकारको दोष देखाउनु हुन्छ, हालसम्म राजनीतिक दल पनि पीडिताको ठाउँमा पुगेका छैन जब कि दल भनेको जनताको प्रतिनिधि हो, किन पुगेका छैन त ?
–हेर्नुस् उत्तरदायित्वको कुरा गर्ने हो भने राजनीतिक दलभन्दा सरकारकोे उत्तरदायित्व हुन्छन् जनताप्रति । किनभने सरकारसँग साधन स्रोत हुन्छन् राष्ट्रिय अन्तराष्ट्रिय जगतले पनि विश्वास गरेका हुन्छन् । यता राजनीतिक दलसँग साधन स्रोत हुँदैन उसँग कार्यकर्ता मात्रै हुन्छन् । र, अहिले कार्यकर्ता परिचालन भन्दा पनि भूकम्प पीडितका लागि राहतको आवश्यकता छ । अहिले उनीहरुलाई एक प्याकेट चाउ चाउ, एक बोतल पानी, एउटा त्रिपाल भएपनि पुग्छ । अहिले त्यस्तो अवस्थामा छ । घर भत्किसकेका कारण पीडितहरु खुल्ला आकाशमुनी बस्न बाध्य भएका छन् । त्यसको बारेमा तत्काल सोच्नुपर्ने अवस्था आएको छ ।

भूकम्प पीडित रहेको ठाउँमा नेपाली सहयोगी हातभन्दा विदेशी सहयोगी हातहरु बढी छन् यस्तो किन भयो त ?
–म यसमा सरकारको लचारीपन भन्छु । यस्तो आपत्को बेलामा विदेशीहरु सहयोग गर्न आउनु हुँदैन भने छैन । तर त्यसको पनि आफ्नो नीति नियमहरु हुन्छन् । कुनै पनि देशको भूमीमा विदशीले खुट्टा टेक्नु हुँदैन । जस्तो सुकै हतार भएपनि विपति आइ लागेपनि सोधेर आउनु पर्छ तर यहाँ कस्तो देखियो भने नेपाल सरकारलाई समेत थाह छैन कि कुन देशका कति व्यक्ति वा सेना वा प्रतिनिधि नेपालमा अहिले काम गरिरहेका छन् । तर तपाई भूकम्प प्रभावित क्षेत्रमा गएर हेर्नुस् विदेशीहरु स्वतःस्फूर्त ढंगबाट काम गरिरहेका छन् । यो स्वागतयोग्य कुरा हो तर यसको दीर्घकालिन असरको बारेमा पनि सोच्नुपर्छ । अहिले पनि केही बिग्रेको छैन । सरकारले विदेशीहरुलाई रिपलेश गरि दिनुपर्छ ।

विदेशीहरु नेपाल जवर्जस्ती छिरेकै हो त ?
–यसलाई जवर्जस्ती भन्न मिल्दैन यस्तो बेलामा । एउटा सिस्टमभित्र रहेर आउनु पथ्र्यो । अलि हतार भए जस्तो लाग्छ, त्यति हो ।

भारतको आलोचना अलि बढी भयो त ?
–यो अनावश्यक टिका टिप्पणी हो । भूकम्प प्रभावित क्षेत्रमा काम गर्न आएका विदेशहरु यहाँ आएर आआफ्नो शक्ति अजमाउन थाले । एक अर्काको सुराकी गर्न थाले । त्यसले गर्दा पनि विदेशीहरु आलोचित भयो । रह्यो भारतको कुरा । नेपालको सबभन्दा नजिकको छिमेकी देश भारत हो । खुल्ला सिमाना भएका कारण यत्तिकै पनि यहाँ आउजाउ भइरहेका हुन्छन् नै । भारतका धेरै जसो नातेदार नेपालमा छन् । नेपालका नातेदार भारतमा छन् । आआफ्ना नेतादारलाई सहयोग गर्न आएपनि अरु देशको तुलनामा भारतको उपस्थिति बढी देखिन्छ । र स्वाभिकै हो अरु देशमा भारतले बढी राहत सामाग्री लिएर आए त्यो पनि आमजनताको पहलमा । सरकारको तर्फबाट आउनुपर्ने आएकै छैन । भारतका विभिन्न संघ संस्था तथा व्यक्ति र आफन्तको घरबाटै मात्र आएका छन् । तर यहाँ कस्तो देखिएको छ भने दानापानी भारतकै खान्छन् तर राष्ट्रियताको नाममा पनि उसैकै विरोध गर्छन् ।

तपाई पनि एउटा दलको नेता हुनुहुन्छ, पीडित समक्ष पुग्नु भएको छ कि छैन ?
–मेरो व्यक्तिगत कुरा गर्नु हुन्छ भने मैले जति सकेको छु त्यति गरिरहेको छु । म सिन्धुपाल्चोक, दोल्खा त हालसम्म पुगेका छैन तर काठमाडौमै रहेका भूकम्प पीडितलाई राहत प्रदान गरिरहेको छु । बासस्थानको व्यवस्था, खानपीनको व्यवस्था गरिरहेको छु । यहाँ घर भत्केकाहरु मात्र पीडित छैन । जसको घर भत्केको छैन त्यो पनि अहिले उतिकै पीडित बनेका छन् । घर भत्केकाहरुसँग घर नभत्केकाहरु पनि सडकमै खुल्ला ठाउँमा सुतिरहेका छन् । सडकैमै खाइ रहेका छन् । र, म आफू सक्ने जति त्यस्ता व्यक्तिहरुलाई सहयोग गरिरहेको छु । एक छाक खाना नै खुवाई दिने बसिरहेको ठाउँमा त्रिपालको व्यवस्था गरि दिने, कोही घाइते छन् भने त्यस्ताहरुलाई अस्पताल पुर्याई दिने कार्य पनि गरेको छु । कोही व्यक्ति घर जान चाहन्छन् उसको घर जाने अवस्था छैन भने व्यवस्था मिलाई दिएर पठाई दिने काम गरेको छु । र, रह्यो पार्टीको कुरा । पार्टीले यसको तयारीमा लागेका छन् । पीडितको घर घरामा गएर राहत दिने भनि तयारीमा लागेका छन् । भोली पर्सीतिर नै सिन्धुपाल्चोक, गोरखा, दोल्खा, रामेछाप, भक्तपुरलगायतका जिल्लामा जाने तयारी भइरहेका छन् ।

भूकम्प आउने क्रम रोकिएको छैन, भत्केका घरहरुबाट लाश झिक्ने काम पनि हुँदैछन् यस अवस्थामा सरकारले यसलाई कसरी व्यवस्थापन गर्नु पर्छ जस्तो लाग्छ ?
–पहिलो कुरा पीडित जनताले धैर्यधारण गर्नुपर्छ । यो नै व्यवस्थापनको पहिलो खुडकिला हो । यो विपत्को घडीमा पीडित जनताले धैर्य धारण गरेनन् भने समस्या कहिले पनि समाधान हुँदैन । अर्को कुरा, सरकारसँग अझै पनि तथ्यांक संकलन भएको छैन कि कति घर भत्केका छन् । भूकम्पबाट भएको क्षतिको बारेमा नेपाली जनताले दिन दिनै जानकारी पाउनु पर्छ तर अहिलेसम्म आधिकारीक जानकारी सरकारको तर्फबाट आएको छैन । कति जना मान्छे मरेका छन् । सरकारले पहिलो काम यो गर्नुपर्छ । पीडित र प्रभावित क्षेत्रको आँकलन गरेर त्यहाँ के के गर्न सकिन्छ त्यसको योजना बनाउनु पर्छ । र मुख्य कुरा हामी तपाईका साथ छौ भनि कुराको अनुभूति पीडित जनतालाई हुनुपर्छ ।

यो भूकम्पले सविधान निर्माणको कार्यलाई कतिको प्रभावित पार्न सक्छ ?
–मेरो विचारमा यो भूकम्पले सविधान निर्माण कार्यलाई सहज बनाई दिएको छ । राज्यपूनःसंरचना गर्न सजिलो होस् भनेर प्रकृतिले बाटो खोलि दिएको छ । अब दलका नेताहरुले एक भएर यसका लागि काम गर्नुपर्ने आवश्कता देखिएको छ । राहतको कार्यसँगै सविधान निर्माणको कार्यलाई पनि अगाडि बढाउनु पर्छ ।

भूकम्पको बेला जनता तथा दलका नेताहरुको ध्यान अन्यत्र मोडिएको बेलाको मौकामा सत्ताधारी दलले सविधानका कार्य शुरु गर्यो भने के हुन्छ ?
–त्यस्तो गर्ला जस्तो मलाई लाग्दैन । किनभने पीडित जनतासँग काँग्रेस र एमालेले खेलबाड गर्ला जस्तो मलाई लाग्दैनन् । यदि त्यस्तो गर्यो भने पीडित जनता आफ्नो पीडा विर्सेर सडकमा आउनेछन् । र त्यो बेलाको अवस्था राम्रो हुने छैन ।

अहिले त तपाईका ३० दलीय गठबन्धनका संयोजक एवं एमाओवादीका अध्यक्ष प्रचण्ड पनि काँग्रेस र एमालेकै भाषा बोल्न थालेका छन् यसको बारेमा के भन्नुहुन्छ ?
–हेर्नुस्, यो नेपाली राजनीतिकमा परिवर्तनकारी शक्ति भनेर जति विश्वास प्रचण्डमाथि गरिएको छ । त्यति विश्वास गर्ने लायकका व्यक्ति होइन । तपाई शान्ति प्रकृयामा प्रचण्ड आएदेखि क्रियाकलापको अध्ययन गर्नुस् प्रचण्ड कति विश्वासिलो नेता हो भने कुरा प्रष्ट हुन्छ । बरु काँग्रेस र एमाले धोकेवाज हो छलफल कपट उनीहरुमा हुन्छन् तर यतिका विश्वासघात गर्दैनन् । जनताको घर घरमा गएर आन्दोलनका लागि तयार हुनुस् भनि सकेका छन् । आन्दोलन के का लागि पनि भनिसकेका छन् । जनता आन्दोलनका मुड बनाई सकेका थिए । सडकमा आइसकेका थिए तर विभिन्न नाममा पटक पटक आन्दोलन फिर्ता लिए । आखिर ३० दलीय गठबन्धनले नै प्रचण्डलाई हिरो बनाएको छ र आज सोही गठबन्धनलाई किन धोका दिएको छ । गठबन्धनमा उठेको प्रश्नको जवाफ किन दिन मानिरहेका छैन प्रचण्डले । त्यसैले अब आफ्नो अधिकारका लागि मधेशी, आदिवासी जनजातिहरु आफै लड्नुपर्ने आवश्यकता आएको छ ।

३० दलमा तपाईको पनि पार्टी सहभागि रहेको छ तर यो कुरा त्यहाँ किन बोल्दैनन् त ?
–तपाई कस्तो पत्रकार हो ? यति पनि जानकारी छैन कि ३० दलको बैठकमा तमलोपा बोलेका छन् कि छैन । फोरम नेपाल बोलेका छन् कि छैन । सद्भावना पार्टी बोलेका छन् कि छैन । अर्थात विजयकुमार गच्छदारजीको पार्टी फोरम लोकतान्त्रिकबाहेक सबै दल प्रचण्डको क्रियाकलापको विरोध गरेका छन् । जुन कुरा सञ्चारमाध्यमहरुमा पनि आइसकेका छन् ।
बैशाख १६ गते

तपाईको प्रतिक्रिया