Khadya Bibhag

आज यसरी शुरु हुँदैछ दाता सम्मेलन

काठमाडौँ, असार १० गते । भूकम्पपछिको पुनःस्थापना, पुनःनिर्माण र नवनिर्माणका लागि बाह्य सहयोग जुटाउन आज यहाँ ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्रा्ष्ट्रिय सम्मेलन’ हुँदैछ ।

आज विहान आठ बजे सोल्टी होटलमा सुरु हुने सम्मेलनमा राष्ट्रिय गीत, भूकम्पबाट निधन भएकाप्रति मौनधारण र भूकम्पबाट अधिक प्रभावित क्षेत्र तथा क्षतिग्रस्त भौतिक संरचनाको दृश्य समेटिएको वृत्तचित्र प्रदर्शनपछि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले अतिथिको स्वागत गर्नेछ ।

बिहान ८ः४५ बजे प्रधानमन्त्री सुशील कोइरालाले सम्मेलनको उद्घाटन गरी मन्तव्य दिएपछि सम्मेलनबारे अर्थ मन्त्री डा रामशरण महतले प्रकाश पार्नेछ । सम्मेलनमा भाग लिन आउनुभएका मन्त्रीहरुको सम्बोधनपछि पहिलो सत्रको कार्यक्रम सम्पन्न हुनेछ ।

सम्मेलनको दोस्रो सत्रको अध्यक्षता सम्मेलन आयोजक समितिका संयोजक मन्त्री महतले गर्नेछन् । सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले ‘विपद्पछिको आवश्यकता मूल्याङ्कन’ (डिएनए) प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

भूकम्पपछिको पुनःस्थापना तथा पुनःनिर्माणका लागि सरकारले ६ खर्ब ६९ अर्ब आवश्यक पर्ने क्षेत्रगत विवरणयुक्त पिडिएनए प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन पनि सम्मेलनमा प्रस्तुत हुनेछ ।

अर्थ सचिव सुमनप्रसाद शर्माले कार्यक्रममा स्रोत परिचालन तथा भूकम्पपछिको अवस्था र कार्यान्वयनका विषयमा जानकारी दिएपछि पिडिएनएमाथि छलफल हुनेछ ।

अपराह्न १ बजेदेखि पुनःनिर्माणका सम्बन्धमा तयार पारिएको भिडियो प्रदर्शन गरिने र त्यसपछि ३ः०० बजेसम्म सहभागीहरुलाई प्रतिबद्धता जनाउन दिन समय उपलब्ध गराइनेछ ।

अपराह्न ३ः३० बजेदेखि सुरु हुने प्राविधिक सत्रको सहअध्यक्षता आयोगका पूर्व उपाध्यक्ष डा शंकर शर्मा र जापानका यासुमासा नागानीले संयुक्त रुपमा गर्नुहुनेछ । यस सत्रमा आयोगका सदस्यद्वय डा गोविन्द नेपाल र स्वर्णिम वाग्लेले ‘पुनःनिर्माणका लागि दीर्घकालीन कार्यसूची र रणनीति’ बारे प्रस्तुति दिनुहुनेछ ।

यस सत्रमा जाइकाका अध्यक्ष अकिहितो तानाकाले ‘बिल्ड ब्याक बेटर’ मा आधारित पुनःनिर्माण र तकिया किमियोले सहरी पुनःनिर्माण सम्बन्धमा आफ्नो प्रस्तुति दिनुहुनेछ । त्यसपछि विश्व बैंकद्वारा तयार पारिएको ‘ग्रामीण बसोबास’सम्बन्धी प्रस्तुति पेस गरिनेछ ।

त्यसपछिको छलफलसँगै यस सत्रको समापन हुने अर्थमन्त्रालयले जनाएको छ ।

अपराह्न ४ः५० सुरु हुने दोस्रो चरणको प्राविधिक सत्रमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा सोमलाल सुवेदी र भारतका पिके मिश्रले संयुक्तरुपमा सहअध्यक्षता गर्नु हुनेछ । यस सत्रमा गृहमन्त्रालयको ‘खोजी, उद्धार र राहत’ तथा भारतका डा वेन्काटेक्लम थिरुप्पुगजबाट ‘विपद् व्यवस्थापन र क्षमता अभिवृद्धि’सम्बन्धी प्रस्तुति हुनेछ ।

त्यसैगरी, सम्मेलनको अन्त्यमा एसियाली विकास बैंकको ‘सार्वजनिक सेवा’सम्बन्धी प्रस्तुति हुनेछ । त्यसपछि छलफल भई सहअध्यक्षको मन्तव्यसँगै अपराह्न ५ः५० बजे सम्मेलन सम्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया