काठमाडौँ, असार ८ गते । संविधानको एकीकृत मस्यौदा बनाउने क्रममा देखिएको विवाद समाधान गर्न आज बसेको प्रमुख चार दलको बैठक बिनानिश्कर्ष टुगिएको छ ।
प्रधानमन्त्री निवास बालुबाटारमा आज साँझ बसेको बैठकमा विवादित विषयमाथि छलफल भए पनि अन्तिम रुप दिन समय लाग्ने भएकाले बुधबार बिहान पुनः बैठक बसेर टुङ्ग्याउने नेताहरुले बताएका छन् ।
बैठकपछि गृहमन्त्री तथा नेकपा ९एमाले० का उपाध्यक्ष बामदेव गौतमले विस्तृत रुपमा छलफल गर्नुपर्ने भएकाले भोलि बैठक बसेर टुङ्गो लगाउने विषयमा छलफल भएको बताउनुभयो ।
त्यस्तै, एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा मस्यौदा समितिमा भएको कामका बारेमा समितिको कार्यदलका तर्फबाट प्रमुख पार्टीका शीर्ष नेतालाई ‘ब्रिफिङ’ गर्दै १५ दिनभित्र नै मस्यौदालाई अन्तिम रुप दिने तयारी भइरहेको र त्यो काम पूरा गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार मस्यौदा समितिको टोलीले केही विषयमा नेतृत्व तहमा छलफल गरेर निचोड निकाल्ने काम गर्न सकिए तीव्र रुपमा अघि बढाउन सकिन्छ भन्ने अनुरोध गरेकाले भोलि चार दलका एक÷एक शीर्ष नेता र मस्यौदा समितिका कार्यदलमा कार्यरत एक÷एक जना सदस्य बसेर छलफल गर्ने समझदारी भएको छ ।
बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा ९माओवादी० का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदारसहित मस्यौदा समिति कार्यदलका सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।
भोलि बिहान ११ बजे बैठक बसेर संविधानको एकीकृत मस्यौदा बनाउने क्रममा देखिएको विवादबाट निश्कर्ष निकाल्ने चारदलबीच समझदारी भएको छ ।



तपाईको प्रतिक्रिया