Khadya Bibhag

गौर कारागार समयमा मर्मत सम्भार नहुँदा जिर्ण बन्दै

र।केश यादव ।
रौतहट, जेष्ठ २३ । रौतहट सदरमुकाम गौरमाराणाकालिन समयमा बनाइएका कारागारको जिर्ण भवन हालै गएको भुकम्पबाट चर्किएपछि कैदीहरु त्रासपूर्ण अवस्थामा रात बिताउन बस्न बाध्य रहेका छन् ।
बैशाख १२ र २९ गते गएको भूकम्प र पटक पटक गइरहेको पराकम्पनका कारण जीर्ण भवनको ठाउँ ठाउँमा चर्किए पछि कैदीहरु डरत्रास पूर्ण अवस्थामा बस्न बाध्य भएका हुन् । भवन कुनैपनि बेला भत्किने डरबाट कैदीबन्दीहरु रातभरी सुत्न नसकेको उनीहरुको गुनासो छ ।
राणाकालिन समय विक्रम सम्वत् १९८५ सालमा निर्माण भएको कारागार भवन भूकम्पका कारण सबै भित्ता चर्केर बस्नै नमिल्ने भए पछि कैदीहरुमा संत्रास छाएको छ । उनिहरुले भूकम्प आएको बेला ज्यान जान सक्ने भन्दै बाहिर अकोे ब्यवस्था मिलाई दिन प्रशासन समक्ष समेत अनुरोध गरेका हुन् । हातहतियार तथा खरखजाना मुद्धामा पुर्पक्षका लागि थुनामा बसेका भारतका सुनिल सिंहले कारागार भत्किने त्रासले रातभर जाग्राम बस्ने गरेको बताए ।
तत्कालिन समयमा कटरबरनबाट कारागार गौरमा सारिएर निर्माण भएको ८७ बर्ष पुरानो कारागारको भित्ता र छत चर्किदा कुनैपनि समयमा भत्किने अवस्थामा पुगेकोमा त्यहाँ सजाय काटिरहेका कैदीहरुमा डरत्रास छाएको छ । ९० जना कैदिको क्षमता रहेको कारागार भित्र हत्या, डाकाजनी, हातहतियार, चोरी, बलत्कार लगायतका विभिन्न प्रकृतिको मुद्दामा सजाय पाएर त्यहाँ गएका ५ महिला सहित १ सय ३१ कैदिहरु हाल रहेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीले पुरानो एवं जीर्ण अवस्थामा रहेको भवनमा भुकम्पबाट एकदमै भित्र बस्ने खतरापूर्ण अवस्था रहेको बताए । स्थानीय सुरक्षा प्रशासनले भूकम्प गएपछि पटक पटक कारागारको अनुगमन गरी त्यहाँको अवस्थाबाट कारागार व्यवस्था विभाग र गृहमन्त्रालयमा पत्र लेखेर पठाएको जानकारी दिदै कारागारको सुरक्षार्थ राखिएका प्रहरी र कर्मचारी भवन समेत जिर्ण भएपछि सुरक्षाकर्मीहरु भुकम्पबाट हुने क्षतिलाई मध्यनजर राख्दै कारागार परिसरमा त्रिपाल टागेर सुरक्षा दिईरहेको जानकारी दिए ।
कारागार भित्रको महिला बन्दि बस्ने घरहरु समेत चर्किएर बस्न नमिल्ने अवस्था छ । पटक पटकको भूकम्पको झट्काले उनिहरुमा त्रास देखीएको छ । जिर्ण एवं पुरानो कारागार भवनलाई मर्मत संभार तथा नयाँ भवन बनाउनका लागि सम्बन्धित निकायमा पत्राचार भईसकेकोमा चाँडै ठोस निर्णय हुने कुरा सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया