पर्सा, जेठ २० गते । नेपालका लागि वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासले जिल्ला प्रशासन कार्यालय पर्सालाई ४० हजार थान त्रिपाल हस्तान्तरण गरेको छ ।
वीरगन्ज सुख्खा बन्दरगाहमा आज एक कार्यक्रमबीच महावाणिज्य दूतावासका कार्यबाहक वाणिज्यदूत जसविर सिंहले पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई त्रिपाल हस्तान्तरण गर्नुभएको हो ।
रु दुई करोड मूल्य बराबरका दुई हजार ४२ बण्डल त्रिपाल हस्तान्तरण गर्दै कार्यबाहक वाणिज्यदूत सिंहले विपत्तिको यस घडीमा नेपाली दाजुभाई तथा दिदीबहिनीलाई हरहिसाबले सहयोग गर्न भारत सरकार तथा भारतीय नागरिक तयार रहेको जानकारी दिनुभयो ।
उहाँले वैशाख १२ गते र २९ गते नेपालमा आएको महाभूकम्पमा परी घरबार गुमाएका नेपालीका लागि भारतीय उद्योग वाणिज्य सङ्घले त्रिपाल पठाएको बताउनुभयो ।
कार्यक्रममा दूतावासले हस्तान्तरण गरेको त्रिपाल बुझदै पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले नजिकिँदै गरेको मन्सुनमा भारतबाट प्राप्त भएको त्रिपालले ४० हजार परिवारलाई वर्षाबाट जोगाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपालीमाथि परिआएको यस महाविपत्तिमा भारत सरकार तथा भारतका विभिन्न प्रान्तीय सरकारको साथै विभिन्न सङ्घ संस्थाले देखाएको सदासयताप्रति कृतज्ञता व्यक्त गर्नुभयो । प्राप्त भएका त्रिपालले घरबारविहीन रहेका र खुला आकासमुनी दिन बिताउन बाध्य भएका आम नेपालीका लागि ठूलो राहत प्रदान गर्ने प्रजिअ घिमिरेले बताउनुभयो ।
प्राप्त भएको त्रिपाललाई नेपाल सरकारको निर्देशन अनुसार आवश्यकता भएका जिल्लामा सक्दो चाँडै पठाउने प्रजिअ घिमिरेले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपालमा आएको महाभूकम्पबाट प्रभावित भएका नेपालीका लागि भारतबाट रेल मार्गहँुदै नेपाल भित्रिएको हालसम्म दुईसय ४० ट्रक विभिन्न राहत सामग्री विभिन्न जिल्लामा पठाइएको सुख्खा बन्दरगाह भन्सारले जनाएको छ । कार्यक्रममा भारतीय उद्योग वणिज्य सङ्घका प्रतिनिधि मनिस दास गुप्ता, वाणिज्य दूताबासका कन्सुलर एसएम अस्खतरलगायतको उपस्थिति रहेको थियो ।



तपाईको प्रतिक्रिया